Home» Music »Feature

सञ्जीवनीसँगको च्याट

- Achyut Koirala

'प्रविधिले मानिसलाई निकै साँघुर्‍याइसकेछ !' मेरो याहूमेलमा मुम्बईकी गायिका सञ्जीवनी भेलेण्डे झुलुक्क देखिएपछि मनमनै सोचेँ । 'ऊ कतिबेलादेखि यहाँ थिई होली !' फेरि सोचेँ र बिहानैदेखि याहूमेल साइन इन् नगरेकोमा पछुतो लाग्यो । तर फेरि पनि मुम्बईकी चर्चित गायिका के मसँग बोल्ली त ! ऊसँग फूर्सद रहला ! यस्तै सोच्दै थिएँ । यत्तिकैमा उसको च्याट बक्समा ढक्ढक्याउन मन लाग्यो ।

शुरुमा उसलाई मेरो परिचय बिना नै नमस्ते भनेँ । मलाई लागेको थियो, मेरो नाम उसले सम्झेली । किनभने करिब दुइ वर्षअघि आहा सङ्गीत पत्रिका चलाउँदा उसँग लामो र राम्रो कुराकानी भएको थियो । त्यही कुराकानी र इमेल आदान-प्रदानका हिसाबमा उसले मलाई सम्झिरहेकी होली भन्ने मेरो अनुमान थियो । 'नमस्ते' भनेर उसको च्याट बक्समा ढक्ढक्याउने बित्तिकै मेरो मूर्खतामाथि मलाई नै हाँस उठ्यो । उसले यत्रो दुइ वर्षमा मलाई चिनिरहनु पर्ने वा सम्झिरहनु पर्ने नै किन ? एक त उसको 'कभर स्टोरी' बनाउँदा उसले नबुझ्ने भाषामा थियो पत्रिका, त्यसमाथि उसले त्यो पत्रिका नै पाई कि पाइन !

यो मूर्खता सम्झिएपछि उसलाई आफूबारे चिनाउँ कि नचिनाउँ भनेर दोधारमा परिरहेँ, केही क्षण । तर 'जुनीजुनी' जस्तो नेपाली श्रोताहरुले ज्यादै मन पराइएको एल्बमकी गायिका, नेपालीहरुले ज्यादै माया गर्ने स्वरसँग केही क्षण भलाकुसारी गर्नु र परिचित बनाउनुमा मैले हानी देखिनँ । त्यसो त मलाई नचिन्नेहरुसँग नेपालमै त म आफ्नो परिचय दिएर नयाँ पुस्ताका गायकगायिकाहरुसँग भलाकुसारी गरिरहेको हुन्छु भने कुनै अर्कै देशकी गायिकासँग परिचय आदानप्रदान गर्नुमा के नै हानी होला र !

मैले पहिला जुनीजुनीका सङ्गीतकार सुरेश अधिकारी, एल्बम र नेपाली जनताले उनलाई गरेको मायाका बारेमा बताएँ । त्यसपछि मेरो कम्प्युटरको पर्दामा झुलुक्क एक शब्द देखियो- 'या या ।' मिहिनेत खेर गएन भन्ने भावले मैले लामो स्वास फेरेँ । फेरि मेरो पर्दामा अर्को दुइ शब्द देखिए- 'आई रिमेम्बर ।' अर्थात् मसँग गरेको कुराकानी र पत्रिकाका कुरा उनले सम्झिछन्, ती लामा इमेल र मैले उनका कतिपय कुरा नबुझ्दा उनको व्यक्तिगत वेबसाइट हेर्न गरिएको अनुरोध पनि उनले सम्झिछन् । लौ राम्रै भयो !

"तिमी फूर्सदिली छ्यौ भने यो बताउन सक्छ्यौ- हिजोआज तिमी के गरिरहेकी छ्यौ ?" मैले उनलाई प्रश्न मेरो कम्प्युटरको स्क्रीनमा लेखेँ । त्यो उनलाई 'सेण्ड' गर्नुअघि नै उनको जानकारी आयो- "लामो समय भयो मैले नेपाली गीत गाउन पाइरहेको छैन । बरु सक्छौ भने के तिमीले 'थाहा पाएँ' 'गाइज्'लाई उनीहरुको एल्बम पठाइदिन अनुरोध गर्न सक्छौ !"

उनको सूचना देख्ने बित्तिकै मैले उनले गाएको पछिल्लो आधुनिक गीति एल्बम 'थाहा पाएँ' सम्झिएँ । बुटवलका सङ्गीत पारखी थापा वसन्तले हालै मात्र यो एल्बमको सीडी बजारमा ल्याएका थिए । उनी सङ्गीतप्रति कति हुरुक्क थिए भने बुटवलमा हालै सम्पन्न प्रशान्त तामाङको कर्न्र्सट उनैले आयोजन गरेका थिए । त्यसका लागि उनले प्रशान्तलाई मात्र ३ लाख भारु तिरेका थिए । यो कर्न्र्सट सम्पन्न गर्न माओवादी वाईसीएलले समेत सघाएको थियो रे ! कार्यक्रममा क्रान्ति आले र राजेशपायल राईले पूरै कर्न्र्सट थर्काए रे ! अखबारमा पढ्न पाएको कुरा सम्झिएँ ।

"अँ थापा वसन्तसँग अब केही दिनमा भेट हुन्छ होला, म यो कुरा उनीसमक्ष पुर्‍याइदिउँला र तिमीले एल्बम पाउन सकौली !" मैले यताबाट म्यासेज पठाइदिएँ । साथमा मैले के पनि थपेँ भने- "तिमी र राजेशपायलले संयुक्त गाएको शीर्षक गीत ज्यादै मीठो छ । यस्तै गीत गाऊ है !" उनले उताबाट मुस्कानको चिह्न पठाइदिइन् । उनको मुस्कानको जवाफ मैले पनि मुस्कानका साथ नै फर्काइदिएँ ।

"अँ साँची", सञ्जीवनीको भनाइ पर्दामा झुलुक्क आयो । मैले चासो दिएर केहीबेर कुरेँ । उनले उता टाइप गर्दै थिइन्, त्यो कुराको सूचना याहूले 'सञ्जीवनी इज टाइपिङ' सूचित गराइरहेको थियो र झुलुक्क एक मुष्ठ सूचना आइपुग्यो । उनले लेखेकी थिइन्- "मलाई साहारा वन टीभीमा शनिबार नौ बजे हेर्न नबिर्सनु ! झूम इण्डिया कार्यक्रममा म सहभागी भएकी छु । मेरो पार्टनर शेखर सुमन रहेका छन् ।"

यो कुराले मलाई उत्तेजित गरायो । हुन त मैले झूम इण्डियाको प्रथम एपिसोड हेरेको थिएँ । जहाँ इण्डियन आइडोल २ का राहुल वैद्य र अर्की एक महिला कार्यक्रम प्रस्तोता थिए । राहुलले 'ठीकै' बोलिरहेका थिए तर केटी थिई पक्का प्रस्तोता । अनि, मुख्य निर्णायक बनेर आएका थिए- जमानाका प्रख्यात सङ्गीतकार 'कल्याणजी-आनन्दजी' मध्येका कल्याणजी । उनलाई नामको अन्त्यमा 'भाइ' पनि भनेर थपिरहन्थे प्रस्तोताद्वय । त्यसपछि अर्का निर्णायक आइपुगे परिचय गराउने क्रममा- महेश भट्ट । उनी बेलाबेलामा जिउ कन्याउन कुख्यात थिए र त्यहाँ पनि जिउ कन्याउन थालिहालेका थिए । अर्की व्यक्तित्व निर्णायकमा थपिइन्, जो मेरो लागि पनि महत्वपूर्ण थिइन्- शबाना आजमी । आजमीले दिएका प्रतिक्रिया उनका लोग्ने जावेद अख्तरको जस्तै तिखा थिए । 'ओभर अल'मा यो एउटा ठीकठाक कार्यक्रम थियो तर सञ्जीवनीले भनेझैँ प्रथम शृङ्खलामा उनी देखिएकी थिइनन् न त शेखर सुमन नै मैले पाएको थिएँ । यो शृङ्खला हेरेको दुइ सातापछि एक्कासि सञ्जीवनीले आफू त्यहाँ भएको बताएपछि म छक्क पर्नु स्वाभाविक थियो तर आफूलाई सामान्य बनाउँदै मैले भनेँ- "यो निकै राम्रो 'कन्सेप्ट'वाला कार्यक्रम लाग्यो मलाई । तिमी त्यहाँ गइछौ, ल बधाई छ ! सबैभन्दा 'बेस्ट' गरेर देखाउनु पर्छ, है !"

उनले उताबाट मुस्कान पठाइन् फेरि । तर के कुरामा मलाई उनी चित्त बुझ्यो भने, उनले यति छोटो भेटघाटमा आफ्नो प्रचार गर्न भने छाडिनन् । भनिन्- "कार्यक्रम हेरिसकेपछि हामीलाई एसएमएस गर्न नबिर्सनु नि ! हामीलाई बचाउने कोड छ- जेआई ण्ठ अनि छढण्ढण् मा एसएमएस गरेर पठाउनु है !!"

सञ्जीवनीले यति गम्भीरताका साथ भनिसकेपछि तिम्रो देशमा यहाँबाट एसएमएस गर्न मिल्दैन भन्न मन लागेन । खासमा म उनलाई खिस्स बूढी हरिया दाँत बनाउन चाहन्न थिएँ । त्यसैले उनको 'स्पीरिट हाइ' राखिरहन मैले भनिदिएँ- "अरे म गरिहाल्छु नि ! तिमी त मेरो फेवरेट व्यक्ति हौ । म कसरी यसलाई हातबाट उम्कन दिउँला !" यो जवाफ उनको पर्दामा झुल्किएपछि मेरो पर्दामा एउटा वाक्य देखियो- सञ्जीवनी इट टाइपिङ । यता झुलुक्क मुस्कानको चिह्न देखापर्‍यो, त्यो चिह्नसँग मेरो ओठमा पनि मुस्कान दौडियो । उनलाई त्यही मुस्कान फिर्ता पठाइदिएँ ।

"म ज्यादै बिजी छु यस समय । म तिमीसँग सम्पर्कमा रहिरहने छु । बरु भोट गर्न नबिर्स नि !" उसको पछिल्लो आग्रह थियो र उसले थपि- "अहिले म त्यहाँ रिहर्सलका लागि जान लागेकी । मिहिनेत त गर्नु पर्‍यो नि होइन !!" सञ्जीवनी व्यस्त थिई कि थिइनन्- मलाई के थाहा ? म यहाँबाट देख्न सक्तिनँ । तर पनि उसले आफू 'साइन आउट' हुनका लागि उपयुक्त रुपमा मलाई कारण दिएर छुट्टिइन् । म उनसँग रिसाउन पाइनँ किनभने जायज कारणका लागि ऊ 'साइन आउट' भइरहेकी थिईन् । मलाई यसमा दुःख लागेन । तर छोटै सही ऊसँग कुराकानी भयो र उससँग राम्रै कुराकानी भयो । यसमा चाहिँ मलाई खुशी लाग्यो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
विचार पेज थ्री रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान तातोपीरो गायिका प्रेम र विवाह रुचि कन्सर्ट सङ्गीतकार नेपाली तारा उपलब्धि हल्ला भिडन्त गीतकार ट्रयाक बाहिर गायक समुद्रपार
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting,