सिक्किम-नेपालको लगानीमा नयाँ चलचित्र

चलचित्र निर्देशक शोभित बस्नेतले बिहीबार नयाँ चलचित्रको घोषणा गरेका छन् । आफ्नै ब्यानर सलोन फिल्म्स् र सिक्किमको दीक्षा अडियो भिजनको संयुक्त प्रस्तुति रहने यस चलचित्रको नाम मिसन लब इन सिक्किम रहने एक कार्यक्रमको आयोजना गरी जानकारी दिइएको थियो । कार्यक्रममा चलचित्रको मुहूर्त सट पनि खिचिएको थियो ।
कार्यक्रममा निर्देशक बस्नेतलाई चलचित्रको सफलताको कामना गर्न नायक रमित ढुङ्गाना, चलचित्र निर्देशक अशोक शर्मा, निर्देशक दीपक श्रेष्ठलगायत थुप्रै चलचित्रकर्मीहरु भेला भएका थिए ।
यसअघि आफ्ना चलचित्रको शुभारम्भलाई बिना हल्ला शुरु गर्ने गरेका शोभितले यस कार्यक्रमलाई भने हल्ला गर्न कसर छाडेका थिएनन् । चलचित्रको सुटिङ नै शुरु नभई सुटिङ सकिएको भान दिलाउने पोष्टर बनाइसकेका उनले २९ गते शुक्रबार बाट नै सुटिङ गर्ने भएका छन् ।
नेपाल र सिक्किममा सुटिङ गरिने यो चलचित्रमा दुइ नायक र दुइ नायिका सिक्किमबाट आएका छन् । ती चारै जनालाई निर्देशकले पहिलो पटक चलचित्रमा अभिनय गराउने भएका हुन् ।
यस चलचित्रलाई नेपाल र सिक्किममा एक साथ प्रदर्शन गरिने पनि जानकारी दिइएको थियो । यस चलचित्रको निर्माणपछि नेपाल र सिक्किमको सहलगानीमा नयाँ नयाँ ढोका खुल्न सक्ने अतिथिहरुले आशा व्यक्त गरेका थिए ।
ब्यानरः सलोन फिल्म्स् प्रा.लि.को पाँचौँ प्रस्तुति
निर्देशकः शोभित बस्नेत
सङ्गीतः सञ्जय श्रेष्ठ
लेखनः विकास आचार्य
छायाँकनः शम्भु सापकोटा
द्वन्द्वः योगेन्द्र श्रेष्ठ
नृत्यः कमल राई र दिनेश अधिकारी
सम्पादकः बनिष शाह
कलाकारहरुः विक्रान्त बस्नेत, रुष्मा राई, नागेन्द्र रिजाल, भानु गुरुङ, पवित्र भट्टराई, जयकिशन बस्नेत, शक्ति पण्डित, मनोज केसी, कुनाल सुन्दास तथा हिमानी डिसी















 |