Home» Cinema »Feature

चक् दे ! कुछ सिख् ले !

-अच्युत कोइराला

जुन बेला भारत विकासशील राष्ट्रमै गनिन्थ्यो, त्यो बेला पनि उसले विश्व राजनीतिमा आफ्नो प्रभावलाई राम्रैसँग कायम गर्न जान्दथ्यो । जुन बेला भारत धेरै कुरामा विदेशी दातृ संस्था वा विश्व बैंकमै बढी आश्रति थियो, तर पनि छिमेकमा 'बडे भाइ' कै भूमिका निर्वाह गर्दथ्यो । अहिले आर्थिक उन्नतिसँगै 'बलिउड'ले आफूलाई समाज हाँक्न सक्ने माध्यम बन्ने लालसा व्यक्त गरिरहेको छ । त्यसो त भारतमा सिनेमाको प्रभाव यति बढी छ कि त्यसले समाजलाई डोर्‍याउने भूमिका खेल्न सक्छ । केही समय गरीव जनताको 'फस्ट्रेशन'लाई पाकिस्तानका विरुद्धमा उपयोग गरेर बलिउडले निकै पैसा कमायो । भारतीय राष्ट्रवाद भनेकै पाकिस्तानको विरोध गर्नु भन्नेसम्म बुझिन्थ्यो । तर अहिले भारतीय राष्ट्रवादले अर्थ फेरेको छ । त्यो पाकिस्तानको विरोध होइन भन्नेसम्म आइपुगेको छ ।

बलिउडको दर्शकको नाताले मैले देखेको केही परिवर्तन तपाइँसँग साट्न चाहन्छु । जब चलचित्रमा एन्आरआई घुसे, अर्थात् चलचित्रको पर्दामा विदेशी केटा र स्वदेशी केटीको प्रेमकथा गाँसिन थाल्यो, राष्ट्रवादको भारतीय अर्थ परिवर्तन हुन थाल्यो । चाहे त्यो 'दिल वाले दुल्हनियाँ ले जाएंगे' होस् या 'आ अब लौट चलेँ' अथवा 'परदेश' । त्यसले आफ्नो भूम्रि्रतिको मोहका बारेमा बतायो । ऋषि कपुरको पहिलो निर्देशन रहेको 'आ अब लौट चलेँ'मा त हरेक पटक क्रिकेटको निहुँमा झगडा गरिरहने पाकिस्तानी मूलका अमेरिकी र भारतीय मूलका अमेरिकीको बडो मीठो व्यङ्ग्य छ । तर तिनको मित्रता उदाहरणीय देखाइएको छ ।

भारतीय राष्ट्रवादमा आएको परिवर्तनको एउटा मीठो उदाहरण 'वीरजारा'ले दिएको छ । यद्यपि बलिउडको व्यापार नीतिका कारण पाकिस्तानविरोधी राष्ट्रवादमा परिवर्तन आएको केहीको धारणा भए पनि पछिल्लो समय बनेका केही चलचित्रले भारतीय राष्ट्रवाद भनेको पाकिस्तानको विरोध गर्नु या हरेक घटना/दुर्घटनामा आईएसआईलाई जोड्नु मात्र होइन भन्ने कुरामा वकालत गरेका छन् ।

यही मेसोमा 'चक् दे इण्डिया' बजारमा आएको छ । शायद तपाइँले पनि हेर्नु भएको हुँदो हो । हर्ेर्नु भएको छैन भने- हेर्नुस् । मलाई मूलतः दुइ कारणले यो चलचित्र मन पर्‍यो । एउटा- भारतीय राष्ट्रवादमा आएको परिवर्तनको यो पछिल्लो उदाहरण भएकाले । अर्को, यसको कथा मलाई नेपालकै कथाजस्तो लाग्यो, त्यसैले ।

भारतीय राष्ट्रवादमा एन्आरआईहरुको आफ्नो माटो प्रतिको मोहलाई पस्किसकेपछि अब के ? भन्ने ठूलो प्रश्न थियो । किनभने सन् १९९५ मा रिलिज भएको 'दिलवाले दुल्हनियाँ ले जाएंगे' (डीडीएलजे) को सिद्धान्त बिक्न थालेको ठ्याक्कै ११ वर्षभइसकेको थियो । 'नमस्ते लण्डन' त्यसको पछिल्लो उत्तम उदाहरण हो भन्न सकिन्छ । अब नयाँ सिद्धान्त बलिउडले कोर्न जरुरी थियो । त्यसको खाका त्यसो त 'लगान'ले कोरिसकेकै थियो । 'लगान'ले भारतीय जनताले आफूलाई आफैँमाथि विश्वास गर्न सिकाएको थियो । हामी निर्धा भएर के भो, हामीसँग 'हौसला' छ भन्ने पाठ त्यो चलचित्रले सिकाएर गइसकेको थियो । तर पनि बलिउड डीडीएलजेकै परिभाषामा केन्द्रित थियो । त्यसलाई 'चक् दे इंडिया'ले अझ घनिभूत पार्ने प्रयास गरेको छ ।

चलचित्रमा एउटा दृश्य छ- भारतीय महिला हकी टीम विश्वकपका लागि लड्न भारतभरबाट जम्मा भएपछि टिमको कोच कबिर खान (शाहरुख खान) ले सोध्छ- 'तिमी कहाँबाट आयौ ?' देशको कुनाकाप्चाबाट आएका महिलाहरुले आफ्नो नाम र आएको राज्यको नाम भन्छन् । राज्यको नाम भन्नेलाई एकातिर राखेर उसले भन्छ- 'मलाई आफ्नो स्टेट (राज्य)का लागि मात्र खेल्ने महिला चाहिएको होइन, मलाई देशका लागि खेल्ने चाहिएको हो ।'



हकी, सबैलाई थाहा भएकै हो, भारतको राष्ट्रिय खेल हो । जसरी भारतले क्रिकेटमा ठूलो प्रगति गरेको छ, हकीमा उसको स्थिति वास्तवमै दयालाग्दो छ । यो सिनेमाको निर्माणले जनतालाई हकी खेलमा रुचि जगाउन सक्छ । रुचि नजगाए पनि हकी खेलमा केकस्ता समस्या छन्, कति उपेक्षित छ यो खेल भन्ने जस्ता गम्भीर कुराहरु सानातिना दृश्यले प्रष्ट पारेको छ ।

भ्रष्टाचार र उपेक्षाले गाँजेको हकी खेललाई कसरी उठाउने त ? यो प्रश्नको सरल जवाफ दिएको छ चलचित्रले । त्यसो त 'चलचित्रले समाधान दिने होइन कि प्रश्न उठाउने पो हो त !' भन्ने सिद्धान्त पनि चलचित्रमा नभएको होइन, तर पनि चलिआएको रीतलाई नभाँची प्रश्न गर्दै त्यसको समाधान सुझाउनु पनि राम्रै कुरा हो, होइन र ?

यो चलचित्र हेरिसकेपछि मलाई हालै केही समयअघिको महिला क्रिकेट टिमले नेपाललाई सेमीफाइनलसम्म पुर्‍याएको घटना ताजा भएर आयो । ती गाउँले महिलाले जीवनमा पहिलो पटक ब्याट समातेका थिए । तर, हौसला र कटिबद्धताले तिनलाई यति अघि बढायो कि नेपाली महिला क्रिकेट टिमको इतिहास रचेर घर फर्किए ।

वास्तवमा समस्या हामी जनतामा छैन, नीति निर्मातामा छ । तिनको उद्देश्य र कटिबद्धतामा खोट छ, जसका कारण हामीले गर्न सक्ने जति पनि गर्न सकेका छैनौँ । केही समयअघि फूटबललाई लिएर एउटा डकुमेन्ट्री पत्रकार गिरिश गिरिले बनाएका थिए । जसमा वीरगञ्जका युवाहरुको फूटबल मोह र तिनको यात्रा समेटिएको थियो । त्यहाँ पनि साधनको अभावका वावजूद, हौसला र खेलमोहको उत्तम प्रदर्शनका बारेमा बताइएको थियो ।

त्यसो त यो चलचित्रका बारेमा लेख्न मिल्ने धेरै कुरा छन् । तर खेलप्रेमी या खेलाडीले त यो चलचित्र एक पटक हेर्नै पर्छ । महिलाले त झनै हेर्नुपर्छ किनभने महिला भएकै कारणले पाएका फाइदा र हुने बेफाइदाका बारेमा पनि रोचक ढङ्गले उठाइएको छ । देश पछाडि पर्नुको कारण मूलतः जनतामाथिको अविश्वास, तिनमाथि रैतिको व्यवहार र निजी स्वार्थको टकराव भएको यो चलचित्रबाट पाठ सिक्न पाइन्छ । नेताले मात्र होइन खेलकूदका लागि मरिमेटिरहेका खेल नेताहरुले पनि यो सिनेमाबाट केही सिकून् !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेता सेलेब्रिटी रिलिज समारोह सेक्स प्रविधि सुटिङ हल्ला अभिनेत्री पेज थ्री
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,