Home» City Life »Updates

पूरा हुन्छन् सपना, देख्ने साहस गर्नुपर्छ


- अच्युत कोइराला

शहरमा अहिले एउटा रेडियोको खूप चर्चा छ । धेरैले भनिरहेका छन्, त्यस्मै छ मजा । त्यसैले त स्थापनाको केही महिनामा नै यो रेडियोको चर्चा एक कान, दुइ कान, मैदान बनेको छ ! अझै पनि बुझ्नु भएन ? लौ ! म त रेडियो अडियोको कुरा गर्दैछु, जुन काठमाडौँको १०६.३ मेघाहर्जमा दैनिक १८ घण्टा प्रसारित भइरहेको छ ।

यो रेडियो सुनिसक्नु भएको छ भने यो हास्य रेडियोका बारेमा जिज्ञासा हुनसक्छ । अथवा यो रेडियो नसुन्नेहरुलाई जिज्ञासा हुनसक्छ, किन त यसको यति बिघ्न चर्चा ?

यो रेडियो अन्य रेडियोभन्दा अलि फरक रुपमा प्रस्तुत हुँदै आएको छ । हरेक कार्यक्रममा हास्य व्यङ्य बोलिरहेको हुन्छ । विज्ञापनसमेत धनिया र रामबिलास वा विजुली र का बेमान अथवा लाहुरेदाइका लवजमा बज्छन् । विज्ञापन सुन्दै हाँस उठ्ता छन् । त्यसैले त कतिपयले कार्यक्रम सुन्नु भन्दा पनि विज्ञापन सुन्न मन लाग्छ भन्छन् ।

गएको भदौ १२ गतेदेखि टेष्ट ट्रान्समिशन र असोज १ गतेदेखि नियमित प्रसारण शुरु भएको यो रेडियो अडियो कमेडी च्यानलका रुपमा स्थापित भइसकेको छ । त्यसैले त यो च्यानलले गएको मंसीरमा हरिवंश आचार्यको 'बर्थ डे' सेलिब्रेशन गर्‍यो । १८ घण्टाको पूरा कार्यक्रम आचार्यमा समर्पित गरियो र अझै पनि ख्यातिप्राप्त कमेडियनहरुको बर्थ डे यसरी नै चलाउने लक्ष्य राखिएको छ । यस्तो कमेडी च्यानललाई पूर्णता दिन मनोज गजुरेल, दीपाश्री निरौला, जितु नेपाल, गोपाल नेपाल फिस्टे, का बेमान, बिजुली, श्रीप्रसाद थापा 'लाहुरेदाइ' आदि प्रख्यात कलाकारहरु यहाँ काम गरिरहेका छन् । अरु त अरु यस रेडियोको नियम के छ भने यहाँ निराशावादी गीत बजाउन पाइदैन । त्यसैले त नारायणगोपालका समेत कतिपय गीत बज्दैनन् ! त्यसैले होला कतिपय अवस्थामा त प्रत्येक ४० सेकेण्डमा फोन गर्ने 'फ्यान'हरुको कमी छैन ।

अब तपाइँलाई पक्कै लाग्ला, यस्तो 'आइडिया' झिक्ने रेडियो सञ्चालक चाहिँ कस्तो होला ? यी पहिले रेडियो सगरमाथामा काम गर्थे । त्यसपछि कम्युनिकेशन कर्नरमा जागीरे पनि भए । कम्युनिकेशनमा काम गर्दै जाँदा यिनलाई देशमै एउटा कमेडी च्यानल टड्कारो महसूस भयो । तर अरुकोमा जागीर खाँदा च्यानल खोल्न पाइन्छ ? भन्ने नैतिक प्रश्नले उनलाई निकै गाँज्यो । तर उनले सपना पूरा गरिछाडे । यी हुन्, दीपेन्द्र खनियाँ । उनलाई देख्दा यस्तो लाग्छ, सपना देख्ने साहस मात्र गर्नुपर्छ, त्यो पूरा हुन्छ- इमान्दार प्रयास भयो भने ।

आफ्नो आर्थिक ल्याकतले नभ्याउने भएपछि अहिले उनले नयाँ बिजनेस पार्टनर थपेका छन् । आप्रवासी नेपाली बद्रीप्रसाद पाण्डेले उनको यो 'कन्सेप्ट' मन पराएपछि अहिले रेडियो अडियोलाई सफलताको सगरमाथामा पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेका छन्, खनियाँ । आउनुहोस्, उनका बारेमा केही जिज्ञासा मेटौँ-

तपाइँलाई यस्तो रेडियो खोल्न के कुराले प्रेरित गर्‍यो ?
म सामुदायिक रेडियोमा हुर्किएँ । मैले राम्रा अग्रजहरुको साथ पाएँ । मिहिनेत गर्ने वातावरण पाएँ । तर पनि मेरो आफ्ना केही सपना थिए । ती सामुदायिक रेडियोमा पूरा हुन सक्थेनन् । केही आइडियाहरु फुर्थे, तिनलाई कार्यान्वयन गर्ने वातावरण चाहिँ थिएन । सामुदायिकताका आफ्नै सीमितता थिए । त्यसैले आफ्नो सपना पूरा गर्न मैले कमेडी च्यानल खोलेँ ।

रेडियोतिर कसरी आकषिर्त हुनुभयो ?
म पहिलेदेखि नै रेडियोको फ्यान थिएँ । रेडियोमा बोल्ने मान्छेहरु भगवान जत्तिकै महान् लाग्थे । रेडियो नेपालको प्राङ्गणमा कार्यक्रम प्रस्तोतालाई नै हेर्न भनेर पनि उतिबेला गइन्थ्यो । कार्यक्रमको फ्यान क्लब बनाएर रक्तदान कार्यक्रम समेत गरियो । मेरो पहिला पत्रिका पसल थियो । त्यो पत्रिका पसलमा केही पत्रकार दाइहरु पत्रिका लिन, पढ्न आउनु हुन्थ्यो । राजन शर्मा दाइ जो अहिले च्यानल नेपालमा हुनुहुन्छ, उहाँलाई मैले जिस्किएर रेडियोमा काम गर्नुपर्‍यो भनेँ, उहाँले रेडियो सगरमाथाका स्टेशन म्यानेजर घमराज लुइटेलसँग चिनजान गराइदिनु भयो । मैले भोलेन्टियर काम गर्न थालेँ । न्यूज लेख्न थालेँ, बज्न थाल्यो । म हौसिएँ । समाचार प्रतिको आकर्षण कस्तो थियो भने मैले पसलबाट पैसा चोरेर ३५ सय रुपियाँको रेकर्डर पनि किनेँ । मतलब, रेडियोमा काम गर्न पाए हुन्थ्यो भन्ने त्यत्रो इच्छा थियो ।

तपाइँको आवाज त रेडियोको आवाज होइन नि, मतलब उति राम्रो भ्वाइस त होइन नि, होइन ?
सही भन्नु भयो । रेडियो सगरमाथामा पछि तरकारीको भाउसमेत प्रसारण गर्ने भएपछि मेरो जिम्मेवारीमा पर्‍यो त्यो काम । बिहान-बिहान ४ बजे उठ्थेँ, दरभाउ टिप्थेँ र ७ बजे कार्यक्रममा प्रसारण गर्थेँ । एक पटक रेडियो सगरमाथामा सञ्चालक समितिको बैठक थियो । बैठकमा धेरै कुरा उठे, तीमध्ये पनि मेरो स्वरको पनि कुरा उठ्यो । मैले ज्यादै सम्मान गर्ने व्यक्ति केदार शर्मा जो सञ्चालक समितिको उपाध्यक्ष पनि हुनुहुन्थ्यो, उहाँले मलाई त चिन्नु हुन्नथ्यो, भन्नुभयो- 'तरकारीको भाउ भन्ने को हुनुहुन्छ, प्लीज, प्लीज उहाँले भोलिदेखि नै भन्न छाडिदिनुहोस् । यो भ्वाइस यति इरिटेटिङ छ कि मैले त्यही भ्वाइसका कारण रेडियो सगरमाथा नै सुन्दिनँ ।'
यो भनाइले मेरो अनुहार रातोपीरो भयो । साथीहरुले मलाई पुलुक्क हेरे । मलाई मर्नु भयो । तर यो टिप्पणीले मलाई आफ्नो कामका बारेमा पुनर्विचार गर्नुपर्ने समय दियो । स्वरलाई निखार्न मैले भ्वाइस थेरापी गरेँ । निराशालाई सधैँ आशाले जित्थ्यो । त्यसैले पनि अरुले जतिसुकै कुरा काटे पनि म कहिल्यै पछाडि फर्केर हेर्दिनँ । मलाई ती कुराले छुदैनन् ।

निकै कुरा काट्छन् कि क्या हो ?
एउटा वर्ग छ, जो अरुको कुरा काट्नमा मजा मान्छ । मैले यो रेडियो खोलेपछि कोही एनआरएनलाई मूर्गा बनायो भन्नेहरु पनि देखिए । कसैले यो फूच्चेले के गरिखाला भने । अनि केहीले के भने, कोहीले के । यो भन्ने सिलसिला तपाइँले सिर्जनात्मक काम गरुञ्जेल र सफल नहुञ्जेलसम्म जारी रहन्छ ।

रेडियोमा महत्वपूर्ण दिन कतिखेर आयो ?
त्यो चाहिँ २०५६ बैशाखमा । किनभने मैले लगभग एक वर्ष एक पैसा पनि नपाई काम गरेँ । मैले धेरै थोक जानेँ, सिकेँ । त्यसपछि मलाई के लाग्यो भने सधैँ भोलेन्टियर गरेर मात्र हुँदैन । त्यसपछि मैले बैशाखदेखि नआउने निर्णय गरेको थिएँ । तर त्यतिबेलै पत्रकारहरुलाई नियुक्तिपत्र दिइयो ।

त्यतिबेलाको कुनै रोचक क्षण ?
के भयो भने फलाना फलानालाई नियुक्त गरियो र मासिक तलब यति भनेर तोकियो । तर मेरा केही साथी र मेरो त नाम नै उल्लेख थिएन । पछि प्रशासनमा मलाई बोलाइयो । तपाइँको नियुक्ति त छ तर पूरा समय दिन सक्नु हुन्छ कि हुन्न भनेर प्रश्न गरियो । म त रेडियोका लागि नै जन्मिएको थिएँ । मलाई त्यो दिन जति खुशी धेरैपछि रेडियो अडियोको लाइसेन्स लिँदा मात्र भएको थियो ।

अहिले सम्झँदा सगरमाथामा के राम्रो काम गरेँ जस्तो लाग्छ ?
त्यहाँ मैले आफ्नै कन्सेप्टमा तीन कुरा बनाएँ । हरेक दिन तीन वटा कुराहरु प्रसारण हुन्थ्यो । त्यसमा साहित्य, सिनेमा, सङ्गीतलगायत सामाजिक अन्य धेरै कुरा समावेश गरिन्थे । पाठकका प्रतिक्रियासमेत संलग्न हुन्थे । पाठकका प्रतिक्रिया नआएका दिन हामीले पाठक पत्र आएन, त्यसैले पाठकपत्रको साटो गीत सुन्नुस् भनेर इमान्दारिताका साथ भन्थ्यौँ । यो इमान्दारिताले नै होला, कार्यक्रम यति हिट भयो कि सबै अग्रज व्यक्तित्वहरुले कम्प्लिमेन्ट दिनुहुन्थ्यो ।

पछि तपाइँ कम्युनिकेशन कर्नर नामक अर्को संस्थामा जानुभयो, किन ?
पछि कस्तो भयो भने म सानै उमेरमा त्यहाँको छोटे हर्ताकर्ता बनेँ । हुन पनि म बिहान ९ बजेदेखि बेलुकी ११ बजेसम्म हुन्थेँ । कामप्रतिको लगावले नै होला, सबैले ममाथि विश्वास गर्नुहुन्थ्यो । स्टेशन म्यानेजर घमराज लुईटेल सरले त कतिसम्म भन्नुहुन्थ्यो भने कहिलेकाहीँ कार्यक्रम रिपिट पठाउँदा पनि फरक पर्दैन । तर मनले मान्दैनथ्यो । र, एक समय मलाई चेक एण्ड ब्यालेन्स गर्ने व्यक्ति नै कोही भएन । यसले गर्दा यति सानै उमेरमै मेरो करियर बर्बाद हुने भयो भनेर केही सिक्नका लागि कम्युनिकेशन कर्नर गएको थिएँ । त्यहाँको प्रस्ताव ज्यादै आकर्षक पनि थियो र गोपाल दाइसँग पनि सिक्नु पर्ने धेरै कुरा भएकाले म त्यहाँ गएको थिएँ ।

पछि आफैँले रेडियो खोल्ने विचार गर्नुभयो, किन ?
मेरो एक जना साथी हुनुहुन्थ्यो, सँगै काम गर्दथ्यौँ । सशिन्द्र गौतम । उहाँले दामन (हेटौँडा नजिक रमणीय स्थल) मा प्रतिध्वनि एफएमको लागि लाइसेन्स लिनुभयो । मलाई त्यसपछि दुइ वर्षसम्म निद्रा लागेन । मैले पनि त्यस्तै केही गर्नुपर्छ भन्ने मलाई लागिरह्यो । तर के गर्नुपर्छ भन्ने सोच स्पष्ट थिएन । तर विस्तारै योजना बन्दै गए र आज रेडियो यो स्वरुपमा आयो ।

तपाइँ त कम्युनिकेशनमा काम गर्दागर्दै त्यस्तै प्रतिस्पर्धी जन्माइरहनु भएको थियो, गाह्रो लागेन ?
गाह्रोको कुरा नगर्नुस्, धेरै पटक मलाई अपराधबोध समेत भयो । गोपालदाइलाई कसरी भनुँ भन्ने कुरा सोच्न पनि सकेको थिइनँ । जब मसँग लाइसेन्स हात पर्‍यो, मैले उहाँलाई यो कुरा सुनाउने निर्णय गरेँ । तर मैले उहाँलाई भन्नै सकिनँ । मेरा हातगोडा लुगलुग कामिरहेका थिए, मेरो ओठ लर्बराइरहेको थियो । मैले सोचेको थिएँ, मैले रेडियो दर्ता गरेको थाहा पाएपछि उहाँ रिसाउनु हुनेछ, गाली गर्नु हुनेछ.... तर केही भएन । उहाँले हाँसेर भन्नुभयो, "तिमीले मलाई पहिल्यै भनेको भए धेरै कुरामा हेल्प गर्न सक्थेँ । तर ठीकै छ, आउँदा दिनमा केही पर्‍यो भने मलाई सम्झिनु.... ।' अब तपाइँ आफैँ भन्नुस्, यस्तो भन्न सक्ने व्यक्ति कि त भगवान् नै हुनु पर्छ कि त त्यो व्यक्ति महान् नै हुनु पर्छ ।

तपाइँले त कुनै एनआरएनलाई मुर्गा बनाउनु भयो रे नि ?
सबैले प्रयोग गर्ने शब्द यही हो । तर मैले उहाँलाई फकाएको होइन । मेरो कन्सेप्ट मन पराउनु भएर लगानी गर्नु भएको । हुन पनि म एउटा साधारण व्यक्ति थिएँ, व्यापारी थिइनँ । मसँग कन्सेप्ट थियो, तर पैसा कम थियो । यस्तो अवस्थामा मैले एउटा यस्तो विश्वासिलो व्यक्तिको आवश्यकता थियो, जुन सबै कुरा बद्री (पाण्डे) दाइमा थियो । मिडियामाथिको लगानी बालुवामाथिको पानी भन्ने उहाँलाई पनि थाहा थियो । उहाँले मलाई ठूलो सहयोग गर्नुभयो र आज हामी पार्टनर बन्यौँ । तर उहाँ न त मूर्गा हुनु भएको हो, न त मूर्गा बनाएको हुँ ।

हल्ला नगरी चर्चा पाइसक्नु भयो नि ?
अँ, जे होस्, श्रोताहरुले मन पराइदिनु भयो, त्यसमा खुशी लागेको छ । अब औपचारिक रुपमै यसको घोषणा गर्ने योजनामा छु । मंसीरको अन्त्यतिर तपाइँले पनि निम्तो पाउनु हुनेछ ।

अन्त्यमा केही... ?
जसले पनि सुन्नु भएको छ र मन पराइदिनु भएको छ, ती सम्पूर्ण श्रोतालाई हार्दिक धन्यवाद र सुन्न नपाउनु भएकाहरुका लागि के गर्ने भन्ने योजना बुनिरहेको छु । आशा गरौँ, भविष्यमा उहाँहरुका लागि मैले केही गर्न सकुँ !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
हल्ला समलिङगी मोबाईल सेलेब्रिटी पेट्रोल awards माओवादी crisis संविधानसभा celebrity अनुभव streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,