प्रशान्त तामाङपछि के ? को ??

- अच्युत कोइराला
प्रशान्त तामाङलाई हामी नेपालीले पनि भोट गरेर इण्डियन आइडोल बनाउन भूमिका खेल्यौँ । त्यसका लागि चिठ्ठा चलायौँ, रेष्टुराँमा विविध कार्यक्रम सिर्जना गर्यौँ, सडक-सडकमा हात फैलाएर चन्दा सङ्कलन गर्यौँ । अनि, दार्जिलिङ्गेहरुको अभियानलाई सघायौँ । यति धेरै सहभागिता त हामीले हाम्रै तर्राईमा फैलिएको साम्प्रदायिक दङ्गाको आगोलाई निभाउन प्रयोग गरेनौँ, बाढीको चपेटामा परेका आफन्तजनका लागि देखाएका थिएनौँ । यो अद्भूत एकताको भावनाका लागि सोनी टीभीलाई धन्यवाद भन्नै पर्छ, प्रशान्तलाई स्याब्बासी दिनै पर्छ ।
प्रशान्तले नेपालीभित्रको सुसुप्त रहेको चाह, उत्साह र जाँगरलाई उदाङ्गो पारिदिएका छन् । प्रशान्तप्रति नेपालभित्रका नेपालीहरुको उत्साहलाई केही व्यक्तिले भारतप्रतिको आम नेपाली दृष्टिकोणलाई जोडेर पनि हेरेका छन् । नेपालीहरु मौकामा आफूलाई अब्बल देखाउन यस्तो अभियान पनि शुरु गर्न सक्छन् र त्यसका लागि नेता र अगुवा कोही चाहिँदैन भन्ने कुरा पनि देखाएका छन् । गत वर्षो माघे तराइ आन्दोलन पनि एउटा स्वस्फूर्त आन्दोलन थियो, जहाँ नेताको अभाव टड्कारो महसूस गरिएको थियो । बिना कुनै नेता दुइ वर्षअघिको अप्रिल आन्दोलन पनि नेपाली जनताले सफल बनाएका थिए । यसले नेपालीहरुको जुझारुपनलाई प्रष्ट्याएको छ ।
केही व्यक्तिहरुको तर्क छ, एउटा भारतीयका लागि अर्को भारतीय टेलिभिजनले चलाएको प्रतिभा छान्ने कार्यक्रममा नेपाली नागरिकहरुको यत्रो चासो चाहिँ किन ? नेपालीहरुको अरुका बानी टपक्क टिप्ने अद्भूत क्षमतालाई सम्झाउँदै केही व्यक्ति के भन्छन् भने दिल्लीमा पानी पर्यो भने नेपालमा छाता ओढ्ने गरिन्छ । भारतीय आप्रवासीले बेलायत या अमेरिकामा कुनै सानो उपलब्धि हासिल गर्दा पनि त्यसमा देशभक्तिको रङ घोलेर टीभी च्यानलहरुले चिच्याउनु चिच्याएको सेकेण्ड सेकेण्डमा हेरेर सिकेका नेपाली जनताका लागि प्रशान्त तामाङ एउटा साँच्चिकै भुल्ने माध्यम थिए । उनीहरु भर्खरै कपिलवस्तुमा भड्किएको साम्प्रदायिक सद्भाव भुल्न चाहन्थे । घण्टौँ लाइनमा बसेर पनि पेट्रोल नपाइएको झोँकलाई झार्न चाहन्थे । काठमाडौँमै पनि तीन जनाको हत्या हुने गरी पड्किएको ठूलो बमको त्रासदीलाई बिर्सन चाहन्थे । त्यसैले सक्दो चन्दा भेला पारेर, सक्दो चिठ्ठा गराएर, सक्दो बियर र रक्सी पिएर प्रशान्तका लागि एसएमएस गर्ने पैसा भेला पार्न चाहन्थे । र, त्यही भयो । एउटा अभियान यिनले समाप्त पारेरै छाडे ।
फेरि मत कस्तोसँग मिलिदियो भने प्रशान्तकी आमाले विछट्टको फूर्ति देखाएर इण्डियन आइडोल घोषित हुनासाथ प्रशान्तलाई नेपाली ढाका टोपी ढल्काइदिइन् । प्रशान्तले पनि संसारभरबाट आफूलाई प्राप्त भोटका लागि धन्यवाद दिए र उनले नेपाल र नेपालीलाई पनि नामै काढेर धन्यवाद भने । नेपाली रक ब्याण्ड एक्स-मन्त्रको 'गोर्खाली...' गीत गाइदिए । एक किसिमले नेपालको तर्फबाट खाएको उधारो उनले त्यसरी तिरे ।
यसरी एउटा नेपालीले अर्को नेपालीका लागि गर्नुपर्ने कामका लागि अभियान चलाएर आफूहरुबीचको खण्डित सम्बन्धलाई मजबूत बनाए । नेपालीहरु एकअर्काका लागि खुट्टा तानातान मात्र गर्दारहेनछन्, काम र अवसर पर्यो भने तिनले अभियान शुरु गरेर त्यसलाई उचाई दिएरै छोड्दा रहेछन्, यस पटकको अभियानले सिकाएको पाठ थियो ।
तर प्रशान्त तामाङलाई इण्डियन आइडोलमा सफल बनाउने अभियान सकिएपछि नेपालीहरुमा देखिएको यो जोश, जाँगर र उत्साहलाई एउटा असल कार्यका लागि उपयोग गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । ५७ दिन मात्र बाँकी छ अब संविधानसभाको निर्वाचन आउन । माओवादी निर्वाचन भाँड्न उद्धत भएर सरकार छोडेको अवस्था छ । नेपाली कांग्रेसभित्रै राजासंस्थालाई कायम राख्ने र नराख्नेबीच ठूलो द्वन्द्व चर्किरहेको छ र यदि गिरिजाप्रसाद कोइरालाले खुट्टा कमाउने हो भने गणतन्त्रको आन्दोलन कांग्रेसभित्र तुहिने स्थिति छ । देशी र विदेशी षडयन्त्रले माओवादीलाई 'औकात'मा ल्याउने षडयन्त्र गरिरहेको अवस्थामा नेपालको शान्ति प्रक्रिया फेरि पनि नेपालका विभिन्न किसिमका आयोगहरुको स्थिति हुनसक्छ । निर्णय त गर्ने तर कहिल्यै कारवाही गर्न नसकिने !
धेरैले माओवादीका क्रियाकलापलाई अतिशयोक्तिका रुपमा लिन्छन् । जस्तो, तिनको सरकार छोड्ने घोषणा र असन्तुष्टी ! धेरै नेपाली जनता सरकार अहिलेकै जसरी चलोस् भन्ने चाहन्छन् । तर नेपाललाई तीव्रतर विकासको गतिमा लैजाने हो भने अहिलेको जस्तो निर्णय गर्न सक्ने क्षमताको अभाव, उत्साह र जाँगरको कमी, भित्रैबाट समस्याको निक्र्यौल गर्ने प्रतिभा बिनाको सरकारको काम छैन । धेरै माओवादी पार्टीलाई अहिलेको एमाले बनाउने ताकमा छन् र तिनलाई काम गर्न नदिने वातावरण बनाएर कम्युनिष्टहरुलाई बदनाम गराउन चाहन्छन् । यसमा देशी विदेशी चलखेल स्पष्ट रुपमा महसूस गर्न सकिन्छ । तर तिनले के कुरा बुझ्न जरुरी छ भने अहिलेका जाँगर नभएका व्यक्तिलाई सरकार बनाउन दिएर नेपालीभित्रको द्वन्द्व, आक्रोश, चाहना, अपेक्षालाई कम गर्न सकिदैन । आज माओवादीलाई एमालेजस्तै पार्टी बनाएर थन्क्याउन खोज्यो भने अर्को दश वर्षपछि पुनः नेपाली जनता जाग्नेछन् र आफ्नो चाहना अनुरुपको सरकार खोज्नेछन् । त्यतिबेला माओवादी, कांग्रेस, एमाले सबै पाखा लाग्नेछन् ।
पछिल्लो समयमा तराईमा मधेसी जनअधिकार फोरम पार्टीको रुपमा उदय हुनु, नेपालका पूर्वी भेगमा जातीय पार्टी बन्नु, पश्चिममा थारुहरुले थरुहट राज्यको माग गर्नुको आशय जनताले ठूला पार्टीप्रति गर्न नसकेको विश्वास नै हो । तिनीहरु स्थानीयस्तरमै आफूलाई बलियो बनाएर आफैँले शासन गर्न खोज्दैछन् । भोलि संविधानसभापछि बन्ने सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेनन् भने स्थानीय पार्टी बलियो हुँदै आउने छन् र ठूला पार्टी अस्तित्वहीन बन्न सक्नेछन् ।
त अब के गर्ने ? प्रश्न उठेको हो भने यसको उत्तर छ, गिरिजाबाबुले राजसंस्था नराख्ने कित्तामा उभिएका छन् । माओवादीसँग काँधमा काँध मिलाएर देशका प्रमुख समस्याहरुलाई किनारा लगाउने अभियानमा जुटेका छन् । अन्य पार्टीले पार्टीगत स्वार्थ, गुटगत स्वार्थ र व्यक्तिगत स्वार्थीलाई त्यागेर एक साथ देश र जनताको हित हुने संविधान निर्माण गर्ने एक मात्र उपाय संविधानसभाको निर्वाचनका लागि लागिपर्ने । यो निर्वाचनमा जनताले जुनसुकै मत अभिव्यक्त गरुन्, त्यसलाई इमान्दारिताका साथ सबै पार्टीले पालना गर्ने र जनताको इच्छा अनुसार नेपाललाई विकसित राष्ट्रको सूचिमा पार्न दीर्घकालीन र अल्पकालीन अनेक योजनाहरु बुन्ने । त्यसमा घूस र आफ्नो भाग नखोज्ने । जनताको हितमा यदि सानो काम पनि हुनसक्छ भने त्यसका लागि काम गर्ने जिम्मेवारिता आफूलाई बढाउने ।
यदि त्यस्तो गर्ने कसम खान्छन् भने नेपाली जनताले अर्को अभियान पनि शुरु गर्नेछन् र यो अभियानले प्रशान्त तामाङलाई उठाएझैँ पार्टीलाई पनि साँच्चिकै माथि उठाउने छन् । यो कुरामा विश्वस्त कोही छैन भने गिरिजाबाबु, प्रचण्ड, माधव नेपाल आदि मिलेर संयुक्त साङ्गीतिक कर्न्र्सटको घोषणा गरुन् अनि नेपाली जनताको सहभागिता हेरुन्, तिनलाई छक्क पार्ने क्षमता नेपाली जनतामा छ भन्ने कुरा प्रमाणित गरेर देखाइदिनेछन् ।
|