Home» Music »Feature

लाइफटाइम अचिभ्मेन्ट भन्दा अरु केही छैन ?
- अच्युत कोइराला

धर्मराज हजुरबाका दिन हिजोआज चकाचक् छन् । एउटा नातिले उनलाई कहिल्यै छाड्दैनन्, हिँड्नु पर्‍यो भने ! नाति लिएर उनी अक्सर कुनै म्युजिक रिलिज, कुनै सम्मान समारोह, कुनै कार्यक्रमको अतिथि बन्नलाई निस्किएका हुन्छन् । ८३ वर्षको उमेरमा जिउ लर्बराउन खोजे पनि, स्वरले बेलाबेलामा बुढ्यौलीको सङ्केत दिए पनि, लठ्ठी अनिवार्य चाहिए पनि, बोलाइएका ठाउँमा उनी सकभर पुग्छन् ।

धर्मराज हजुरबालाई हामी उनका कालजयी रचनाका कारण सम्झिन्छौँ, सम्झिरहनेछौँ । तपाइँले सम्झनु भयो होला, यी हजुरबाको कतै देहान्त भएर यी प्रशंसा पो लेखिएको हो कि ! तर त्यसो होइन । बरु के भने, यी बूढा बालाई शुक्रबार कान्तिपुर एफएमले यस वर्षलाइफटाइम अचिभ्मेन्ट अवार्ड दिएर सम्मानित गरेछ ! यसमा के हानी छ र ! छैन, तर केही समययता बूढा बालाई जीवनभरको उपलब्धिका लागि सम्मान गर्ने कुरामा सबै सहमत देखिएका छन् । केही अघि इमेज च्यानलले पनि बूढा बालाई दोसल्ला ओढाएको थियो, जीवनभरको उपलब्धिपूर्ण काम गरेबापत् !

हिजोआज दिन कस्तो आयो भने कुनै संस्थाले कसैलाई सम्मान गर्‍यो भने त्यही व्यक्तिलाई सम्मान गर्नेहरुको लर्को लाग्छ । मानौँ अरु व्यक्ति नै छैनन् ! उनी एक मात्र विकल्प हुन् र उनलाई दिएन भने संस्थाको लाज, इज्जत ढाकिन्न !

यी हजुरबा धेरै वर्षम्म मिडियाबाट गुमनामीमा बाँचे । नौ-नौ वर्षअघि फलेफुलेका एफएमहरुले म्युजिक अवार्ड गर्दा यिनलाई सम्मान गर्नुपर्छ भन्ने कुरा सोचेका पनि थिएनन् । धन्न, रामचन्द्र काफ्लेले उनको हरियो डाँडामाथि.... रिमिक्स बनाइदिए । यो कुरा बताइरहनु पर्दैन, धर्मराज बाको हरियो डाँडा... रिमिक्स नभइदिएको भए, उनलाई लाइफटाइम एचिभ्मेन्ट अवार्ड निकै पछि मात्र हात पर्ने थियो अथवा उनी जिउँदो हुँदा नपाउने पूरापूर सम्भावना थियो । बरु यो मामिलामा हिट्स् अवार्डलाई धन्यवाद दिनुपर्छ, उसले खोजीखोजी (जतिबेला गीत रिमिक्स भएको थिएन) धर्मराज बालाई २०५४ सालमा नै लाइफटाइम अवार्ड दिएको थियो । जुन कुरा बुझ्न कान्तिपुर एफएम र इमेज च्यानललाई १० वर्षलाग्यो ।

जुनसुकै अवार्डको पनि एउटा ढर्रा छ, त्यसमा बढीभन्दा बढी कलाकारले अवार्ड हात पारुन् भन्ने आयोजकको चाह छ । केही अवार्डहरुले कम्पनीहरुलाई दामासाहीले अवार्ड बाँढ्छन् भन्ने आरोप पनि नलागेको होइन । यी कुरामा केही सत्यता पनि लुकेको छ । तर अवार्ड आयोजकहरु यी कुरालाई सुन्न बिल्कूलै तयार छैनन् । उनीहरु मैले गरेको काम नै सही र ठीक हो भन्ने लागिरहेको छ, जुन उनीहरुकै लागि हानीकारक हुनसक्छ ।

केही आयोजक के कुरामा जोड दिन्छन् भने यो लोकप्रिय अवार्ड हो, क्रिटिक अवार्ड होइन । तर उनीहरुले न त त्यसलाई पूरै लोकप्रिय अवार्डका रुपमा ढाल्न सकेका छन्, र अलि बौद्धिक देखिनका लागि थोरै क्रिटिकहरुलाई पनि शान्त पार्न खोजिरहेका छन् । यही दोधारका कारण पछिल्लो समयमा अवार्डको रौनकता घट्दै गइरहेको आरोप लाग्ने गरेको छ । चाहे त्यो हिट्स अवार्ड होस् या इमेज अवार्ड नै किन नहोस् । यस्तो अवस्थामा हाउसफूल अफर घुसाउँदै सामसुङले कान्तिपुर एफएमको अवार्डलाई प्रायोजन गरेको देखियो । अवार्ड कार्यक्रमको प्रतिस्पर्धामा अर्को दह्रो प्रतिस्पर्धी आफ्नो बेग्लै शैलीको प्रस्तुति लिएर छिरेको महसूस अरुले पनि गरेको हुनुपर्छ । तर कान्तिपुर एफएमले लाइफटाइम एचिभ्मेन्ट अवार्डमा दर्जनौँ पटक सम्मान गरिसकिएका बूढा बालाई निम्त्याउनु भन्दा दीनहीन र दुनियाँको नजरमा नदेखिएका व्यक्तिलाई उजिल्याउने प्रयास गर्नु पर्दथ्यो । उसले तामझाम र अरुको देखासिकी गरेजस्तो महसूस भयो, जब कार्यक्रममा धर्मराज बा विभूषित गरिए ।

रेडियो राष्ट्रको तर सम्मान चाहिँ लगभग राष्ट्रले चिनिसकेकोलाई नै ! अँधेरो कुनामा विना कुनै परिचय सम्भवतः नेपालको पहिलो 'म्युजिक एरेञ्जर' गणेश परियार अझै पनि जीवित छन् । तिनलाई रेडियोले कहिले चिन्छन् ? कहिले उनको भागमा जीवनभर थुप्रै हजार गीतको संयोजन गरेको भनी त्यत्रो ठूलो मासमा उभ्याइएला ? कि उनले पनि लठ्ठी टेकेर स्वरलाई लर्बराउनु पर्ने भो ?

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
विचार अवार्ड रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान गायिका प्रेम र विवाह तातोपीरो रुचि सङ्गीतकार कन्सर्ट नेपाली तारा उपलब्धि गायक हल्ला गीतकार भिडन्त पेज थ्री बजारमा
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,