Home» City Life »Updates

जनता र आठ पार्टीको अग्निपरीक्षा संविधानसभा !

सरोज अधिकारी

देशमा लोकतन्त्र स्थापना भएको १ बर्ष ६ महिना भयो । त्यो दिनको सम्झना आउँछ जुन दिन जनआन्दोलन-२ को बलबाट ढलेको एकतान्त्रिक तानाशाही पुरानो राज्यसत्ता जसलाई समाप्त गरि २ करोड ५० लाख नेपालीको मुक्ति भएको दिन बैशाख ११, २०६३ ! २३ नेपालीको सहादतता र कैयौँ व्यक्तिको अङ्गभङ्ग भएर पनि आएको त्यो दिन ! त्यसैले त्यो दिनलाई देश लोकतान्त्रिक गणराज्य स्थापनाको लागि उन्मुख भएको दिनका रुपमा लिन सकिन्छ । त्यसपछि पुनर्बहाली भएको संसदमा सांसदहरुले खेलेका भूमिकाको बारेमा पनि हामीले प्रशंसा गर्नै पर्दछ । जसले २३८ वर्षसम्म एक व्यक्तिको नाममा बिर्ता रहेको "श्री ५ को सरकार" बाट "नेपाल सरकार" भएको घोषणा गर्‍यो, यस्तो ऐतिहासिक कदमको हरेक नेपालीले स्वागत गर्नै पर्दछ ।

संविधानसभा वा गोलमेच सम्मेलनबाट गणतन्त्रको स्थापना प्रमुख मुद्दा बनाएर १२ वर्ष सशस्त्र व्रि्रोह गर्दै आएको ने.क.पा. (माओवादी), सात राजनीतिक दलसँग १२ बुँदे समझदारी गर्दै राजनैतिक सहयात्रीका रुपमा राजनीतिको मूलधारमा प्रवेश गर्‍यो र अन्तरिम संसदमा दोस्रो प्रमुख पार्टीको रुपमा आफूलाई स्थापित गर्न सफल भयो । देश संक्रमणकालीन अवस्थामा गुज्रिरहेको अवस्थामा ने.क.पा. (माओवादी) सम्मिलित अन्तरिम विधायिकाबाट देशलाई नयाँ निकास दिनका लागि अन्तरिम संविधान २०६३ को घोषणा भयो । जसले संविधान सभा चुनाव गरी देश नयाँ संरचनाका साथ अघि बढ्ने र नेपाली जनताले चाहेको लोकतान्त्रिक गणराज्य स्थापना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।

साथै सात राजनीतिक दल र ने.क.पा. (माओवादी) बीच २०६३ साल मंसीर ५ गते विस्तृत शान्ति सम्झौता भयो । जसमा सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरे । यसले ने.क.पा. (माओवादी) शान्तिप्रकृयामा अत्यन्तै सम्वेदनशील र प्रतिबद्ध छ भन्ने उदाहरण दिन्छ । त्यसैगरि २०६३ माघमा ने.क.पा. (माओवादी) सम्मिलित अन्तरिम संसद बन्यो र अत्यन्तै महत्वपूर्ण घोषणाहरु भए । त्यस्तै चैत्र महिनामा माओवादीसहित अरु सात राजनितिक दल सम्मिलित आठ पार्टीको संयुक्त अन्तरिम सरकार बन्यो र सोही सरकारबाट २०६४ साल जेठ महिनामा सम्पन्न हुने गरी संविधानसभा निर्वाचनको घोषणा गरियो तर निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक पूर्वाधार, नीति, नियम नबनेकाले तत्काल चुनाव हुन नसक्ने धारणा व्यक्त गर्‍यो । त्यसपछि आठ दलकै सहमतिमा अन्तरिम संविधान २०६३ को दोस्रो संशोधन गरी मंसिर ६ गते संविधान सभा चुनावको घोषणा गरियो । एक वर्षको मूल्यांकन गर्दा यो सरकारको अत्यन्तै सफल नेतृत्व र उत्तरदायी सरकारका रुपमा लिनसकिन्छ ।

तर संविधान सभा निर्वाचनको घोषणा पश्चात् विभिन्न संगठनहरुले त्यसमा असहमति जनाउँदै विरोधका स्वर र कार्यक्रमहरु आउने क्रममा मधेशका समस्याहरुलाई लिएर मधेशी समुदायले स्वायत्त शासन तथा तराइ जनतान्त्रिक मोर्चाले तराई गणराज्यको माग गर्दै सशस्त्र विद्रोह शुरु गरे । जसका कारण धेरै नागरिक तथा कर्मचारीहरुको ज्यानसमेत गइसकेको छ । त्यस्तै आदिवासी जनजाति, महिला, दलीत लगायतले पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट संविधानसभा चुनाव हुनुपर्ने र संघीय शासन प्रणालीबाट राज्यको पुनर्संरचना हुनुपर्ने माग अघि सार्दै आन्दोलनमा उत्रिए । जसको फलस्वरुप आठ राजनीतिक दललाई जनताले उठाएका जायज मागका विषयमा सम्वोधन गर्न बाध्य बनायो र सरकारले मधेशी जनअधिकार फोरम र आदिवासी जनजातिहरुसँग विभिन्न चरणमा वार्ता गरी उनीहरुले उठाएका मागहरु सम्बोधन गर्ने प्रतिबद्धताका साथ आशन्न संविधानसभा चुनावमा जाने सहमति भयो ।

जब संविधानसभा निर्वाचनको मिति नजिकिदै गएको अवस्थामा तथा निर्वाचन आयोगले चुनावी कार्यतालिका प्रकाशित गरी जनतालाई चुनावप्रति आकर्षित गराउन लागेको अवस्थामा नेपालका प्रमुख राजनीतिक दलहरुमा चुनावप्रति आकर्षण नहुनु दुःख लाग्दो कुरा हो ।

अन्तरिम संसद् र सरकारमा ठूलो पार्टीको रुपमा बिराजमान रहेको नेपाली कांग्रेसभित्र पनि संविधानसभाका लागि मुख्य एजेण्डा के हो भन्ने विषयमा छलफल नहुनु, कहिले सेरेमोनियल किङ त कहिले बेबी किङ भन्दै अनावश्यक रुपमा राजसस्थाका बारेमा वक्तव्य दिएर जनतामा भ्रम श्रृजना गर्नुलाई अत्यन्तै दुर्भाग्यपूर्ण कुरा मानिन्छ । कांग्रेसजस्तो इतिहास बोकेको, प्रजातन्त्र र लोकतन्त्रका लागि संघर्ष गर्दै आएको पार्टीका सभापति तथा अन्तरिम सरकारको नेतृत्वसमेत गरेका व्यक्तिबाट बेलाबेलामा त्यस्ता प्रकारका भनाइ आउनुले निश्चय नै लोकतान्त्रिक गणराज्य स्थापनाको लागि प्रभाव पार्दछ । यस्ता जिम्मेवार नेताबाट त्यस्ता किसिमका वक्तव्य आउनु दुःखलाग्दो कुरा पनि हो । तर नेपाली कांग्रेसभित्र लोकतान्त्रिक गणराज्यको स्थापना, संघीय शासनप्रणाली र राज्यको पु्नर्संरचनालाई अभियानका रुपमा वैचारिक बहस गर्दै आएका युवा नेताहरुले कांग्रेसलाई गणतन्त्रमय बनाउनु जरुरी छ । यो अहिलेको आवश्यकता पनि हो किनकि अब कांग्रेसले राजालाई काँधमा बोकेर हिंड्न सक्दैन, अब जननिर्वाचित राष्ट्रप्रमुख हुनुपर्दछ ।  त्यसैले नेपाली कांग्रेसको असोज महिनामा बसेको महासमितिको बैठकले गणतन्त्रमा जाने निर्णयबाट अब निश्चय पनि कांग्रेसलाई शंका गर्ने ठाउँ छैन । त्यसमा पनि कांग्रेस एकीकरणबाट लोकतान्त्रिक गणतन्त्रलाई मजबूत बनाउने विश्वास गरिएको छ ।

सरकारको अर्को प्रमुख घटक ने.क.पा. (माओवादी) ले संविधानसभा अघि नै गणतन्त्रको घोषणा गर्नु पर्ने प्रस्ताव ल्याएर जनता माथि अविश्वास गरेको छ । यदि चुनाव पूर्व नै गणतन्त्र घोषणा गर्ने हो भने, संविधानसभा चुनावको औचित्य के ? यो प्रश्नको जवाफ माओवादी नेतृत्वले दिनु पर्ने जरुरी हुन्छ । जनतामा विश्वास राख्छौँ पनि भन्ने, संविधानसभा चुनाव हुनुपर्छ पनि भन्ने, चुनावको मिति घोषणामा सही पनि गर्ने र त्यहि जिम्मेवार नेताले हुन लागेको चुनाव नौटंकी मात्र हो भन्नु कतिसम्म जिम्मेवार ठहर्छ ? माओवादीजस्तो संघर्षरत् पार्टीको जिम्मेवार नेतृत्वबाट संविधानसभाजस्तो ऐतिहासिक पर्वका बारेमा नकारात्मक टिप्पणी गर्नुले ने.क.पा. (माओवादी) ले जनतामा विश्वास नगरेको त होइन ? निर्वाचन नजिकिदै आएको बेला आफ्ना विचार, नीति, कार्यक्रमहरु जनतामा पुर्‍याई जनतालाई सचेत बनाउनु पर्ने बेलामा अर्को जनआन्दोलनको घोषणा गरेर सडक तताउनुलाई कसरी सच्चा जनआन्दोलन भन्नुहुन्छ ? यो त एउटा पार्टीको जनविद्रोह मात्र हो । जनआन्दोलन भनेको जनताद्वारा आफ्नो अधिकार प्राप्तिका लागि गरिने आन्दोलनलाई मानिन्छ । जुन आन्दोलन एक वर्षअघि जनताले गरेर लोकतन्त्र प्राप्ति गरिसकेका छन् र नेताहरुलाई त्यसको संरक्षण गर्ने जिम्मेवारी सुम्पिसकेका छन् । यदि माओवादीले अघिसारेको गणतन्त्र घोषणा गर्नुथ्यो भने नरहरि आचार्यले भने जस्तो २०६३ बैशाख ११ गते नै हुनुपथ्र्यो । जनताले त्यस समयमा नै गणतन्त्र चाहेका थिए । तर तपाईहरुले किन घोषणा गर्न सक्नु भएन ? यो प्रश्नको जवाफ सात पार्टीले जनतालाई दिनुपर्दछ । त्यसैले माओवादीसहित अरु दलहरुलाई के आग्रह गर्न चाहन्छु भने तपाईहरु अर्को जनआन्दोलनमा लाग्नुस् त्यो आन्दोलन भनेको संविधानसभा निर्वाचन हो । गणतन्त्र घोषणा गर्ने अधिकार जननिर्वाचित प्रतिनिधिहरुलाई मात्र छ । तपाई राजनीतिक दलहरु भनेको साधनमात्र हो साध्य होइन, साध्य भनेका जनता हुन् । जसको बलबाट तपाईंहरु संविधानसभा जस्तो शुभकार्यमा उन्मुख हुनुहुन्छ । यसका लागि संविधानसभा चुनाव हुनु जरुरी छ । यो कुरा माओवादी नेताहरुले पनि बिर्सनु हुँदैन । मृतावस्थामा रहेको राजतन्त्रलाई अनेक प्रकारका हौवा दिएर प्रचार गरिनु त्यसलाई मलजल दिनु मात्र ठहर्छ । त्यसैले यस्तो अवस्थामा रहेको संस्थालाई संविधानसभाबाट पूर्णविराम लगाउनु आजको आवश्यकता हो । जनताले नयाँ नेपाल निर्माण गर्ने जिम्मा  सात दल (कांग्रेस एकीकरणपछि) लाई दिएका छन् । हामी जनता, नागरिक समाज र राजनीतिक दलहरुको अग्निपरीक्षा भनेकै तोकिएको मितिमा संविधानसभाको निर्वाचन सम्पन्न गर्नु र नयाँ नेपाल निर्माण गर्नु हो ! यही नेताहरुलाई बडा दशैँ तथा शुभ दीपावलीको शुभकामना ! !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
संविधानसभा crisis अनुभव awards पेट्रोल सेलेब्रिटी streets हल्ला hi-life festival माओवादी मोबाईल समलिङगी events celebrity
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: