एउटा मजाले सजाइएको खाम पाइखानाको छेउमा छ । खाममा लेखिएको छ, कृपया यसबाट तपाइँले आफ्नो जीवनलाई उन्नत स्थितिमा लैजानु होस् । मान्छेहरुले अचम्म मान्दै त्यो खामलाई खोल्छन् । खाम खोल्दा खोल्ने व्यक्ति जिल्लिन्छन् । किनभने त्यहाँ एक होइन, दुइ होइन, तीन पनि होइन... एक साथ १० हजार येन खामिएको छ ।
अहिले जापानमा पाइखानामा पैसा आतङ्क चलिरहेको छ । पाइखानामा जाँदा खाममा मजाले सजाइएको पैसाको बिटो पाइन थालेपछि अहिले त्यहाँका प्रहरी यसमा को र किन संलग्न छ भनी पत्ता लगाउन आतुर भएको छ । रोयर्टस समाचार संस्थाका अनुसार अहिले देशभरिका सार्वजनिक शौचालयमा यस्ता खामहरु भेटिन थालिएको छ ।
यसरी भेटिएका खाममा सार्वजनिक भएअनुसार करिब २० लाख येन (जापानी मुद्रा) भेटिइसकेको छ । जसको मूल्य अमेरिकी डलरमा १६ हजार ४ सय हुन्छ । प्रायः यी पैसा पुरुष शौचालयमा मात्र भेटिने गरेको छ । जापानभरिका १५ राज्यहरुमा यस्तो घटना घटिसकेको छ ।
यस्ता पैसा जापानी पारम्परिक वासी कागजको खाममा राखिएको पाइएको छ । जसमा हातले लेखिएको शब्द पढ्न सकिन्छ । "कृपया यो पैसाले तिम्रो आफ्नो जीवनस्तरलाई उन्नत बनाऊ" र "प्रति खाम एक जना मात्र" लेखिएको पाइएको छ ।
यस्ता खाम पाइएपछि प्रहरीको दिमाग खराब भएको छ । कसले यो काम किन गरिरहेको भनी उनीहरु पत्ता लगाउन आतुर छन् । भेटिएका सबै खाम प्रहरीले हात पारिसकेको छ भने ती खाम मेरो हो भनी दाबी गर्न आउने व्यक्तिको कुर्राईमा छन्, जापानी प्रहरी ।