Home» Cinema »Feature

सिक्किम र सिनेमा

-अच्युत कोइराला

शोभित बस्नेतले बिहीबार घोषणा गरेको मिसन लब इन सिक्किम चलचित्रले दुइ देशबीचको लगानीलाई यसले पुट दिने र यस्तो सहयोगमा निर्माण भएको चलचित्रका कारण देशभित्रै र बाहिर पनि नेपाली चलचित्रले राम्रो व्यवसायिक उचाई थप्ने आशा केही व्यक्तिहरुको छ ।

त्यसो त सिक्किम, सिनेमा र नेपालको साइनो निकै लामो भइसकेको छ । त्यहाँको सानो बजार तर नेपालीपनको पहिचान मोहका कारण बेलाबेलामा सिक्किमले नेपालसँगको सहकार्यमा सिनेमा निर्माण गरिरहेकै छ । पछिल्लो कडीका रुपमा मिसन लब इन सिक्किमलाई लिन सकिन्छ ।

नेपालसँगको चलचित्र निर्माणको वास्तविक शुरुवात चाहिँ साइनो चलचित्रमार्फत् भएको समीक्षक प्रकाश सायमीको छ । "नेपालका तर्फबाट सुधीर राई र सिक्किमका डेनी तथा सिक्किमका मन्त्रीसमेत भइसकेका एक व्यक्तिको लगानीमा साइनो निर्माण भयो । यो चलचित्रले सफलताको जुन झण्डा गाड्यो, यसले अन्य चलचित्रका लागि पनि मार्ग प्रशस्त गर्‍यो", सायमी बताउँछन् ।

यसपछि शम्भु प्रधानको निर्देशनमा करिश्मा र भुवनलाई लिएर 'दोभान'को घोषणा भए पनि सिक्किमेली द्रौपदा घिमिरेले यसलाई पर्दामा झुल्क्याउन सकिनन् । त्यसको लामो समयपछि प्रकाश सायमीले रानीखोला चलचित्र निर्देशन गरे । जसका निर्माता रुपकुमार राई नेपालतर्फबाट निर्माता थिए भने नवराज दर्नाल सिक्किमका तर्फबाट निर्माता थिए ।

यही मेसोमा पछिल्लो पटक सिक्किम र नेपालको लगानीमा मिसन लब इन सिक्किमको सुटिङ आजबाट शुरु भइसकेको छ । जसमा सिक्किमका चार जना कलाकारहरु कुनाल सुन्दास, हिमानी डिसी, भानु गुरुङ र पवित्र भट्टराईले एक साथ आफ्नो अभिनय करियर शुरु गर्नेछन् । सिक्किमको दीक्षा अडियो भिजन र नेपालको सलोन फिल्म्सको संयुक्त लगानी रहने यो चलचित्रले सिक्किम र नेपालबीच सिनेमा लगानीको बाटो अझ बढी खुलाउने आशा गरिएको छ ।

त्यसो त सिक्किमले सिनेमालाई एक्लैले डोर्‍याउने प्रयास नगरेको चाहिँ होइन । संयुक्त लगानीका सिनेमा बनाउनुअघि नै सिक्किममा पहिलो पटक नेपाली मूलका व्यक्तिले निर्माण गरेको सिनेमा चाहिँ 'रोमियो इन सिक्किम' थियो । जसलाई हरिकृष्ण (एच.के.) कौलले निर्देशन गरेका थिए । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा निर्माण भएको थियो । यो चलचित्र यति सुपरफ्लप भयो कि यसका निर्माता के.के. प्रधानले त्यसपछि सिनेमाको पनि उच्चारण गर्न रुचाएनन् । क्वालिटी नामक होटल सञ्चालक के.के. प्रधानका कारण नायक बन्न पाएका श्याम प्रधानले निकै पछि आएर भूल नामक चलचित्र निर्देशन गर्न भ्याएका थिए ।

सिक्किमको सिनेमा मोह कतिसम्म रह्यो भने परालको आगोको चर्चा भएपछि सिक्किमले निर्देशक प्रताप सुब्बालाई मशालका लागि नियुक्त गर्‍यो । मशालले चाहेजस्तो व्यापार नगरेपछि लामो रिक्ततामा तुलसी घिमिरेको निर्देशनमा 'लाहुरे' बन्यो । त्यसअघि नै सिक्किम सरकारकै सहयोगमा उनले आदिकवि भानुभक्त आचार्यका बारेमा व्यक्तिवृत्त बनाइसकेका थिए ।

तर धेरैलाई थाहा नहुन सक्छ, सिक्किम स्वतन्त्र देश हुँदै सिक्किमे राजा छोग्यालकी बुहारी बब् हुपले सत्यजीत रेलाई लिएर सिनेमा बनाएकी थिइन् । 'सिक्किम द इलिजिबल' नाम रहेको यो चलचित्र रेको अनुपलब्ध चलचित्रमध्ये यही एउटा चलचित्र रहेको जानकारहरु बताउँछन् । रेको यो २१ औँ चलचित्र थियो ।

पछिल्लो समय सिक्किमको लगानी रहेको चलचित्र चाहिँ आमाको काखलाई लिन सकिन्छ । गायत्री भुटिया र उनका पाँच साथीहरुको लगानी रहेको यो चलचित्रका निर्देशक विजय केरुङ रहेका छन् ।

सिक्किमलाई सिनेमा मोह यति छ कि तुलसी घिमिरेलाई त्यहाँको सांस्कृतिक राजदूत नियुक्त गर्दै नेपाली चलचित्र उद्योग त्यहीँ स्थापित गराउन चाहिरहेको छ । जसका लागि त्यहाँ वार्षिक रुपमा नेपाली चलचित्र महोत्सव गराउने र अधिकांश चलचित्रलाई सिक्किममै छायाँकन गराउने योजना रहेको छ । त्यहाँ छायाँकन भएका चलचित्रलाई आर्थिक तथा भौतिक सहयोग गर्ने नीति सिक्किम सरकारले लिएको छ । यसरी नेपाली सिनेमाप्रति सिक्किमको यो मोहका कारण अबका केही वर्षमा सिक्किममा नेपाली चलचित्र निर्माणको गति नबढ्ला भन्न सकिन्न ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: