Home» Cinema »Feature

निर्देशक हराएको सूचना

- डा. प्रदीप भट्टराई


नेपाली चलचित्रले हाम्रै भुइँमा पनि चार दशक लामो यात्रा तय गरिसक्यो । तर यतिको लामो यात्रा तय गर्दा पनि नेपाली चलचित्रले आफ्नो पृथक् पहिचान भने बनाउन सकेको छैन । चलचित्रको बुनोट, बनोट र प्रस्तुतिले बन्ने भाषा नबनेसम्म हामी नेपाली चलचित्रलाई विश्व मानचित्रमा पृथक् पहिचानका साथ आफ्नो स्थान सुरक्षित गर्न सक्ने स्थितिमा हुन्नौँ । अपवाददाई छाडेर अहिले हामीसँग भारतीय चलचित्रको भाषामा बनिरहेका चलचित्रहरु मात्र छन्, अपवादहरु पनि भारतीय चलचित्रको छायाँबाट पूर्णतः मुक्त छैनन् ।

चलचित्र निर्देशकको अभिव्यक्तिको माध्यम हो । जसरी एउटा कविले कुनै पनि विषयवस्तुलाई कविताम प्रस्तुत गर्छ, त्यसरी नै निर्देशकले कुनै पनि विषयवस्तुलाई चलचित्रको माध्यमबाट आफ्नो अभिव्यक्ति दिन्छ । यसरी हेर्दा एउटा कविका लागि कविता र एउटा निर्देशकका लागि चलचित्रले उही मानक र अर्थ राख्छ । फरक यत्ति हो, अक्षरको औजार चलाएर कविले कविता सिर्जना गर्छ भने चलचित्र निर्देशकले चरित्रहरु उभ्याएर तिनै चरित्रहरु मार्फत् आफ्नो अभिव्यक्ति दिनुपर्ने हुन्छ । कविका लागि कलम र कागज जे माने राख्छन्, निर्देशकका लागि क्यामेरा र फर्म्याटले त्यही माने राख्छन् । यसरी हेर्दा, हामी सहज रुपमा एउटा निष्कर्षमा पुग्न सक्छौँ, चलचित्र निर्देशककै अभिव्यक्तिको माध्यम हो ।

तर, नेपाली चलचित्रको सर्न्दर्भमा चलचित्र निर्देशकको माध्यम हुन सकेको छ त ? भन्नलाई त भन्नैपर्छ, तर अपवादलाई छाडेर त्यसो हुन सकेको छैन । कारण पहिलो त हाम्रो चलचित्रको सूत्र नै यस्तो छ, जहाँ पाँच वटा गीतका लागि नृत्य निर्देशक र पाँच वटा फाइटका लागि द्वन्द्व निर्देशकको भर्ती गरिन्छ र उनीहरुलाई चलचित्रका मोडहरुको अभिभारा बोकाएर निर्देशक आफूलाई हलुका महसूस गर्छ । यो त सहमतिको अभिभारा भयो, यसबाहेक अन्य विभागहरुको जिम्मेवारी पनि नेपाली चलचित्रका निर्देशकहरु सहजै लिन हिच्किचाउँछन् । जस्तो कि, अहिले पनि चलचित्रको असफलताको मूल कारण पटकथा नै हो भनेर पटकथाकारलाई सबै दोष बोकाउने गरिन्छ । दृश्य राम्रो भएन भने क्यामेराम्यान नै छैनन् भन्यो, दोष उतै पन्छायो । दृश्य र ध्वनिको मिश्रण राम्रो भएन भने सम्पादकलाई दोष बोकायो अनि चलचित्रको स्तरका लागि फर्म्याट र बजेटलाई । चलचित्रका विभिन्न विभागका प्राविधिकहरुलाई असफलताको दोष बोकाएर निर्देशकहरु यहाँ चोखिने यत्न गर्छन् । वास्तवमा यो एउटा गम्भीर अपराध हो ।

समस्या कहाँ छ त ? समस्या हामी आफैँमा छ । त्यो के भने हामीसँग नेपाली चलचित्रलाई पृथक् मानकमा उभ्याउने क्षमता भएका निर्देशक नै छैनन् । भन्दा र सुन्दा अप्रिय लाग्ला, हामीसँग पढेका कम र परेका धेरै निर्देशक छन् । परेकाहरुका गुरुबाबुहरु पनि परेका नै छन् । अहिले नेपाली चलचित्र तेस्रो पुस्तासम्म परेका निर्देशकहरुको भरमा चलेको छ । निर्देशन आफैँमा विज्ञानमा आधारित एउटा सिद्धान्त हो । त्यसैले भौतिक विज्ञान विषय लिएर दुइ वर्ष उच्च शिक्षा लिएका विद्यार्थीहरु मात्र यो विषय पढ्न योग्य मानिन्छन् । तर हामीसँग कक्षा १० को विज्ञान पनि गाह्रो मान्दै एसएलसी पास गरेका र त्योभन्दा माथिको शिक्षामा विज्ञानको मुख पनि नदेखेका निर्देशकहरुको बाहुल्यता छ । यस्तो स्थितिमा हामीलाई चलचित्र निर्देशकहरुको माध्यम हो भनेर ढुक्कसँग भन्न गाह्रो हुन्छ । यो त परेका निर्देशकहरुको कुरा भयो, पढेका निर्देशकहरुको कुरा पनि योभन्दा खासै भिन्दै छैन । पहिला त हामीसँग अन्तर्राष्ट्रिय मान्यताप्राप्त फिल्म इन्स्टिच्यूटबाट स्नातक गरेर आएका निर्देशकहरु हातको औँलामा गन्न सकिन्छन्, त्यसमा पनि लक्ष्मीनाथ शर्मालाई छोडेर अरु कोही पनि चलचित्र क्षेत्रमै छैनन् । अर्को कुरा चलचित्र प्रविधि र प्रस्तुति दुवै हिसाबले अत्यन्त गतिशील विज्ञान हो, तर हामीसँग पढेका निर्देशकहरु पनि ८० को दशकभन्दा पछिका छैनन् । तर, त्यसपछि चलचित्रको प्रविधि र प्रस्तुति भने आकाश-जमिनको फरक आइसक्यो । यसरी हेर्दा हामीसँग पढेका निर्देशकहरु छन्, भन्नु पनि छैनन् भन्नु बराबरै छ ।

चलचित्रमा के चल्छ र को चल्छ भन्नु पनि गाह्रो छ । चलेका निर्देशकहरु तुलसी घिमिरे, शिव रेग्मी र दयाराम दाहाल पनि पछिल्लो समय चलेका छैनन् । नारायण पुरी औसत र त्यो भन्दा माथि रहेर टिकेका छन् । दीपक श्रेष्ठ अहिले पनि चल्ने परीक्षा दिइरहेकै अवस्थामा छन् । धड्कन चले पनि निर्देशक नरेश पौड्यालले आफूलाई अब्बल दर्जाको निर्देशक पुष्टी गर्न अझै अर्को एउटा चल्ने चलचित्र दिनु पर्छ । पछिल्लो समय निखिल र रेखाले इनिसियल स्र्टार्ट दिने गरेका छन् भने त्यसपछि त गिमिकै चलेको छ । पापी मान्छेमा जनावर, हिम्मतमा बञ्जी जम्प, धड्कनमा वसन्त श्रेष्ठको उत्तर आधुनिक कोरियोग्राफी, चलेका यिनै हुन् । यसरी हेर्दा निर्देशकभन्दा पनि गिमिक चल्ने भएको छ । गिमिक चलेको भरमा निर्देशक चले भन्ने निष्कर्ष निकाल्नु पनि अलि हतार नै हुन्छ ।

भनिदैछ, नेपाली चलचित्रको पछिल्लो व्यापारिक तश्वीर सुन्दर छैन । द्वन्द्वका कारण नै यसो भएको हो । पहिलो भनाइ ठीक भए पनि दोस्रो भनाइ पूरापूर ठीक होइन । द्वन्द्वले चलचित्र व्यापारलाई प्रभावित गरेको छ तर त्यही मात्र कारण नेपाली चलचित्रको यो स्थिति बनाउन पर्याप्त होइन । मूलकारण चलचित्रकर्मी आफैँ हुन् । त्यसमा पनि चलचित्र निर्देशकको माध्यम भएको हुँदा यसको सर्वथा दोष नेपाली चलचित्र निर्देशकले नै लिनु पर्छ । जसरी सफल भएको भएर त्यसको श्रेय निर्देशकलाई नै जान्थ्यो ।

चलचित्र उद्योगको समृद्धि दुइ अवस्थामा हुन्छ । पहिलो व्यापार नभए पनि अन्तर्राष्ट्रियस्तरका चलचित्र निर्माण गरी तिनीहरुमार्फत् चलचित्रको आफ्न पृथक् भाषा बनाएर अनि दोस्रो चाहिँ व्यापारिक सफलताबाट । हामीसँग दुवै अवस्था छैन । हामी दोस्रो अवस्थाका लागि नै चिन्तित छौँ तर यसले चलचित्रकर्मीहरुलाई व्यक्तिगत रुपमा भौतिक समृद्धि मात्र दिन्छ, समग्रमा चलचित्र उद्योगको छवि दिन सक्तैन । ल मानौँ, सबै चलचित्र अहिले कै जनशक्ति, तौरतरिका र प्रस्तुतिले चले रे, त्यसबाट के हुन्छ ? पहिलो, यस सफलताले व्यापार हुन्छ । यस्तै चलचित्रले पैसा दिइरहन्छ भने कसले के का लागि अर्को विकल्प खोजिरहन्छ ? दोस्रो यसले नेपाली चलचित्रको आफ्नै भाषा र पहिचानको बाटो रोक्छ । यर्सथ हामीले अहिले व्यापारिक सफलतासँगै नेपाली चलचित्रको पहिचानको पनि खोजी गर्नुपर्ने भएको छ । पहिचानसहितको व्यापारले मात्र उद्योगलाई समृद्ध बनाउने हो ।

मुलुक अहिले एकदशकभन्दा लामो समयको द्वन्द्वबाट मुक्ति पाउने बाटोतिर अग्रसर छ । मुलुकका सबै क्षेत्रलाइ झैँ नेपाली चलचित्रलाई पनि यसले चुनौति र अवसर दुवै अवसर प्रदान गरेको छ । यस्तो अवस्थामा सिनेकर्मीहरुले पनि आफ्नो सोच र कोणमा केही फरक नल्याई सुखै छैन । तर यसको अर्थ सिनेकर्मीहरुले न रातारात आफ्नो कोइली रुपलाई बदलेर मयूर हुनुपर्छ भन्ने हो न परिवर्तनलाई आत्मसात नगरी उल्टो गंगा बगाइरहनु पर्छ भन्ने नै हो । तर दुर्भाग्य अहिले पनि नेपाली चलचित्रले परिवर्तनको रुप पक्षलाई मात्र बुझिरहेजस्तो देखिन्छ । जबसम सार पक्षलाई बुझिदैन, तबसम्म यो बुझाई एकांकी हुन्छ । पछिल्लो समय नेपाली चलचित्रका विषयका हिसाबले बढी आन्दोलनमय भएबाट पनि त्यही पुष्टी हुन्छ ।

नेपाली चलचित्रको भविष्य अहिलेकै चालु तौरतरिका र ढर्राबाट सुनिश्चित गर्न सम्भव छैन । यही स्थिति जारी रहे, हामी मुलुकभित्र त सकिन्छौँ नै, मुलुकबाहिर पनि नेपाली वृत्तचित्रले सेल्युल्वाइड चलचित्रलाई प्रतिस्थापन गरिदिँदा त्यहाँ पनि ठाउँ बाँकी रहँदैन । केही समययता नेपाली वृत्तचित्रमा आएको बहारले आफ्नो भाषा बनाउने स्थिति आइसक्यो र अहिले अन्तर्रराष्ट्रिय क्षेत्रमा नेपाली चलचित्र भनेको वृत्तचित्र या डकुड्रामा भन्ने भान नै परिसक्यो । नेपाली डायस्पोरामा गएर हाम्रा चलचित्र देखाएर हामीले हाम्रो चलचित्रको अन्तर्राष्ट्रियकरण भयो भन्नु मूतको न्यानो मात्रै हो । त्यसरी नेपाली चलचित्रको विश्व बजार र छवि बन्दैन ।

अब प्रश्न उठ्छ, यस्तो अवस्था कसले चिर्ने त ? त्यसका लागि मूलतः निर्देशकहरुले नै पहल गर्नुपर्छ । किन कि चलचित्र अन्ततः निर्देशकै माध्यम हो । मुम्बइया डीभीडीलाई टेक्स्टबुक बनाउँदा त्यसले नेपाली भाषामा भारतीय चलचित्रकै संख्या मात्र बढाउने होइन कि नेपाली चलचित्रको पृथक् पहिचानको बाटो पनि अवरुद्ध हुन्छ ।

नेपाली चलचित्र निर्देशकहरुको चाहना र कर्तव्य के हो ? चलचित्र उत्पादन मात्रै हो या आफ्नोपनको चलचित्र निर्माण पनि हो ? चलचित्र व्यापार मात्रै हो या नेपाली चलचित्रको पृथक पहिचानको निर्माण पनि हो ? मुलुक परिवर्तनको संघारमा उभिएको यतिबेला नेपाली चलचित्र निर्देशकहरुले आफूले आफैँलाई प्रश्न गर्दै उत्तर खोज्नुपर्छ । होइन भने निर्देशकहरुले आफैँ हराएको सूचना जारी गरे हुन्छ अर्थात् नेपाली चलचित्र निर्देशक हराएको सूचना !

(चलचित्र निर्देशक समीक्षक समाजका अध्यक्ष डा. भट्टराई अन्तर्रराष्ट्रिय चलचित्र समीक्षक समाज र न्यूयोर्क चलचित्र समीक्षक समाजका सदस्य पनि हुनुहुन्छ । यो लेख नेपाली चलचित्र निर्देशक समाजको चौथो साधारण सभा २०६३ मंसीर २२ का बेला प्रकाशित स्मारिकामा पहिलो पटक प्रकाशित भएको थियो । समय सान्दर्भिक ठानी यसलाई पुनः प्रकाशित गरिएको छ ।)

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: