Home» Music »Feature

डिस्कोले आज क्या भन्छ ?
जाम् त्यता जाम् जाम्

पुरानो भर्सनको गीत सुन्नुस्-
च्याङ्बा होई च्याङ्बा डम्फुले आज क्या भनछ ?
.... जाम् कता जाम् जाम्, कता जाम् जाम् ।

अब यसलाई सच्याएर यसरी पढ्नुस्-
सुन सुन है च्याङ्बा डिस्कोले आज क्या भनछ ?
.... जाम् उतै जाम् जाम् उतै जाम् जाम् जाम् जाम् ।

नेपालमा प्रथम पटक डीजेको वास्तविक अर्थ नेपाल भित्र्याउने व्यक्तिका रुपमा डिजे राजुलाई लिइन्छ । उनले आफ्नो डीजे अवधिको एक दशकमा नै धेरै परिवर्तनहरु देखिसकेका छन् । ५ अगस्त १९७४ मा काठमाडौँको ओम बहालमा जन्मिएका राजु अहिले नेपालका सबैभन्दा व्यस्त र महङ्गा डीजेका रुपमा चिनिन्छन् । खासगरी उनले च्याङ्बा हो च्याङ्बा गीतलाई डिजे मिक्स गरेर बजारमा ल्याएपछि उनको चर्चा चुलिएको हो ।

सन् १९९४ देखि राजधानीको क्लब डाइनास्टीमा डिजेका रुपमा काम शुरु गरेका उनले १० वर्षभत्रै उनले ठूलो परिवर्तन देखेका छन् । कतिसम्म भने अहिले उनले डिजे पढाउने इन्स्टिच्यूटसमेत खोल्नु परेको छ । प्रायः चूपचाप सिर्जनामा व्यस्त हुन चाहने भए पनि व्यस्तताका कारण एल्बम निकाल्न नसकिरहेका उनको अर्को एल्बम बजारमा आउने तयारीमा छ । यो एल्बममा पनि उनले रिमिक्स गीतहरुलाई नै ध्यान दिएका छन् ।

आउनुहोस्, यिनै चर्चाका केन्द्रविन्दु डिजे राजुसँग आज कुराकानी गरौँ ।

आनन्दकुटीमा तपाइँ होस्टलमा बसेर स्कूले जीवन बिताउनु भयो, कसरी सम्झनुहुन्छ ती दिन ?

होस्टलको बसाई, केही रमाइलो केही झूर त भइहाल्छ । तर त्यहाँ सिनेमा, सङ्गीत र हुल्लडबाजका कारण ती दिनलाई रमाइलो भन्न सकिन्छ । यहाँ साथीहरुको सङ्गतका कारण संगीतको राम्रो संगत बन्यो, जसका कारण हामीले ब्याण्ड पनि बनायौँ र केही पर्फ पनि गर्यौँ ।

तपाइँ कस्तो बालक हुनुहुन्थ्यो ?

एउटा आम बालक थिएँ । खासै त्यस्तो बदमास पनि थिइनँ र निस्क्रिय पनि रहिनँ ।

तपाइँहरुले त सात कक्षा पढ्दै ब्याण्ड बनाउनु भएको थियो, त्यो ब्याण्डले पर्फम गर्नु भयो ?

अँ सात कक्षा पढ्दापढ्दै विदेशी गीतसङ्गीतको मोह बढ्यो । र, विदेशीहरुकै प्रभावका कारण हामी नजिकका साथीहरु मिलेर ब्याण्ड खोल्यौँ ।

फेरि दुइ वर्षको अन्तरालमा रथ चाइल्ड ब्याण्ड खडा गर्नुभयो किन ?

यो चाहिँ त्यतिबेलाको प्रख्यात मेटल ब्याण्ड आइरन मेडेनको प्रभावमा परेर खोलेका थियौँ । एउटा ज्यादै चलेको ब्याण्डले निकालेको गीतबाट प्रभावित भएर हामी साथीहरुले रथ चाइल्ड ब्याण्ड खडा गर्यौँ ।

त्यसबेला अंग्रेजी गीतको ज्यादै प्रभाव थियो होइन काठमाडौँबासी युवाहरुमा ?

अँ, हिन्दीको प्रभाव युवाहरुमा निकै कम थियो । नेपाली गीत गाउनु आफ्नै बेइज्जती गर्नुसरह थियो । त्यसैले स्वाभाविक रुपमा युवाहरु अंग्रेजीतर्फनै ढल्केका थिए । हामी पनि त्यसबाट अछुतो थिएनौँ । अरु त अरु निमा रुम्बा, नवीन के. भट्टर्राईहरु रक ब्याण्डका लागि स्वर दिन्थे । ती अंग्रेजीमा नै गाउने गर्थे ।

तपाइँ त्यसपछि कमाउन भनेर जर्मनी जानुभयो, होइन ?

त्यसबेला जर्मनी जानका लागि कुनै पनि किसिमको भिसा चाहिँदैन थियो । साथीभाइहरु सबैको मत मिल्यो र हामी जर्मनी गयौँ ।

कति कमाउनु भयो ? कमाएको पैसा के गर्नुभयो ?

मेरो परिवार कस्तो भने, परिवारको एक्लो छोरा । जर्मनी जानुपर्ने आर्थिक अवस्था थिएन । त्यसैले म त्यहाँ रातिराति ड्रम बजाउँथे । त्यत्तिको भरमा साताभरिका लागि खान प्रशस्त पुग्थ्यो । अरु साथीहरु चाहिँ काम गर्थे । बरु मैले हाम्रो समूहमा भएको एउटा जर्मन केटोसँग डिजे कसरी गर्ने भनेर सिकेँ । यो कालान्तरमा निकै काम लाग्यो । त, मैले त्यहाँ कमाइनँ, कमाएको चिज पनि केही सिक्न खर्च गरेँ ।

तपाइँले खोल्नु भएको रेष्टुराँमा लाइभ पर्फेन्स हुने पहिलो रेष्टुराँ मानिन्छ हो ?

सही कुरा हो । यहाँ हामी क्यासिनोहरुमा बजाउने हुनाले जर्मनीको कमाई उति आकर्ष थिएन भन्दा पनि हुन्छ । तर उता पनि राम्रै पैसा जम्मा भएकाले नेपालमै केही गरौँ भन्ने भावना पलायो । म चाहिँ देशमै फर्किन जोड दिन्थेँ किनभने म एक्लो छोरा भएकाले घरको लोग्नेमान्छे बाहिर बस्नु हुन्न भन्ने मान्यता थियो । त्यसैले यहाँ आएर ग्राफिटी भन्ने रेष्टुराँ खोल्यौँ साथीभाइ मिलेर । तर खर्च ज्यादा र आम्दानी कमका कारण यो हामीले बन्द गर्नु पर्‍यो र साथीहरु जर्मनी गए ।

साथीहरु फेरि जर्मनी फर्केपछि तपाइँले के गर्नुभयो ?

मैले जर्मनीमा सिकेको कला यहाँ काम लाग्यो । क्लब डाइनास्टीमा मलाई कामको निम्तो आयो । म त्यहीँ व्यस्त हुन थालेँ ।

तपाइँले पहिलो पटक डीजे शब्द कहाँ सुन्नु भएको थियो ?

मैले जर्मनीमा हुँदा नै डिजे बारेका सुनेको थिएँ । त्यहाँ डिजेको जुन महत्व थियो, त्यसले मलाई निकै नै तान्यो ।

तपाइँले कति समय डीजे ट्रेनिङ लिनुभयो ?

त्यति धेरै समय त होइन, छ महिना मात्र हो । तर नेपालमा त्यहाँको छ महिने सिकाई निकै महत्वपर्ूण्ा साबित भयो ।

नेपालमा तपाइँले डीजे काम शुरु गर्दा यो पेशाप्रति मान्छेको सोचाई कस्तो थियो ?

डीजे भनेकै थाहा थिएन र यसलाई सजिलो कामका रुपमा हेरिन्थ्यो ।

सन् २००२ मा तपाइँ सर्वोत्कृष्ट डीजे हुनुभयो होइन ? कसरी भाग लिन पुग्नु भयो ?

अँ, डिजेहरुको प्रतिस्पर्धा हुने भयो । जसमा मलगायत अन्य २२ जना व्यक्तिहरु यसमा भाग लिएका थियौँ । मैले यो उपाधि हात पारेपछि चाहिँ मेरो दिन फिर्‍यो भन्नु पर्‍यो ।

तपाइँले तीन वर्षअघि डाइनास्टी छोडेर रक्समा डीजेइङ गर्न थाल्नु भयो तर एल्बम निकाल्ने कुरा चाहिँ कसरी शुरु भयो ?

डाइनास्टीमा भन्दा रक्समा राम्रो अवसर भएकाले त्यहाँ गएँ । रक्समा चाहिँ क्लास मान्छेहरुको उपस्थिति हुन्थ्यो । त्यसैले डाइनास्टी र रक्सको तुलना गर्नुहुन्छ भने चाहिँ मलाई रक्स नै मन परेको हो । रक्समा डीजेइङ के हो बुझ्ने मान्छेहरु आउँछन् । यस्तै बुझ्नेहरुको भीडमा अधिकांश व्यक्तिहरु मेरा साथी नै बने । लगभग ९५ प्रतिशतहरुको सुझाव रहृयो, एल्बम निकाल्ने । मलाई पनि लाग्यो, यो सही सुझाव हो भन्ने । त्यसपछि काम शुरु गरिहालेँ । तर मेरो व्यस्तता यस्तो रह्यो कि मैले नियमित रुपमा काम गर्न सकिनँ । म ढिला भएँ । तर जब एल्बम निस्कियो, हिट भयो ।

च्याङ्बाका कारण तपाइँ पनि चर्चामा आउनु भयो तर तपाइँमा सिर्जनशीलता नभएको आरोप लाग्यो नि ?

यो सही कुरा हो, च्याङ्बालगायतका गीतहरुमा दीपक वज्राचार्यजीले राम्रो एरेन्ज गर्नु भएको हो । तर र्सजक र एरेन्जरमा फरक हुन्छ भन्ने कुरा पत्रकारहरुले बुझेनन् । त्यसैले यो कुरा बजारमा हल्ला भएको हो ।

गायक दीपक वज्राचार्यले च्याङ्बाको सबै काम मैले गरेको, राजुले केही गरेको होइन भन्दा कस्तो लाग्यो ?

मलाई पत्रकारहरुको ज्ञानप्रति दया लाग्यो ।

नेपालमा डिस्कोका दर्शक या ग्राहक कति संख्यामा छन् ?

बढीमा दुइ हजार । किनभने त्यही जनसंख्या एउटा डिस्कोबाट अर्को डिस्को चहार्ने हुन् । त्यसैले डिस्कोप्रति अरु दर्शक तान्न जरुरी छ ।

तपाइँले डिजे भएरै कति देशको भ्रमण गर्नुभयो ?

मैले हंगकंग, भारतका दिल्ली, कलकत्ता, जर्मनी भ्रमण गरिसकेको छु र तिहारमा सिंगापुर जाने कुरा चलिरहेको छ, हेरौँ के हुन्छ ।

डिजेको कमाई सामान्यतया कति हुन्छ ?

त्यो पनि भन्नु पर्छ र ! स्तर हेरिकन यो निर्धारण हुन्छ । मैले अहिलेसम्म धेरैमा ९० हजार रुपियाँ एक रातको लिएको छु ।

डिजेको काम रातभरि हुँदा कहिलेकाहीँ श्रीमतीसँग झगडा पर्दैन ?

पर्दैन, किनभने मेरो कामको प्रकृति श्रीमतीलाई थाहा छ ।

अहिले दोस्रो एल्बमको तयारी भइरहेको छ, यस पटक खास के छ ?

यस पटक खास केही छैन, तपाइँले राम्रा रिमिक्स र मेरो सङ्गीतका असल गीत सुन्न पाउनु हुनेछ ।

तपाइँले त आफ्नै डीजे सिकाउने इन्स्टिच्यूट खोल्नु भा छ रे हो ?

अँ डिजे के हो भन्ने कुरा सर्वसाधारणलाई जानकारी दिन र यो एउटा आकर्ष पेशा पनि हो भन्ने बुझाउन विगत केही महिनादेखि मैले बुम इन्टरनेशनल खोलेको छु । यो निकै राम्रोसँग चलिरहेको छ ।

तपाइँले डिजेइङ गर्दा रमाइला घटना पनि घटेका रहेछन् होइन ? गायक ठानेछन् होइन ?

अँ राजधानीबाहिर जाँदा एक पटक बिराटनगरमा डिजेइङ गर्दा केही पाको उमेरका एक जनाले भन्नुभयो- 'खै तिमी कतिखेर गाउँछौ - त्रि्रो गीत सुनेर जाऊँ भनेको !' म त छक्क परेँ । केही व्यक्ति त्यस्ता पनि हुन्छन् । अनि कोही चाहिँ डिस्कोमा आफ्ना छोरा, नाति, नातिना लिएर पनि आउँछन् र मज्जाले नाच्छन् ।

तपाइँ त डिजाइनको काम पनि गर्नु हुन्छ होइन ? कसरी यति धेरै काम गर्न भ्याउनु हुन्छ ?

होइन, त्यो शोखको काम हो । मैले रामकृष्ण ढकालजीको एल्बमको कभर डिजाइन गरेँ, त्यसको राम्रो चर्चा भयो । त्यसपछि अन्य साथीहरुले पनि अनुरोध गरेका छन् तर नभ्याएका कारण अहिले त्यसलाई निरन्तरता दिएको छैन ।

नेपाली रिमिक्सको भविष्य कस्तो देख्नु हुन्छ ?

राम्रो छैन । किनभने यो एउटा हावा हो । हावा चलेको बेला पात हल्लिएको मात्र हो । वास्तविक गीत नै पछिसम्म रहिरहन्छन् । तर यदि पैसा कमिन्छ र वास्तविक गीत नमारी गर्दा हुने किसिमको काम चाहिँ जहिले गरे पनि हुन्छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
ट्रयाक बाहिर रिलिज क्या बात ! लुकेका कुरा प्रेम र विवाह गायिका कीर्तिमान रुचि तातोपीरो उपलब्धि कन्सर्ट सङ्गीतकार गायक नेपाली तारा गीतकार पेज थ्री भिडन्त हल्ला विचार विवाद
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,