Home» Television »Feature

उज्जु डार्लिङको चर्तिकला



टेलिभिजनमा अहिले उज्जु डार्लिङको चर्चा छ । चिन्नु भएन ? उही क्या त, हाम्रै प्यारा कलाकार उज्ज्वल भण्डारी ! त यी पुराना कलाकार उति चर्चामा आउन रुचाउँदैनन्, तर यस पटक उनले कामै यस्तो गरे कि उनी चर्चामा नआई रहन सकेनन् । कारण चाहिँ नेपाल वन टेलिभिजनबाट हरेक सोमबार प्रसारण भइरहेको उज्जु डार्लिङ टक शो नै हो ।

"पाँच महिनाअघि मैले यो कार्यक्रमको कन्सेप्ट बोकेर राजेन्द्र (शलभ) जी कहाँ गएको थिएँ । निकै लामो समयसम्म यसको कुनै चर्चै भएन । मैले सोचेको थिएँ, कार्यक्रम नबन्ने भयो", कार्यक्रमको राम्रो प्रतिक्रिया आइरहेको प्रसङ्गमा उज्ज्वलले बताए- "तर एक्कासि उहाँले गरौँ भनेर फोन आयो ।"

लामो समयदेखि गाइजात्रे स्टेज शो र सन्तोष पन्त तथा मदन-हरिवंशका टेलिश्रृंखलाहरुमा देखा परिरहेका अन्य भूमिकाले भन्दा अहिले पछिल्लो 'उज्जु डार्लिङ' को नयाँपनले उनी चर्चामा आएका हुन् ।

उज्जु डार्लिङ को हो त ? के उनी हिजडा हुन् कि मेटा हुन् कि टा ? इनशाडटकमको जिज्ञासामा उज्ज्वल बताउँछन्- "यो एउटा त्यस्तो पात्र हो, जो केटा हो तर केटीको भाषा र भेष गर्न मन पराउँछ । केटाहरुलाई देख्दा केटी बनेर फकाउँ भन्छ र केटीसँग चाहिँ साथीजस्तो व्यवहार गर्छ । एक किसिमले भन्दा यो मेटी हो ।"

किन त यस्तो पात्र ? "नयाँपनका लागि", उज्ज्वल कारण खोतल्दै भन्छन्- "सधैँभरि एउटा केटा वा केटी आउँछन् अनि पाहुनालाई बोरिङ प्रश्न गर्छन् । तर हामीले उज्जु डार्लिङमार्फत् बोरिङ प्रश्न गराउँदैनौँ । नयाँ प्रस्तुतीकरण भएका कारण दर्शकले यो रुचाइरहेका छन् ।"

त्यसो त नेपाल वनबाट प्रसारण भइरहेको यो कार्यक्रमलाई कान्तिपुर टेलिभिजनको पवनकली शोसँग तुलना पनि गर्ने गरिन्छ । उनलाई चाहिँ कस्तो लाग्छ ? "स्वाभाविक हो, किनभने त्यो चलिसकेको कार्यक्रम भयो । त्यस्तै मनोरञ्जक शैलीमा महिलाको भेषमा अर्को कार्यक्रम थपिएपछि मानिसहरुले तुलना गर्नु स्वाभाविक मान्छु । तर प्राविधिक र प्रस्तुतिको शैलीका कारण यो अलि फरक बनेको छ भन्न मलाई लाज लाग्दैन", उज्ज्वलको भनाइ छ ।

सर्वनामको संस्थापक मध्ये एक रहिसकेका उज्ज्वल त्यसो त पूरै अभिनयमै सीमित छैनन् । उनको आफ्नै एउटा ट्राभल एजेन्सी छ । जसमार्फत् देश र देशको प्रकृति तथा कला संस्कृतिको प्रचारप्रसार गरिरहेका छन् ।

सर्वनामको प्रसङ्ग निस्कने बित्तिकै उनलाई एउटा घटना ताजा भएर आउँछ, भन्छन्- "टेबहालमा एउटा नाटक देखाइरहेका थियौँ । मान्छेहरु अब नाटक हुन लाग्यो भनेर घुरुप्प जम्मा भएका थिए । स्थानीय क्लबका आयोजक र म चिया खाइसकेर छुट्टियौँ । उनलाई म कलाकार हुँ भन्ने थाहा थियो तर के भूमिका छ थाहा थिएन । एकछिनपछि म बौलाहाको भेषमा हल्ला गर्दै आएँ । उनले मलाई भिडबाट झ्याप्प झिँगा टिपेर फ्यालेझैँ पर हुत्याइदिए । मेरो संवाद र रोदन सुनेर दर्शकहरु मतिर हेर्न थाले । त्यसपछि त नाटक भाँडियो भनेर उनले मलाई टोलबाटै खेद्ने बिचार गरे । तर पछि मैले उनको नजिक गएर विस्तारै कानमा खोकेँ- 'यो त नाटककै अंश हो । म कलाकार हुँ । अगि सँगै चिया खाएको, चिन्नु भएन ?' त्यसपछि ती आयोजक छक्क परेर टोलाइरहे ।"

यी कलाकार मात्रै होइनन्, टुरिष्ट गाइड मात्रै होइनन्, योभन्दा थप पनि हुन् । "शायद म बेलायतबाट निस्कने भेराइटी फिल्म म्यागेजिनको नेपालस्थित संवाददाता हुँ भन्ने तपाइँलाई थाहा छैन होला !", हुन पनि यो लेखकलाई दङ्ग पार्दै उनले थपे- "त्यो म्यागेजिनमा चार वर्षघिसम्म नेपालका सिनेमा र कलाकर्मीबारे मैले नियमित लेखिरहेको थिएँ ।" अहिले चाहिँ सिनेमाको स्थिति खस्कँदै गएकाले लेख्न छाडेको उनले बताए ।
नेपाली केही चलचित्रमा अभिनय समेत गरिसकेका उज्जु डार्लिङलाई चाहिँ सिनेमाले उति तान्न सकेन । "यहाँ राजनीति धेरै छ बुझ्नु भो !" उनले एउटा घटना सम्झँदै थपे- "नरेश पौडेलजीको धर्म फिल्ममा एक दिनअघिसम्म मैले काम गर्ने पक्का थियो । तर सुटिङ युनिटमा हल्ला भयो- मेरी श्रीमती खसिन् रे, त्यही भएर म फिल्ममा खेल्न पाउँदिनँ रे ! मलाई थाहै नदिई पछि नयाँ हास्यकलाकार चयन भयो । पछि गौरी मल्ल र लक्ष्मी श्रेष्ठबाट यो कुरा थाहा पाएँ । हुँदाछँदाकी मेरी श्रीमतीलाई कसैले मारिदिएर त्यो पाएको रोल पनि उछिट्याएछ ! यस्तो घटिया शैली देखेपछि म वाक्क भएर सिनेमातिर हे
र्दा पनि नहेरी टीभी, नाटक र आफ्नो गाइड पेशामा संलग्न रहिरहेको छु ।"

आफ्ना १५ सन्तानमध्ये बाँचेका आठ जनाको सबैभन्दा प्यारो कान्छो भाइका रुपमा जमलमा वाल्यकाल बिताएका उज्ज्वलले दरबार हाइस्कूलबाट एसएलसी सिध्याएका थिए । पढ्नमा ठीकै भएकाले उनी एक पटक स्कूलमा फेल पनि भए । तर त्यो गुल्र्टाईले उनमा ठूलो परिवर्तन मात्र ल्याएन, त्यही इखका कारण उनी ड्रि्रीसम्म अध्ययन गरे ।

सन् २००२ मा बेल्जियमको राष्ट्रिय टेलिभिजनले उनको अन्तरवार्ता लिनुलाई उनी जीवनको सबैभन्दा उत्कृष्ट क्षण मान्छन् । हुन पनि नेपालका तर्फाट दिग्गज कलाकारहरु हुँदाहुँदै पनि उनलाई मार्क विन्टर्रवर्मले ठाउँ दिए । त्यसो त यो आकस्मिक क्षण थियो । उनले मार्कलाई एक पटक बौद्ध र स्वयम्भू घुमाउने मोका पाएका थिए, एउटा गाइडका रुपमा । देशको चर्चित कलाकार, उब्रेको समय गाइड गर्छ भन्ने थाहा पाउँदा मार्कलाई अवश्य पनि अचम्म लागेको हुनुपर्छ । शायद त्यही कारण उज्ज्वलले ठाउँ पाएका थिए ।

जब जब उज्ज्वलको प्रसङ्ग आउँछ, उनको जोडी शैलेन्द्र सिंखडाको पनि प्रसङ्ग तानिन्छ । किनभने उज्ज्वल र शैलेन्द्रले लामो समयसम्म गाइजात्रे हास्यव्यङ्ग्य कार्यक्रममा निकै कार्यक्रम गरिसकेका छन् । तर पछिल्लो समय यो जोडी गाइजात्रे कार्यक्रममा देखिएन । धेरैले दुवैको जोडी टुक्रिएको ठानिरहेका छन्, उनी चाहिँ के ठान्छन् त ? "गएको वर्ष म अमेरिका भ्रमणमा थिएँ । उहाँले एक्लै कार्यक्रम गर्नु भएछ । त्यही भएर जोडी टुट्यो भन्नु भएको होला । यस वर्ष पनि कतिपय कारणले काम सँगै गर्न नसकिएला तर तपाइँलाई म इमान्दारितापूर्वक भनौँ- हामीमा त्यस्तो केही घटना घटेको छैन । यो वर्ष भएन भने हामी अर्को वर्षसँगै काम गर्नेछौँ ।"

हुन पनि अहिले उनी दुइ टेलिभिजन श्रृंखलामा एक साथ व्यस्त छन् । एउटा नेपाल टेलिभिजनका लागि हास्यप्रधान कार्यक्रम बनाउँदैछन् भने अर्को कार्यक्रम चाहिँ नेपाल टेलिभिजनइतरका लागि निर्माण हुनेछ । उज्जु डार्लिङ त त्यसमाथि छँदैछ । यो व्यस्तताका वावजूद उनले आफ्नो जोडी टुट्न नदिने प्रयासमा लागेका छन् ।

यसपछि अरु केही जान्न चाहनु होला त उज्जु डार्लिङका बारेमा ?

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: