गुह्य कुरा ओकल्नेः नार्को टेस्ट

भारतीय समाचार टीभी च्यानल स्टार न्यूजले केही दिनयता प्रसारण गरिरहेको अबु सलेमले बेहोसीमा बोलेको टेप तपाइँले हेर्नु भएकै होला । हेर्नु भएको छैन भने तपाइँलाई जानकारी दिऊँ- उनलाई भारतीय प्रहरीले कुख्यात अण्डरवर्ल्ड डन दाउद इब्राहिम, उनको अपराध साम्राज्य, त्यसमा मुर्म्बई सिने उद्योगको संलग्नताका विषयमा प्रश्न सोधेको थियो । आफू के बोल्दैछु भन्ने सोच्दै नसोची नार्को टेष्टको अवधिमा उनले धमाधम सबै कुरा बताइदिए ।
उनलाई सन् १९९३ को मुर्म्बई बम काण्ड तथा सिने उद्योग र व्यापारीहरुमाथि अनधिकृत पैसा असुल्ने, धम्क्याउने तथा हत्या गर्ने योजनाका लागि पोर्चुगलबाट पक्राउ गरी ल्याइएको थियो ।
यो नार्को टेष्ट अवधिभर केही महत्वपूर्ण सूचना चुहिए । जस्तो कि नेपालका सांसद मिर्जा दिलसाद बेग । उनले भने- "दाउदको मान्छे भएका कारण उत्तरप्रदेशका ग्याङस्टर बब्लु श्रीवास्तवले मिर्जा दिलसाद बेगको हत्या गरेका हुन् ।"
उत्तरप्रदेशको एउटा मध्यमवर्गीय परिवारमा जन्मिएका अबु सलेम एउटा वकिलका छोरा थिए । सानै उमेरमा बुवाको मृत्युपछि उनले पढाई जारी राख्न सकेनन् र दिल्ली आएर ट्याक्सी चलाउन थाले । पछि मुम्बई आएर अपराध 'व्यवसाय'मा हात हाले । उनले प्रख्यात चलचित्र निर्माता राजीव राय (त्रिदेव, गुप्त, विश्वात्मा आदिका निर्माता) र राकेश रोशन (कोई मिल गया, क्रिसका निर्माता/निर्देशक) को हत्याको असफल प्रयास गरेका थिए ।
उनी सन् २००२ मा पोर्चुगलमा पक्राउ परेका थिए । उनीमाथि ५० विभिन्न व्यक्ति-हत्याको आरोप लागेको छ । रमाइलो त के छ भने उत्तर प्रदेशमा आउँदो चुनावमा स्वतन्त्र उम्मेदवारका हैसियतले चुनाव लड्ने घोषणा गरेका छन् भने उनलाई यो चुनावमा उनको गाउँ मुबारकपुरका बासिन्दाले सघाउने भएका छन् ।
यी सूचना भन्दा पनि तपाइँलाई रोचक लाग्छ होला कि यो नार्को टेष्ट भनेको के हो ? जसका कारण ती सूचना चुहिए । नार्को एनालिसिस टेस्ट अथवा नार्को परीक्षण लठ्ठ पारेर भित्री कुरा ओकल्ने एक उपाय हो । जसमा बेहोसीको हालतमा नार्को परीक्षणमा हालिएको व्यक्तिले सोधिएका प्रश्नको सीधासीधा उत्तर दिने गर्दछ ।
नार्को टेष्टको मुख्यधारामा प्रथम पटक सन् १९२२ मा प्रयोग गरिएको थियो । त्यसयता गम्भीर प्रकृतिका मुद्दालाई निकास दिन प्रायः देशहरुमा यसको उपयोग गर्ने गरिन्छ । धेरैजसो विद्वानहरु नार्को परीक्षणलाई उति विश्वस्त आधारका रुपमा लिँदैनन् । कतिपय झूट बोल्न पोख्त हुने व्यक्तिहरुले चाहिँ मज्जाले नै ढाँट्ने गरेको प्रशस्त उदाहरण भएको बताउँदै आएका छन् । सोडियम पेन्टोथल नामक पदार्थको उपयोग गरी सत्य बोलाउने यो पद्धतिका कारण कतिपय सत्य उजागर भए पनि धेरै कुराहरु शंकाको घेरामा पनि पर्ने विद्वानहरु बताउँछन् ।
|