आकाशको फड्को

आकाश अधिकारीले "गोर्खा रक्षक" चलचित्र निर्देशन गर्ने भएका छन् । मंगलबार राजधानीमा सो चलचित्रको शुभ मुहुर्त कार्यक्रम सम्पन्न भएको छ ।
फ्लाइङ बी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रका निर्माता सन्नी बी केसी रहेका छन् ।
अंग्रेजी र नेपाली दुवै भाषामा यस चलचित्रलाई बनाइने निर्देशक अधिकारीले जनाएका छन् ।
चलचित्रमा शिव श्रेष्ठ, रेखा थापा, नीर शाह, सम्राट सापकोटा, नरेश भट्टराईसँगै निर्माता सन्नी बी केसीले समेत यस चलचित्रमा अभिनय गर्ने भएका छन् ।
चलचित्रको सुटिङ मंगलबारदेखि नै काठमाडौँमा शुरु भइसकेको छ ।
निर्देशक अधिकारीको यो एघारौँ निर्देशकीय प्रोजेक्ट हो ।
चलचित्र मार्शल आर्टसम्बन्धी रहेको बताइएको छ । "खासमा मार्शल आर्टको जननी नेपाल हो र यसको उत्पत्ति गौतम बुद्धसम्म पुगेर अन्त्य हुने हुनाले यो खेलको मुख्य र्सजक गौतम बुद्ध हुन् भन्ने हाम्रो भनाइ चलचित्रमार्फ् प्रस्तुत हुनेछ", निर्देशक अधिकारीले पत्रकारहरुसँग भने- "गौतम बुद्धका वाणीहरु सिकेर चिनियाँ शिष्यहरु जब भोक, अनिकाल र पहाड पर्वतसँग जुझ्दै चीन पुगे- बाटोमा जाँदै गर्दा यो कलाको विकास भएको हो ।"
चलचित्रको अन्य गुह्य कुराहरु बताउन भने चलचित्रको प्रदर्शन मिति कुर्न उनले आग्रह गरे । तर उनले थपे- "यो चलचित्रलाई अमेरिकास्थित मार्शल आर्ट फिल्म फेस्टिवलका लागि तयार पारिने छ र त्यहाँ उपस्थिति जनाइसकेपछि मात्र नेपालमा प्रदर्शन हुनेछ । यो चलचित्रको अवधि मात्र सय मिनेटको हुनेछ ।"
खबर अनुसार यो चलचित्रको सिक्वलसमेत बनाइने भएको छ । सिक्वलको लागि अन्य चरणका वार्ता जारी रहेको र अमेरिकी पक्षसँग वार्ता भइरहेको बताइएको छ ।
क्या बात, आकाशको फड्को !