चोरीका लागि रुखको प्रयोग !

कस्तो अचम्म ! चोरीका लागि हतियारको प्रयोग थाहा थियो, तर रुखलाई उपयोग गरेको खबर चाहिँ तपाइँले पनि पहिलो पटक नै सुन्नु भएको हुनसक्छ !
आफ्नो अनुहार र शरीरलाई रुखजस्तो बनाएर बैंकमा डकैती गर्ने एक व्यक्तिलाई अमेरिकी प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो शरीरभरि रुखका हाँगा र पातहरुले बेरबार पारेर बैंकभित्र छिर्ने र अनुहार पनि चिन्न नसक्ने बनाएर बैंकको म्यानेजरलाई डर्राई धम्काई बैंक लुट्ने ती व्यक्तिलाई प्रहरीले पछि अनुसन्धान गरेर घरबाटै पक्राउ गर्न सफल भएको छ ।
उनको अनुहारलाई बैंकमा जडान भएको जासूसी सीसीटीभी क्यामेराले कैद गर्न भ्याएकाले यो सम्भव भएको हो ।
बैंकका अन्य व्यक्तिहरुले कुनै बौलाहा बैंकबाट आफ्नो रकम झिक्न आएछ भनी कुनै ध्यान दिएका थिएनन् शुरुमा त ! ती व्यक्ति मजाले लाइनमा बसे । लाइनमा बसेको आधा घण्टापछि पैसा झिक्ने पालो आयो । त्यसबेला उनले आफ्नो गोजीबाट चेक निकालेनन्, सीधै बन्दूक निकाले । क्यासियरलाई बन्दूक तेर्स्याउँदै उनले एउटा प्लास्टिकको ब्यागमा खाँदखूँद गर्न लगाए । रोचक भयो भने, खाँदखुँद गर्दागर्दै पोको पारेका तीन वटा ब्यागमध्ये एउटा फुट्न पुग्यो । त्यो देखेर दिक्क मानेका ती व्यक्तिले आफ्नो शररिमा गाँसिएका रुखका हाँगालाई चुँडाले । यही बेला सीसीटीभीले उनको अनुहारलाई खिच्न भ्याएको स्काई न्यूजले बताएको छ ।
अनुसन्धानमा डटेका अधिकारीहरुले पछि उनको घर पत्ता लगाएर उनकै घर न्यू हृयाम्पशायरस्थित म्यानचेस्टरबाट पक्राउ गर्न सफल भए । समाचारमा चाहिँ ती व्यक्तिको नाम, पेशा र अन्य विस्तृत जानकारी अझै खुलस्त पार्न प्रहरीले अस्वीकार गरेको छ । |