रोमानियामा पूर्ण हिउँले बनेको इङ्गे फ्लोरिया चर्च यति लोकप्रिय छ कि हरकोही मैनबत्ति लिएर प्रार्थनाका लागि पुग्ने गर्दछ । यस्तो लोकप्रिय चर्चका पादरीहरु चाहिँ बढी भक्तजनहरु आए भनेर टेन्सनमा परेका छन् ।
एनानोभा समाचार संस्थाका अनुसार पूर्ण रुपमा हिउँले बनाइएको यो चर्चमा मैनबत्तिको रापका कारण चर्च नै पग्लिन थालेकाले मैनबत्तिलाई प्रतिबन्ध लगाइएको छ ।
कार्पाथियन माउन्टेन्सस्थित् यो चर्चका व्यवस्थापकहरुले पछिल्लो समयमा यति धेरै बिहे र बप्तिस्माका लागि अनुरोध आउन थालेका छन् कि यति धेरै अनुरोधलाई चर्चले नै थेग्न गाह्रो हुने उनीहरुले बताइरहेका छन् ।
पहिले नै यति धेरै कार्यक्रमहरु यहाँ भएका छन्, जसका कारण चर्चको आन्तरिक सौन्दर्यलाई मैनबत्तिको रापले सिध्याइसकेको छ । लगातार बलिरहने मैनबत्तिका कारण यसको सौन्दर्यमा गिरावट आइरहेकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
२०० वर्गफिटमा निर्मित यो चर्च बेलिया ताल छेउमा निर्माण गरिएको छ । समुद्र सतहभन्दा ६ हजार ६ सय ७३ फिटमाथि रहेको यो चर्चलाई स्थानीय व्यापारी आर्नोल्ड किंगलिजले बनाएका हुन् । उनले छेउमै हिउँले बनेको होटलसमेत बनाएका छन् ।
यता चर्च इङ्गे फ्लोरियाका प्रवक्ताले भने- "हामीकहाँ बप्तिस्मा, बिहे र अन्य धार्मिक कार्यक्रमका लागि यति धेरै प्रार्थना वा अनुरोधहरु आइरहेका छन् कि ती सबैका कारण यसको भविष्य खतरामा पर्न थालेको छ । यस क्षेत्रका लागि ज्यादै नयाँ र अनुपम उपहार भएका कारण यसभित्र धार्मिक क्रियाकलाप गर्नेभन्दा पनि बाहिरबाट हेरेर फर्किने व्यवस्था गर्न नितान्त जरुरी भइसकेको छ ।"