Home» Music »Feature

मेचीदेखि महाकाली छाउने तयारीमा निर्णय


शुरुमै म तपाइँको पहिरनका बारेमा जिज्ञासा राख्छु । रातो टोपी, सेतो टालो, घाँटीमा लकेट झुण्ड्याउनु हुन्छ । खुकुला लुगा लगाउनु हुन्छ । लामो पाइन्ट, तलसम्म घस्रिरहेको हुन्छ । यसको अर्थ के हो ? किन यस्तो पहिरन ?
लुगा लगाउन सजिलाका लागि धेरैजसो म यस्तै लुज लुगा लगाउने गर्छु, त्यही भएर तपाइँले देखेजस्तो यस्तो पहिरन हुन गएको हो । रातो टोपी रगतको चिहृन हो, जसले हामी उचनिच, धनीगरीव सबै एकै हौँ भन्ने सन्देश दिन खोजेको छु । सेतो हाते 'ब्याण्ड' चाहिँ शान्तिको प्रतीक हो । लकेटमा चिल र चितुवाको चिहृन अंकित छ । जसको अर्थ मान्छे भएपछि चिल झैँ माथिमाथि आकाशमा उड्न सक्ने हुनु, उजस्तै दूरसम्म दृष्टि फ्याँक्नसक्ने हुनुपर्छ र चितुवाजस्तो 'ग्रेसफूल' हुनुपर्छ भन्ने सन्देश दिन खोजेको हो ।

लामो पाइन्ट लगाउँदा त लड्न सक्नु हुन्छ नि ?
(हाँस्दै) बानी परिसकेँ । बरु यो टाइट लुगा लगाउँदा चल्मलाउन गाह्रो हुन्छ जस्तो लाग्छ ।

तपाइँलाई र्‍यापको चस्का अमेरिकामै हुँदा लाग्यो, कसरी ?
त्यसबेला त्यहाँ भर्खरै र्‍याप म्युजिक व्यवसायिक हुँदै आइरहेको थियो । त्यति बेला नै मलाई यसले तान्यो र यसमा लागेँ । किनभने एउटै गीतमा आफ्नो पूरा जीवनकथा व्यक्त गर्न सकिन्थ्यो, यो सरल हुने हुनाले सबैले बुझ्न सकिन्छ र सबैथरिको मूड यसमा गाँस्न सकिन्छ । त्यही भएर म यसमा मोहित भएँ ।

तपाइँ जब तपाइँको बुवा (डा. शान्तिनाथ श्रेष्ठ) को पीएच्डी सकियो, नेपाल फर्किनु भयो । यहाँ नौ कक्षामा भर्ना हुनुभयो । नेपाली लेख्न आउँदैनथ्यो अरे नि, होइन ?
म चार कक्षा छोडेर अमेरिका गएको थिएँ । तर आएर नौ कक्षामा भर्ना हुनुपर्दा मेरालागि नेपाली विषय ज्यादै 'भास्ट' भइसकेको थियो । त्यसैले ट्यूसन पढ्नुपर्ने अवस्था आइपर्‍यो । यतिबेला मलाई ज्यादै चित्त दुख्यो किनभने म आफ्नै देशमा बसेर, आफ्नै भाषाको ट्यूसन फेरि क..ख..देखि पढिरहेको थिएँ ।

तपाइँ इमेज च्यानलमा गीतको रुचिकै कारण आरजे हुनुभयो, कस्तो रहृयो अनुभव ?
सन् १९९९ मा नयाँ किसिमको यो र्‍याप गीत नेपाली श्रोतामाझ परिचित गराउनु पर्‍यो भनेर रेडियोमा कार्यक्रम शुरु गरेँ । ब्रिङ द हाउस डाउन नामक कार्यक्रम चलाएको चार पाँच महिनापछि यही नामको एल्बम निकाल्न रेकर्डिङ शुरु गरेँ । यसबेला निर्णय एण्ड द अल स्टार्स समूहबाट हामीले यो एल्बमको काम थालेका थियौँ । जसमा समीर, प्रणव जोशी, सकिल आदि थियौँ ।

तपाइँहरुको र्‍यापाज युनियन भन्ने समूह थियो, कहिले स्थापना गर्नुभयो, किन स्थापना गर्नुभयो ?
हुन त निर्णय एण्ड द अल स्टार्स ब्याड थियो तर हामीबीच सङ्गीतमा अलग अलग रुचि भएका कारण एकै ठाउँमा अट्न सकेनौँ । त्यही भएर म र सम्राट मिलेर एउटा गीत रेकर्ड गर्‍यौँ- जीलीली... । यो गीतले हामीबीच दोस्ती बढ्यो । यो गीत सुन्दासुन्दै अर्को साथी थपियो- रिन्छिन् । रिन्छिन् थपिएपछि र्‍यापरहरुको युनियन बनाऔँ भन्ने कुराले नै ब्याण्डको नाम बन्यो- र्‍यापाज् युनियन ।

तपाइँको पहिलो एल्बम फर यु अल र द गेम मस्ट गो अन अंग्रेजी गीत थिए, कस्तो प्रतिक्रिया पाउनु भयो, जनताबाट ?
फर यु अल एक हजार सीडी हामी आफैँले बेच्यौँ । यो सफलताबाट प्रेरित भएर सिडिङ इन्टरनेशनल कम्पनीले हाम्रो नयाँ एल्बम द गेम मस्ट गो अन किन्यो । यो कति बिक्री भयो भन्ने अनुमान लगाउनुस् कि अस्तिसम्म सिडिङले यसको क्यासेट तथा सीडी बिक्री गरिरहेको देखेको थिएँ ।

तपाइँको एल्बमले हरेक पटक केही न केही विशेष कुरा बोकेको हुन्छ, राजा वीरेन्द्रको वंश नाशलाई इंगित गरेर द गेम मस्ट गो अन निकाल्नु भएको थियो रे हो ?
त्यसको गीत राजनीतिक थिएनन् । राष्ट्रवादी मात्र थिए । देशका निम्ति चिन्ता गरिएका गीत थिए । तर ब्रिङ द हाउस डाउन गीतको 'चोर चोर देश छोड...' भन्ने शब्दलाई गीत बजाउने एफएमहरुले सेन्सर गरेका थिए । उनीहरुले भने- गीत बजाउने हो भने त्यो शब्द परिवर्तन गर्नुपर्छ ।

खास त्यसो किन गरिएको होला ?
हाम्रो समाजले आक्रामकता अलि रुचाउँदैन जस्तो लाग्छ । हाम्रो संस्कार र संस्कृतिले आक्रामकता रुचाउँदैन भन्ने त्यो सेन्सर गराइबाट मैले बुझेँ ।

तर तेस्रो एल्बम द नेपाली टचपछि तपाइँका साथीहरु विछोडिए । कोही कहाँ कोही कहाँ । कस्तो लाग्यो त्यसबेला ? किनभने हरकोही देश छोडेर विदेशमा आरामको जीवन बिताउनेबारे सोचिरहेका थिए नि ?
मेरो पढाइका कारण म यहीँ बसेँ । मलाई त अझै पनि लाग्छ, नेपालमा नै निकै सम्भावना छ । विदेश जाँदा हामी ५० वर्षपछाडि धकेलिन्छौँ तर यहाँ हामी हाम्रा लागि अहिले नै सबैथोकको चाँजोपाँजो मिलाउन सक्छौँ । त्यसैले मलाई विदेशले कहिल्यै आकर्षित गरेन ।

त्यसपछि तपाइँको तेस्रो एल्बम द नेपाली टच निस्कियो । योपछि चाहिँ सर्वप्रिय हुनुभयो भन्दा तपाइँमाथि अन्याय त हुँदैन, नि ? किनभने यसपछि तपाइँलाई कर्न्र्सटको निम्तो मारामार आउन थाल्यो, होइन ?
नेपाली म्युजिक विद इन्टरनेशनल क्वालिटी, नेपाली म्युजिकसँग इन्टरनेशनल म्युजिक ब्लेण्ड गर्दा स्रोताहरुले साँच्चिकै रुचाए जस्तो लाग्यो । त्यतिबेलाको सान्दर्भिक गीत थियो । दिन पनि बित्यो... गीत चाहिँ देश छोडेर विदेसिने क्रम ज्यादै बढेको थियो । यो गीतले विदेसिएकाहरुको व्यथा बोलेकाले पनि शायद निकै राम्रो रेस्पोन्स पाएको थिएँ ।

यसपछि तपाइँका गीतमा नेपाली भाषामा नेपालीका लागि नेपाली राष्ट्रिय गीत र्‍याप शैलीमा आउन शुरु गर्‍यो । सुन्दा अचम्म लाग्छ, र्‍यापमा नेपाली राष्ट्रिय गीत, तपाइँलाई कस्तो लाग्छ ?
हुन त हाम्रा अंग्रेजी गीत पनि राष्ट्रिय गीत नै हुन्थे । सप्पै एल्बममा राष्ट्रिय गीत थिए, तर अंग्रेजीमा थिए । अंग्रेजी छोडेर मैले नेपालीमा यस्ता गीत दिन पाए झन् राम्रो हुने थियो भन्ने लागेर नै तिनलाई नेपालीकृत गरेँ । ग्रासरुटसम्मै हाम्रा कुरा पुगून् भन्ने उद्देश्यले नेपालीमा बनाउन थालेको हुँ ।

यो एल्बमलाई मान्छेले यति मन पराए कि तपाइँले चर्चित अवार्डहरु पनि पाउनु भयो । कस्तो लाग्यो त्यसबेला ?
इमेज अवार्डबाट नेशनल फिलिङ्सको अवार्ड पाउँदा ज्यादै खुशी लाग्यो । मैले जुन म्यासेज दिएको थिएँ, वास्तवमा सही बुझे भन्ने लाग्यो र अर्को कुरा चाहिँ हिपहप म्युजिकलाई अब रेडियो तथा सर्वसाधारणहरुले गम्भीर रुपमा लिन थालेछन् भन्ने लाग्न थाल्यो ।

तर म नेपाली एल्बम निकाल्दा नयाँ गायकगायिकालाई चान्स दिन्छु भनेर केही संगीत प्रशिक्षण केन्द्रमा पुग्दा तपाइँलाई नै गनेनन् अरे नि, होइन ?
म नेपाली एल्बमका लागि केही संगीत प्रशिक्षण केन्द्रमा सर्म्पर्क गर्दा नयाँ ट्यालेन्टहरुले मलाई बाल गनेनन् । त्यतिबेला मलाई ज्यादै दुःख लागेको थियो । त्यसपछि नाम चलेका व्यक्तिहरुलाई, साथीभाइहरुलाई नै मैले एप्रोच गरेँ । त्यसपछिका कुराहरु त तपाइँलाई थाहै छ ।

नयाँ एल्बम मेचीदेखि महाकाली खासमा के हो ? किन यो नाम ?
यो पनि देशको सिचुएशनअनुसार नाम राखिएको हो । नेपाल टुक्रिने स्थितिमा छ । नेपाल नटुक्र्याउन मेचीदेखि महाकालीका मान्छेहरु एक भएर अगाडि बढ्नुपर्छ भन्ने सन्देश यो एल्बममा छ ।
तपाइँ रक्सी, चुरोट केही खानु हुन्न । सर्जक भएर पनि त्यस्तो कहीँ सम्भव छ र ?
तर म चुइँगम चपाउँछु । तर राम्रो सिर्जनाका लागि म आफूलाई आफूबाट अलग्याएर अरुको जीवन अध्ययन गर्छु, त्यतिबेला मेरो आत्मा मेरो जिउसँग हुँदैन, अरुकै अध्ययन गरिरहेको हुन्छ । त्यसैले तपाइँले विचार गर्नुभयो भने मेरा गीतहरुमा केटाका भावना मात्र हुँदैनन्, केटी, बूढाबूढी, बच्चाको समेत भावना समेटिएको हुन्छ ।

तपाइँको एउटा सामाजिक संस्था पनि छ, त्यसमार्फत् तपाइँले दुःख पाएकाहरुलाई सहयोग गरिरहनु भएको छ । गायक भएर समाजसेवाका काममा पनि ?
नव दैलो नामक संस्था हामीले चलाइरहेका छौँ । यो संस्थाले बच्चाहरुको शिक्षा र एच्आईभी एड्सका बारेमा जागरणका लागि स्थापना गरेका हौँ । गएको वर्षदेखि हामीले यो संस्था शुरु गरेका थियौँ, हामी ७ जना मिलेर । यस संस्थाको आयोजनामा निर्णय द एनएसके एजुकेशनल टूर दुइ वटा फेजमा सकियो । जसबाट करिब नौ वटा संस्थालाई लाइबे्ररी सेटअपका लागि किताबहरु दिएका थियौँ । त्यसैगरी तीन वटा निःशुल्क स्वास्थ्य सेवाको क्याप लगाइसक्यौँ । र, हालै मात्र कलेजमा हामीले एड्स अवेयरनेश कार्यक्रम चलाएका थियौँ ।

तपाइँको जीवन सिद्धान्त के हो ?
आफूले सही कुरा गर्ने हो भने जीवनमा सबै कुरा सही हुँदै जान्छ । कोही तपाइँलाई घृणा गर्छ तर तपाइँले लगातार उसलाई माया गरिरहनु भयो भने उसको मन एक दिन फर्कन्छ । त्यो दिनसम्मको धैर्यता चाहिँ तपाइँमा हुनुपर्छ । मेरो आफ्नै जीवनमा पनि यस्ता धेरै घटनाहरु घटको छन् । त्यसैले मलाई यो सिद्धान्तप्रति ज्यादै विश्वास छ ।

तपाइँ किन म्युजिक उद्योगमा ? तपाइँ त मिडिया टेक्नोलजीको विद्यार्थी । कम्प्युटर इञ्जिनियरिङ पनि पढ्नु भएको रे ?
मिडिया टेक्नोलजी पढ्दैछु, त्यही भएर मिडियामा पनि काम गरिरहेको छु । पहिले म सजिलोडटकम चलाउँथे, कम्प्युटर इन्जिनियरिङ पढ्दै गर्दा । तर म नेपाली एल्बम हिट भएपछि म कर्न्र्सटमा व्यस्त हुन थालेँ र पोर्टल चलाउन गाह्रो भयो । पछि मैले आफ्नो खर्चभन्दा पाँच गुणा बढी रकम लिएर बेचिदिएँ । अहिले पनि म इमेज एफएममा दुइ वटा कार्यक्रम चलाइरहेको छु । एउटा पुराना हिपहप, र्‍यापसम्बन्धी गीतहरु, स्यार्टडे मेल्ट डाउन । यसमा पुराना गीत र योङ एचिभरहरु (नेपालका)का बारेमा इन्टरभ्यू लिन्छु । यसो गर्नुको अर्थ चाहिँ र्‍याप गीत सुन्ने योङहरुले एचिभरका कुरा सुनेर प्रेरणा लिऊन् भन्ने हो । अर्को कार्यक्रम ब्रिङ द हाउस डाउन । यसले नयाँ गीतहरु बजाउँछु भने नयाँ नेपाली हिपहप गायकहरुलाई पाहुना बनाएर उनीहरुका कुरा अरुलाई सुनाउँछु ।

तपाइँ सङ्गीत उद्योगमा लाग्न घरपरिवारको कस्तो सहयोग रहृयो ?
मेरो जीवनमा घरपरिवारको ठूलो सहयोग रहृयो । मोरल सपोर्ट जहाँ रहृयो, त्यहाँ गर्न सकिने कुराहरु धेरै हुन्छ । शुरुताका घरबाट नै मैले आर्थिक तथा नैतिक सहयोग पाउँथेँ । जसले मलाई आज यहाँसम्म ल्याइपुर्‍यायो ।

तपाइँले १० वर्षको प्रेम प्रसङ्गपछि हालै बिहे गर्नुभयो, कस्तो भइरहेको छ वैवाहिक जीवनको अनुभव ?
हामीबीच ज्यादै राम्रो समझदारी र विश्वास थियो । कहिले उनी पढ्न विदेश जाने, कहिले म कार्यक्रमको सिलसिलामा बाहिर हुने भइरहन्थ्यो, भइरहन्छ । तर पनि हाम्रो कामको प्रकृति र शैली हाम्रो सम्बन्धमाथि हावी हुन हामीले दिएनौँ । शायद त्यही भएर हाम्रो सम्बन्ध विवाहसम्म आइपुग्यो ।

अबको तपाइँको योजना के छन् ?
अहिले म मेरो नयाँ एल्बम मेचीदेखि महाकालीको प्रचार प्रसारमा छु । सँगै मैले यही नामको टूर कर्न्र्सट गर्ने योजना छ । यो टूर योजना चाहिँ कस्तो भने, जहाँजहाँ मेरो टूर हुन्छ, त्यो टूरबाट उठेको रकमले त्यो ठाउँमा पुस्तकालय बनाउन सकियोस् । त्यसैले मैले स्थानीय विभिन्न क्बलहरुसँग पहल गरिरहेको छु ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
गायक रिलिज विचार उपलब्धि कीर्तिमान गीतकार बजारमा क्या बात ! हल्ला लुकेका कुरा समुद्रपार सङ्गीतकार नेपाली तारा ट्रयाक बाहिर गायिका परिस्थिति अवार्ड कन्सर्ट प्रेम र विवाह रुचि
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: