Home» Music »Feature

दार्जिलिङ, मुम्बई, दिल्ली र काठमाडौँ: एक शिक्षा

यी चार शहर तीमध्ये दुइ राजधानी शहर र दुइ भिन्न संस्कृति र संस्कारको शहर । यी चार शहरको गम्भीर अध्ययन गरेकी गायिका अभया सुब्बाको जीवनमा यिनले गम्भीर प्रभाव पारेका छन् । दार्जिलिङले उनलाई हुर्कायो-बढायो, बम्बईले सङ्गीतको साथी बनायो, दिल्लीले सङ्गीत सिकायो र काठमाडौँमा उनी लोकप्रिय बनिन् ।

दार्जिलिङ
पहाडकी रानी, यसै भन्छन् दार्जिलिङलाई । यहीँ जन्मिएकी थिइन् अभया । यो पहाडकी रानीले उनलाई एउटा मायालु बुवा उपहार दियो । तिनै बुवा नयनप्रकाश सुब्बाको प्रेरणाप्रद शिक्षणले उनलाई भविष्यको अभया (भयरहित) नारी बनाइरहेको थियो । तर उनी यसमा अनजान थिइन् । उनका तीन दिदीबहिनीलाई बुवा नयनप्रकाशले हरेक विधामा पोख्त बनाउने प्रयास गर्नुभयो । कतिसम्म भने जेठी उदयालाई बुवाले भ्वाइलिनमा पोख्त हुन कर गर्नुभयो । माहिली अद्वितीलाई चेलोमा रमाउन सिकाउनु भयो र कान्छी अभयालाई पियानोसँग खेल्न प्रेरित गर्नुभयो । हुन पनि अम्बर गुरुङभन्दा केही कान्छा नयनले आफूले सङ्गीतमा धन र मन दिनु भए पनि आफू प्रहरीमा जागीर खानु परेकाले तन दिन सक्नु भएको थिएन । शायद त्यसैको रन्को हुनर्ुपर्छ, उहाँले आफ्ना छोरीहरुलाई सङ्गीतलाई माया गर्न सिकाउनु भयो, सङ्गीतमा रम्न सिकाउनु भयो र त्यसैमा जम्न सिकाउनु भयो ।

"दार्जिलिङको माटोमा नै सङ्गीत छ", पूर्ण अंग्रेजी लवजमा उनी नेपाली बोलिरहेकी थिइन्, थपिन्- "त्यसैले मैले चाँडै त्यो सिक्न सकेँ ।" तर बुवा नयन पनि कम चलाख हुनुहुन्थेन, छोरीहरु सङ्गीतमा बढी रम्ने र शैक्षिक योग्यतालाई चटक्क बिर्सने पो हुन् कि भन्ने आशङ्काले तीन दिदीबहिनीलाई एउटा प्रस्ताव राख्नु हुन्थ्यो- "जो प्रथम हुन्छ, उसले चाहेजस्तो उपहार पाउने छ र तीन महिनासम्म ऊ सङ्गीतमै हराउन सक्ने छ ।" अनि शुरु हुन्थ्यो, तीन दिदीबहिनीको पढ्ने प्रतिस्पर्धा । कक्षामा प्रथम, द्वितीय र तृतीय भएको तीन महिनासम्म तीनै जनाले मज्जाले गायन, नृत्य र वादन सिक्थे र स्कूल लाग्ने अन्तिम साता गाउँभरिका व्यक्तिहरुलाई बुवा नयनले भेला गराएर आफ्ना छोरीहरुको कला देखाउनु हुन्थ्यो । दार्जिलिङले यस्तो सिकायो ।

मुम्बई
एउटा गाउँजस्तो शहरले सङ्गीतलाई माया गर्न सिकाएको थियो उनलाई । उनी पढाईलाई जारी राख्न मुम्बईजाँदा यो 'फास्टेस्ट' शहरले उनलाई एउटा साथीसँग परिचित गरायो । त्यो साथी थियो- अहिलेको जल्दोबल्दो गायक, कैलाश खेर । कैलाश र उनका साथीहरुको साङ्गीतिक समूह 'कैलाशा' उनका लागि राम्रो साङ्गीतिक 'क्लास' बन्न पुग्यो । उनले यिनीहरुबाट पनि सङ्गीतको महत्वपूर्ण शिक्षा पाइन्, त्यो शिक्षा थियो- प्रख्यात होऊ तर धर्ती नछोड । प्रख्यातिसँगै धेरैले आफ्नो धरातलीय यथार्थ छोड्छन् र बिर्सन्छन् आफ्नो विगत ।

तर, उनी मुम्बैमा अड्न सकिनन्, "ज्यादै फास्ट लाग्यो मलाई", अभयाले त्रिपुरेश्वरको एउटा महङ्गो रेष्टुराँमा मीठो मःमः चपाउँदै भनिन्- "म जस्तो महत्वाकांक्षाहीन व्यक्तिका लागि मुम्बै उचित ठाउँ रहेनछ ।" उनले फेरि थपिन्- "तपाइँ महत्वाकांक्षी हुनुभयो भने मुर्म्बईमा चाहिँ इनोसेन्स त्याग्नुपर्छ, त्यो मलाई मञ्जुर थिएन ।"

यसबीच उनले आफ्नो पढाइलाई जारी राख्न सकिनन् । उनी मूलतः त्यहाँ पढ्न गएकी थिइन्, पढाइ अगाडि बढाउन नसकेपछि उनी भारतीय राजधानी हान्निइन् ।

नयाँ दिल्ली
उनलाई मुर्म्बई र दिल्लीको फरक नसोध्नुस्, उनलाई हात्ती र हात्ती छाप चप्पलजस्तै लाग्छ । अर्थात् विज्ञापनले भनेजस्तै उस्तै-उस्तै हो नानु ! तर यहाँ उनले सङ्गीतलाई अझ फराकिलो गरी बुझ्ने अवसर पाइन् । उनले त्यहाँ एउटा ब्याण्डसँग गाउने अवसर पाइन्, यस ब्याण्डले उनको अंग्रेजी गायनको शब्दकोषलाई निकै वृहद् बनायो । तर पनि दिल्लीमा गाएर हिट हुनुभन्दा अघि उनलाई मानसिक धक्का पुग्यो । उनले भनिन्- "तर मलाई नसोध्नुस्, त्यो धक्का के थियो, किन भयो र म किन दिल्लीबाट वाक्क भएर काठमाडौँ छिरेँ !"

साङ्गीतिक समूहको कसिलो बन्धन, त्यसलाई चलाउन हुनुपर्ने खुबी र समग्रमा गतिलो सङ्गीत बनाउन चाहिने ल्याकत आदिबारे बुझिसकेपछि उनलाई लाग्यो, मैले प्रायः धेरै सिकिसकेँ । त्यसपछि उनी काठमाडौँ आइपुगिन् ।

काठमाडौँ
उनी काठमाडौँसँग रम्न थालेपछि लाग्यो, उनले खोजेको शहर यही हो । न त यो दार्जिलिङजस्तो सुस्त छ, न त दिल्ली र मुम्बईजस्तो हतार र हतासमा छ । यसको आफ्नै लय छ, गतिको । यसलाई न धेरै हतार न धेरै फूर्सद । शुरुताका उनले सन् १९९७ मा हिट्स एफएम रेडियोकर्मीका रुपमा केही वर्षबिताइन् । साथमा उनी साङ्गीतिक समूह बनाएर रक्स बारमा गाउँने र बजाउने काम पनि गर्थिन् । यो काम उनलाई ज्यादै रुच्यो ।

तर के विदेशी गीत गाएर केही सीमित व्यक्तिहरुको वाहवाही नै सबैथोक पूर्ण भएको मान्न सकिन्छ र ? उनको मनमा यही प्रश्न उब्जिरहेकै बेला नेपाली रक गायनका एउटा उँचो नाम रबिन तामाङ टुप्लुक्क उनीकहाँ आइपुगे । उनले आफ्नो समस्या बताइन्, जो रविन एक समय यस्तै समस्याबाट गुज्रिरहेका थिए- अभयाको समस्या बुझ्न उनलाई कठिन भएन । उनले भने- "अब तिमीले नेपाली गीत तिमीलाई मनपर्ने शैलीमा गाउनु पर्छ, जसले जेसुकै भनून् !"

यो उनका लागि येशू वचनझैँ भयो । त्यसपछि उनले आफूभन्दा कम उमेरका राम्रा वाद्यवादक भाइहरु खोजिन् र ब्याण्ड बनाइन्- अभया एण्ड स्टिम इन्जन्स् । पहिलो एल्बम यही नामबाट निकालिन् सन् २००५ मा । उनलाई काठमाडौँ शहरले धेरै थोक दिएको छ, रेडियोकर्मीको पहिचान, गायिकाको परिचय, वैवाहिक जीवन र छोरोको सामिप्यता अनि गायकीको समीक्षा पनि ! एल्बम निस्किएपछि एक चर्चित सङ्गीतकारले त उनकै मुखेञ्जी सोधे- "तिमी किन त्यसरी चिच्याएकी ? गाउन बिर्सियौ कि के !" शुरुमा त उनलाई यो निकै झ्वाँक चलाउने प्रतिक्रिया थियो तर यो प्रतिक्रियालाई उनले 'च्यालेञ्ज'का रुपमा लिइन् र अहिले त्यो च्यालेञ्ज नयाँ गीति एल्बमको रुपमा बजारमा आउने भएको छ ।

"मेरो अहिलेसम्मको साङ्गीतिक अनुभव नै दोस्रो एल्बम हो", लामो सास फर्ेर्दै उनले भनिन्- "प्रविधिका कारण हाम्रा एल्बम बिक्री हुन छाडेका छन्, प्रविधिलाई फेल गर्न हामीले अघिल्लाभन्दा पछिल्ला सिर्जना राम्रोभन्दा धेरै राम्रो बनाउन ज्यादै जरुरी छ । मेरो नयाँ एल्बम त्यही भावनाको प्रतिविम्व हुनेछ ।"

हुन पनि उनले चार शहरको अनुभव यसमा घोलेकी छिन् भन्ने दाबी गरेकी छिन्, के साँच्चै उनको एल्बम उनले भनेजस्तै होला त !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
गायिका रिलिज क्या बात ! लुकेका कुरा प्रेम र विवाह कीर्तिमान रुचि तातोपीरो उपलब्धि कन्सर्ट सङ्गीतकार गायक नेपाली तारा गीतकार पेज थ्री भिडन्त हल्ला विचार विवाद बजारमा
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,