Home» City Life »Updates

ऊर्जा संकटको परिणाम

राजधानीमा ऊर्जा संकट बढिरहँदा सर्वसाधारणको जीवन मात्र होइन कि अत्यावश्यक मानिएका एफएम रेडियो, होटल तथा रेष्टुराँलाई समेत गम्भीर असर परेको छ ।

पछिल्लो समयमा टेकुस्थित सुमई रेष्टुराँ ऊर्जा संकटकै कारण एक सातादेखि बन्द भएको छ । यहाँ ग्राहकले अर्डर गर्ने खाना पकाउनसमेत ग्याँस अभाव भएपछि यो रेष्टुराँ बन्द भएको हो ।

राजधानीका प्रख्यात एफएम स्टेशनहरु पनि बढ्दो लोडसेडिङ र अप्राप्य डिजेलका कारण गम्भीर संकटमा परेका छन् । कान्तिपुर एफएमका स्टेशन म्यानेजर प्रभात रिमाल यस्तै अवस्था अझै केही दिन लम्बिरहने हो भने २४ सै घण्टा बजिरहने यो एफएमको प्रसारण अवधि घट्ने बताएका छन् । यस्तै राजधानीको हिट्स एफएममा पनि तीन दिनअघि केही समयका लागि प्रसारण अवरुद्ध हुन पुगेको थियो ।

कतिपय एफएमहरुमा टाढा-टाढाबाट आउनुपर्ने कर्मचारीहरु सार्वजनिक सवारी तथा निजी सवारीमा पेट्रोल तथा डिजेलको अभावका कारण आइनपुग्दा पहिल्यै रेकर्ड गरिएका सामाग्री बजाउन बाध्य भएका छन् ।

यता कतिपय स्कूलहरु एक सातायता डिजेल अभावका कारण बन्द भएका छन् । टाढा-टाढाबाट ल्याइनुपर्ने विद्यार्थीलाई डिजेल अभावका कारण स्कूल बसमा ल्याउन नसकिएका कारण स्कूल नै बन्द गर्नुपरेको छ । डिजेल अभावकै कारण कतिपय होटलहरुले पाहुना आएका विदेशीहरुलाई पनि स्थानान्तरण गर्नुपरेको छ ।

सरकारले केही समययता ऊर्जा संकट सकिने र पहिलेझैँ सुचारु हुने बताए पनि पेट्रोल पम्पहरुमा लामा-लामा लाइन लागेका सवारी साधनहरुले अरु नै कथा बताउँदै आइरहेका छन् । पाँच पाँच घण्टाभन्दा बढी लाइन बसेर पनि तीन लिटर पेट्रोलबाहेक लिन नपाउँदा लाइन लागेका ग्राहकहरु दिक्क मानिरहेका देखिन्थे ।

ऊर्जा संकटले अरु त अरु अत्यावश्यक वारुण यन्त्र (दमकल) र विभिन्न अस्पतालका एम्बुलेन्ससमेत थन्किएका छन् । यति मात्र होइन, ऊर्जा संकटसँगै अस्पतालका लागि अत्यावश्यक मानिने अक्सिजन सिलिण्डरको अभाव पनि चरम अवस्थामा छ ।
 
ऊर्जा संकटकै कारण दैनिक खाद्य सामग्रीको भाउले महंगाईको आकाश छोइसकेको छ ।

यस्तो कतिञ्जेलसम्म चल्ने हो, न त आपूर्ति मन्त्री श्यामसुन्दर गुप्तालाई थाहा छ न त प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई नै । आपूर्ति मन्त्रालय, नेपाल आयल निगमका उच्चाधिकारी र कर्मचारीहरुसमेत यसको जवाफ दिनुपर्ला भनेर मोबाइल स्वीच अफ गरेर बसेका छन् ।

 


 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
crisis पेट्रोल मोबाईल हल्ला समलिङगी सेलेब्रिटी awards माओवादी संविधानसभा अनुभव celebrity streets festival hi-life events
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,