वास्तवमा जहाँ जतासुकै गए पनि नेपालीहरुको मन नेपाली नै हुँदोरहेछ भन्ने उदाहरण दक्षिण कोरियाको सिउलमा देखिएको छ, जहाँ नेपाली गीतसंगीतमा झुम्ने मात्र होइन त्यसको इज्जत गर्नसमेत सिकेको छ ।
फेब्रुअरी ७ का दिन कोरियाको राजधानी सिउलस्थित एक हलमा ईन्डियन आईडल ३ का बिजेता प्रशान्त तामाङको लाईभ कन्सर्ट भब्य रुपमा सम्पन्न भएको छ । सार्क राष्ट्रका सम्पुर्ण राजदूतहरुलाई निमन्त्रणा गरिएको भए पनि कार्यक्रममा नेपाली राजदूत कमल प्रसाद कोईरालाका साथै भारतका राजदूत, पाकिस्तानका राजदूतको उपस्थिति रहेको कोरियाबाट रोशन भट्टराइले इनशाडटकमलाइ जनाएका छन् ।
करीब २ हजार भन्दा बढीको दर्शक संख्या रहेको उक्त कार्यक्रममा प्रशान्त तामाङका साथ ईन्डियन आईडलका अर्की प्रतिष्पर्धी पूजा चटर्जीको पनि सहभागिता रहेको थियो भने नेपाली कलाकारहरुमा पप गायक श्री क्रान्ति आले, मोडल तथा नायिका पूजना प्रधान त्यसैगरि एङकरमा हेम सुवेदी र हङकङबाट आउनु भएकी सुश्री लारा राईको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमको शुरुवात नेपाल कोरिया सांस्कृतिक मञ्च परिवारको नेपाली राष्ट्रिय गीतबाट गरिएको थियो । नेपालका विभिन्न जात जातीका भेष भुषाहरुमा सजिएका कलाकारहरुले जब गीत गाईरहेका थिए त्यहां उपस्थित सम्पुर्ण नेपाली दर्शकहरुको अनुहारमा आफ्नो मातृ भूमिको माया र सम्झना प्रष्ट रुपमा झल्किन्थ्यो ।
कार्यक्रमको मुख्य पात्र प्रशान्त तामाङ असारै महिनामा गीत संगै दर्शक सामू प्रस्तुत भएका थिए भने पूजा चटर्जीले विभिन्न वंगाली र हिन्दी गीत गाएकी थिइन् । त्यसैगरि नेपाली पप गायक क्रान्ति आलेको गीतमा दर्शकहरु त्यतिकै रमिरहेका थिए भने नायिका पूजना प्रधानको बेजोड नृत्यमा उतिकै जोश देखाएका थिए ।
कार्यक्रमको पहिलो चरणदेखि अन्तिमसम्म दर्शकहरुलाई विभिन्न उखान, शायरीबाट मनोरन्जन दिलाईरहेका दुई विशिष्ट एङकरहरु हेम सुवेदी र लारा राईको प्रस्तुती पनि निक्कै उल्लेखनीय रहेको थियो ।
प्रशान्त तामाङ ईन्डियन आईडल भएपछि बिभिन्न टिभी, इन्टरनेट साईटहरुमा हेर्दै आईरहेका दर्शकहरुले यसपालि आफ्नै आंखाअगाडी हेर्न पाए तर प्रशान्तसंगसंगै बसेर फोटो खिच्ने चाहना भने कसैको पूरा हुन सकेन ।
स्टेज पछाडि प्रशान्त तामाङलाई राखिएको कोठाअगाडि थुप्रै ठिटा ठिटीहरु फोटो खिच्नको लागि झुमिएर बसिरहेका थिए तर ४ जना कोरियन सेक्युरिटी बडीगार्ड समेत तैनाथ रहेका कारण उनीहरुको त्यो ईच्छा पुरा हुन सकेन । र, प्रशान्त तामाङको अन्तिम गीत यो मन त नेपाली हो को अन्त्य लगत्तै आयोजक र तीनै बडी गार्डहरुले दौडाउंदै गाडी भित्र हाली होटल पुर्याएका थिए ।
कार्यक्रमको मध्यतिर आयोजक कमिटीद्वारा कोरियाका विभिन्न संघ संस्थाहरुलाई धन्यवाद ज्ञापन स्वरुप कदर पत्र प्रदान गरेको थियो, जसमा नेपाली सम्पर्क समितिका अध्यक्ष ईश्वर केसी, एनआरएन दक्षिण कोरियाका अध्यक्ष गंगाराज राई, नेपाल कोरिया सांस्कृतिक माचका अध्यक्ष प्रेम गुरुङ रहेको थियो । त्यसैगरि दक्षिण कोरियामा धेरै बर्षसम्म नेपाली सम्पर्क समितिमार्फत् नेपालीहरुलाई सहयोग पुर्याएका कारण नेपाली सम्पर्क समितिका निवर्तमान अध्यक्ष बमप्रसाद लावतीलाई पनि कदरपत्रका साथ सम्मान गरिएको थियो ।
त्यसैगरि, नेपाली राजदूत कमलप्रसाद कोईरालाले नेपाल र नेपालीको ईज्जत प्रतिष्ठा बढाएका कारण प्रशान्त तामाङलाई नेपाली ढाका टोपी लगाई दिनु भएको थियो भने कार्यक्रममा अन्य सहभागी सम्पुर्ण कलाकारहरुलाई पनि कदरपत्र दिई सम्मान गर्नु भएको थियो । साथै दक्षिण कोरियास्थित तामाङ परिवारले पनि प्रशान्त तामाङलाई सम्मान गरेको थियो ।