Home» Cinema

प्रविधिले सिनेरुचि बढाउन सक्छ

विष्णुप्रसाद गौतम

नेपाली चलचित्रहरू स्तरीय नहुनुको कारणका रूपमा विशेषतः कमजोर प्रविधि र कथालाई दोष दिने गरिन्छ । भारतीय र पश्चिमा चलचित्रहरू उपलब्ध उच्चस्तरीय प्रविधिमा बन्दछन् तर उच्च प्रविधिमा निर्माण गरिएका भारतीय चलचित्रहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने नेपाली चलचित्रहरू भने उपलब्ध सबैभन्दा कमजोर प्रविधिमा निर्माण भइरहेका छन् ।

अझैसम्म हाम्रा निर्माताहरू एक किसिमले लोपोन्मुख प्रविधि अर्थात् १६ एम.एम.मा खिचेपछि ३५ एम.एम.मा ठूलो पार्ने प्रविधि प्रयोग गरेर चलचित्र निर्माण गरिरहेका छन् । यसको परिणामस्वरूप हाम्रा चलचित्रहरू कमसल खालका बनिरहेका छन् र अन्तर्राष्ट्रिय चलचित्रहरूसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । यसै कमजोरीलाई दृष्टिगत गरी हालैका दिनमा केही निर्माताहरू ३५ एम.एम.मै चलचित्र खिँचिरहेका छन् । उदाहरणका लागि, उद्धव पौडेल र छवि ओझालाइ लिन सकिन्छ ।

हाम्रा निर्माताहरू साँच्चै नै सिनेमास्कोप चलचित्र बनाउँछन् भने हाम्रा दर्शकहरूले अहिलेको तुलनामा गुणस्तरीय चलचित्रको स्वाद चाख्न पाउनेछन् । त्यसो त सुरुका नेपाली चलचित्रहरू ३५ एम.एम.कै नेगेटिभमा खिचिएका थिए । उदाहरणका लागि आमा, परिवर्तन, मनको बाँध, हिजो आज भोलि, परालको आगोजस्ता चलचित्रहरूलाई लिन सकिन्छ । यी सबै चलचित्रहरू श्यामस्वेत थिए र सिनेमास्कोप थिएनन् ।

नेपालको पहिलो रङ्गीन चलचित्र कुमारीलगायत सिन्दूर, जीवनरेखाजस्ता सुरुसुरुका अन्य रङ्गीन चलचित्रहरू पनि ३५ एम.एम.कै नेगेटिभमा खिचिएका थिए तर सिनेमास्कोप भने थिएनन् । मुर्म्बई चलचित्र उद्योगमा काम गरिसकेका तुलसी घिमिरे र शम्भु प्रधानको नेपाली चलचित्रको प्रवेशसँगै १६ एम.एम.को नेगेटिभमा चलचित्र खिच्ने चलन पनि भित्रियो । यो नयाँ प्रविधि चलनमा रहेको ३५ एम.एम. मा खिच्ने प्रविधिभन्दा धेरै सस्तो पर्ने हुँदा धेरै लोकप्रिय भयो नेपाली निर्माताहरूमाझ । नेपाली निर्माताहरूको आर्थिक हैसियतलाई दृष्टिगत गरी केही स्थापित नेपाली निर्माता र कलाकारहरूले पनि १६ एम.एम.को नेगेटिभमा खिचेर ३५ एम.एम.मा ठूलो पार्ने प्रविधिलाई प्रोत्साहन गरेकाले एक किसिमले नेपाली निर्माताहरूले ३५ एम.एम.मा चलचित्र खिच्नै छाडे । परिणामस्वरूप हाम्रा चलचित्रको प्राविधिक पक्ष कमजोर भएर गयो ।

केही प्रादेशिक र कलात्मक चलचित्र बनाउन मात्र भारतीयहरूले यो प्रविधि अपनाएका थिए । बीचमा केही नेपाली चलचित्र ३५ एम.एम.को नेगेटिभमा खिचिए पनि तिनीहरू व्यावसायिक रूपमा सफल हुन सकेनन् । जस्तै, ज्वाला, दिदी आदि । धेरैपछि आएर २०४८ सालतिरमात्र नेपालमा एउटा सिनेमास्कोप चलचित्र बन्यो- राँको । करिब रु. एक करोड लगानी गरिएको भनिएको उक्त चलचित्र असफल मानियो । पछि अर्को सिनेमास्कोप चलचित्र माइली बन्यो, त्यसको हालत पनि राँकोभन्दा फरक भएन । रवि बरालको चमेली ३५ एम.एम.मा खिचिए पनि सिनेमास्कोप भने थिएन । ३५ एम.एम.मा खिचिएका सिनेमास्कोप चलचित्रहरूले १६ एम.एम.को नेगेटिभमा खिचिएका चलचित्रले जति पनि व्यापार गर्न नसकेपछि हच्किएका निर्माताहरूले १६ एम.एम.बाट नै सिधै सिनेमास्कोप बनाउने प्रयत्न गर्न थाले पनि सकिरहेका थिएनन् । अहिलेसम्म ३५ एम.एम.मा खिचिएका चलचित्रलाई मात्र सिनेमास्कोप प्रविधिमा ढाल्ने चलन रहिआएको छ । नेपाली छायाँकार राजुविक्रम थापाले हालसालै सुपर १६ एम.एम. नेगेटिभबाट नै सिनेमास्कोप चलचित्र बनाउनुभएको छ । थापाको प्रयत्न सफल भएमा यो प्रविधि नेपाली चलचित्र उद्योगका लागि वरदान नै हुनेछ । थापाको प्रयोग बाला गुरुङद्वारा निर्मित निर्माणको अन्तिम चरणमा रहेको डर मा गरिएको छ । सम्बन्धित विषयमा उच्च अध्ययन गरेका सीमित नेपाली छायाँकारमध्ये थापा पनि एक हुनुहुन्छ । उहाँले नै छायाङ्कन गर्नुभएको एउटा कार्यशाला चलचित्रले मुर्म्बईमा छोटा चलचित्रको प्रतिस्पर्धामा पुरस्कार पाएको थियो । पुनेमा उहाँ पढ्न जानुहुँदा पढाउनुहुने हङ्गेरियन गुरु तथा प्रशिद्ध चलचित्र निर्माता स्टेभेन गेलले थापाको सीपलाई युरोपेली छायाँकारकै बराबरमा रहेको बताउनुभएको थियो । तीन वर्षको पढाइ सकेर नेपाल फर्केका थापाले निरन्तर छायाँकारको काम गरिरहनुभयो ।

नेपालमा बनाइएका धेरैजसो राम्रा चलचित्रहरू, जस्तै, वसन्ती, चमेली, दुःख, तकदिर, मनकामना, नुमाफुङ्गमा थापा नै छायाँकार रहनुभएको थियो तर उहाँ प्रेसको आँखामा कमै मात्र पर्नुभयो । उनै थापाले १६ एम.एम.बाटै सिनेमास्कोप चलचित्र बनाउनसक्ने प्रविधिको पहिचान गर्नुभएको छ । १६ एम.एम.को नेगेटिभमा खिचेर ३५ एम.एम.मा ठूलो पारेर बनाइएका चलचित्रभन्दा सुपर १६ मा खिचिएका र ३८ एम.एम.मा ठूलो पारिएका चलचित्र ४० प्रतिशत बढी राम्रा हुने दाबी थापाको छ । उहाँका अनुसार यो प्रविधि प्रचलित ३५ एम.एम.मा खिचेर सिनेमास्कोपमा लगिएका चलचित्रभन्दा धेरै सस्तो पर्छ । "सुपर १६ एम.एम.बाट सिनेमास्कोप बनाउँदा ३५ एम.एम.बाट बनाउँदाभन्दा २० लाख रुपियाँ कम लाग्छ" थापा भन्नुहुन्छ । सामान्य १६ एम.एम.को नेगेटिभभन्दा सुपर १६ एम.एम.को नेगेटिभमा बढी ठाउँ रहन्छ, जसका कारण ठूलो पार्दा पनि स्पष्ट दृश्य दिन्छ ।

जे होस्, हलिउडमा सेलुलोइड र डिजिटल चलचित्र निर्माणमा अत्याधुनिक रेड र टू के क्यामेरा प्रयोग भइरहँदा हामी नेपालीहरू प्रारम्भिक चरणकै प्रविधिमा सुधार गर्न खोजिरहेका छौँ । थापाको डर ले राम्रो नतिजा ल्याएमा हामी कम्तीमा यथास्थितिबाट केही कदम अगाडि हुन्छौँ तर केही निर्माताहरू थापाको प्रयासलाई असम्भव भनिरहेका पनि छन् । "कहाँ १५ एम.एम.बाट सिनेमास्कोप बनाउन सकिन्छ ? यो त हावा कुरा भयो", निर्माता छवि ओझा र निर्देशक उज्जल घिमिरे दाबी गर्नुहुन्छ तर अर्का निर्माता आकाश अधिकारी भने "सकिन्छ" भन्नुहुन्छ । हेरौँ, के सत्य हुने हो !

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Cinema
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: