Home» Music »Feature

पान्तरी रहिनन्, कोइली बिर्सिइन्नन्

- अच्युत कोइराला

"बूढेशकाल लागेपछि पिलपिले लाग्छ", साहित्यकार नरेन्द्रराज प्रसाइँ एक बिहान यस पंक्तिकारसँग बतियाउँदै थिए । प्रसङ्ग थियो, कोइली दिदीको । हुन पनि कोइली दिदी कुरा गर्न बसिन् भने हरेक पाँच मिनेटमा 'पिलपिल' गर्न थालिहाल्थिन् । उनलाई समाज, सङ्गीत र सरोकारवालाहरुले दिएको पीडा थियो, जसका कारण सम्झिल्याउँदा उनको चित्त फाटेर आउँथ्यो । अनि, उनलाई मतलब लाग्दैनथ्यो, कसका अघिल्तिर उनी भक्कानो फुटाउँदैछु ।

शायद यही कारणले पनि होला, पछिल्ला समयमा उनलाई भेट्ने मानिसहरुको संख्या पातलिँदै गइरहेको थियो । उनी दिउँसोसम्म पूजापाठमा मन बहलाउँथिन्, दिउँसो अबेरसम्म घाम ताप्थिन् खानापछि । अनि साँझ नढल्दै ओछ्यान तताउन पुग्थिन् ।

उनले चित्त पनि किन नदुखाऊन् त ! जुन संस्थामा उनले आफ्नो रगत पसिना एक गरिन्, रेडियो नेपाल, उनको मुटुमा पेसमेकर राख्न अलिकति पनि सहयोग गरेन । जबकि उनले गिड्गिडाइरहेकी थिइन्, मोहनगोपाल खेतानले पुरस्कार दिन्छन्, त्यही पुरस्कारको राशी पछि तिमीहरुलाई लौटाउँला ! तर रेडियो नेपाल चूप !

तर पेसमेकर राखेपछि उनी यताउति दौडिन थालिन् । उनलाई पुरस्कार दिने र दिलाउने होड चल्यो । कुनै पाँच हजारका, कुनै १० हजारका । रेडियोबाट आउने पाँच हजार रुपियाँको पेन्सन र बेलाबखतमा उनले पाउने पुरस्कार नै उनको जीवन चलाउने मेसो बनेको थियो । कति पटक त आफूले पाएको पुरस्कार बीच बाटोमा नै सिध्याउने गर्थिन् । उनी बस्ने जैसीदेवलको घरकी बुहारीले एक पटक मसँग गुनासो गर्थिन्- "उहाँले आधा पैसा बीच बाटोमा नै केटाकेटीहरुलाई के के जाति खुवाएर सक्नु हुन्थ्यो अनि घर आउँदा आधा पैसा ! कहिलेकाहीँ हामीलाई ज्यादै गाह्रो ! केही पत्रकारहरुले त कोइलीदेवीको पैसा खाइदिए भनेर समेत लेखिदिए !"

कोइलीदेवीलाई अरुसँग बस्नु पर्दा शायद केही अप्ठेरो थियो, भन्थिन्- "मर्ने बेलामा म आफ्नै घर र्सन चाहन्छु । मेरा यी सप्पै प्रमाणपत्रको बेहाल हुन्छ होला मेरो शेषपछि !" उनी बीचबीचमा यस्तो भन्थिन्- "मैले पाएका प्रमाणपत्रहरुको पर्खाल बनाउने हो भने त इँटा पनि चाहिँदैन होला !" त्यसपछि उनी बेपत्ताको हाँसो हास्थिन्...हि...ही..ही... ।

तर मैले कोइली दिदीसँगको सबैभन्दा भावुक क्षण त्यो बेला देखेको छु, जतिबेला तारादेवी र कोइलीदेवीको भेट जुरेको थियो । यी दुइ देवीलाई २०६२ साल बैशाख १ गते म्युजिक नेपालले तारादेवीका दुइ गीति एल्बमलाई एकसाथ रिलिज गर्ने कार्यक्रम राखेको थियो । तारादेवीको घरकै प्राङ्गणमा सङ्गीतका केही मूर्धन्य व्यक्तिहरु निम्तालु थिए । छुट्टिका दिन भएकाले केही सीमित व्यक्तिहरु मात्र आइपुगेका थिए ।

त्यो दिन यी दुइ देवीहरु एकअर्कालाई अँगालो हालेर निकैबेरसम्म रोए । तारादेवीका अस्पष्ट आवाज थिए तर कोइलीका स्पष्ट । कोइलीले एक साथ आफ्ना र उनका मित्रताका पलहरु सम्झिइन् र आफैँ आँशु पुछ्न थालिन्, "हेर तिमी त कस्ती भइछौ ! कत्ति भेट्न मन लागिर'न्थ्यो, खोई कसैले ल्याइदिँदैनथ्यो । आज भेट भयो !" अनि दुवै अंगालो मारेर केही बेर रोएका थिए । "अब त मै मात्र बाँकी रहन्छु होला", तारादेवीको स्वास्थ्य स्थिति देखेर उनले भनेकी थिइन्- "तिमीले र मैले साह्रै दुःख पायौँ तारा !"

क्यासेट विमोचन पूरै स्तब्ध थियो, यी दुइ देवीको रोदनले । धेरैका गला अवरुद्ध भएका थिए । पछि मैले यही घटनालाई विमोचन कार्यक्रमको समाचार बनाएर छापेको थिएँ, 'आहा सङ्गीत' पत्रिकामा !

यस्तै केही छोटा संस्मरण कोइलीदेवीसँगका मसँग गाँसिएका छन् । त्यो पनि "आहा सङ्गीत पत्रिका" निकाल्दाताका । अब ती फगत संस्मरणमा सीमित रहे । आफ्ना बुवाले राखिदिएको नाम 'पानतारी' भन्दा सिंहशमशेरले उनको स्वरबाट प्रभावित भएर राखिदिएको नाम 'कोइलीदेवी' नै चिरकालसम्म लोकप्रिय रह्यो । अब अझै कैयौँ वर्ष नेपाली सङ्गीतले उनलाई सम्झिरहनेछ । सम्झिने बहाना पनि देहान्त हुनुअघि बनेको छ, कोइलीदेवी सङ्गीत पुरस्कार स्थापना भएर !

मान्छेको जीवन त्यै हो, शरीर मरे पनि आत्मा बाँचिरहन्छ । पान्तरी रुपी उनले देह त्यागे पनि कोइलीदेवीको आत्मा नेपाली सङ्गीतमा चिरकालसम्म रहिरहने छ ।

Related Article:
कोइलीको जीवनगाथा

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
गायिका रिलिज लुकेका कुरा क्या बात ! प्रेम र विवाह कीर्तिमान तातोपीरो रुचि सङ्गीतकार कन्सर्ट नेपाली तारा उपलब्धि गायक हल्ला गीतकार विचार भिडन्त पेज थ्री बजारमा ट्रयाक बाहिर
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,