Home» Cinema »Review

१२ हजार वर्षअघिको कुरा

अंग्रेजी सिनेमा "द इण्डिपेन्डेन्स डे" र "द डे आफ्टर टुमरो" हेरिसकेका जो कोहीलाई पनि "१०,००० बीसी" शीर्षकले लोभ्याउँछ । कारण चाहिँ उही हुन्, निर्देशक- रोल्याण्ड एमिरिक ।

यी निर्देशकले इण्डिपेन्डेन्स डेमा सुदूर भविष्यको कथा गढेका थिए, जसमा पृथ्वीबासीभन्दा शक्तिशाली प्राणीले पृथ्वी (अमेरिका) मा आक्रमण गर्छन् र पूरै विश्व (अमेरिका) ध्वस्त बनाउने ध्याउन्नमा हुन्छन् । तर यहाँ जाँबाज् सेनाहरुको कुनै कमी छैन, विल स्मिथ आफ्नो ज्यान दाउमा राखेर विश्व (अमेरिका) ध्वस्त हुनबाट जोगाउँछन् । सन् १९९६ मा बनेको यो चलचित्रमा प्रयुक्त आँखै चम्काउने स्पेशल इफेक्ट, खतरनाक द्वन्द्व दृश्य र तिनमा प्रयुक्त सही मानवीय संकटले यो चलचित्रलाई साँच्चिकै दर्शनीय बनाएको थियो । तथापि केही आलोचकले यस चलचित्रलाई अमेरिका नै विश्वका रुपमा चित्रित गरेकोमा भने उति रुचाएका थिएनन् ।

यो आलोचनाले होला यी निर्देशकले निकै पछि अर्को चलचित्र "द आफ्टर टुमरो"मा वैश्विक समस्यालाई उजिल्याए । त्यो थियो, ग्लोबल वार्मिङ । पृथ्वीको ग्रीन हाउसमा परेको असर, त्यसले पर्यावरणमा आएको परिवर्तन र त्यो परिवर्तनले ल्याएको मानवीय संकट । एमिरिकले यस चलचित्रलाई अलि फराकिलो अर्थमा प्रस्तुत गरे, जस्तो कि नयाँ दिल्लीमा ग्लोबल वार्मिङका बारेमा गम्भीर बहस हुँदै गर्दा जापानमा ठूल्ठूला असिना पानी बर्सिन्छ र त्यहाँ दर्जनौँ व्यक्तिहरु ठहरै हुन्छन् । अन्र्टार्कटिका महादेशमा आएको सानो हलचलले पछि न्यूयोर्क शहर ध्वस्त हुन्छ र आधा अमेरिका मेक्सिकोमा शरण लिनुपर्ने हुन्छ । यस्ता चौतर्फी समस्या देखाएका कारण धेरैका लागि यो बहसयोग्य चलचित्र बन्न सफल भएको थियो ।

तर यो के भयो ? यी निर्देशकले संसारभरका अन्य थुप्रै समस्यालाई थाती राखेर एकै झमटमा उनी १२ हजार वर्ष पहिलेको समयमा पुगे, जहाँ भर्खर एउटा सभ्यता चरममा पुगेर अर्को जंगली पुस्ता खेती गर्न सिक्दैथियो । तर त्यसबेला पनि समस्या ज्यूँका त्यूँ थिए, मानिसहरु दास थिए । तिनीहरु कसैको पिरामिडे लहडका लागि समातिन्थे, यातना दिइन्थे र एउटा सभ्यता बनाउँथे । संसारमा भएका सबैजसो सभ्यताका पछाडि एउटा गहिरो शोषण, पीडा, उत्पीडन र अभावको कथा हुन्छ । निर्देशक इमिरेकले त्यसैलाई प्रस्तुत गर्ने अवसर पाएका छन् । तर के उनले पाएको यो अवसर साँच्चिकै उनले सदुपयोग गरे त ?

यो कथा एउटा साधारण डुलन्ते समाजको अगुवा डिलेको हो । जसका सामु एउटा पूरै कस्बाको जिम्मेवारी छ । यो कस्बालाई उसले ख्वाउनु/प्याउनुदेखि बेलाबेलामा आफूहरुभन्दा शक्तिशाली कस्बा र सभ्यतावालाहरुसँग पौँठेजोरी खेल्दै तिनको रक्षा गर्नु हो । उसको कस्बामा ऊ त्यतिबेला चर्चामा आयो, जब उसले आफूभन्दा खतरनाक र कैयौँ गुणा शक्तिशाली म्यामथ (हात्ती)लाई मार्न सफल भयो । ऊ आफूलाई उति शक्तिशाली मान्दैनथ्यो, तर पनि हात्ती मर्यो र उसलाई सबैले मान्न थाले । आफूलाई एउटा साधारण व्यक्तिका रुपमा चित्रित गर्न रुचाउने डिलेका सामू पछि यस्ता खतरनाक घटनाहरु आइपुग्छन्, जसलाई उसले शरीरले भन्दा इच्छाशक्तिले जित्नुपर्ने भयो ।

उसको इच्छाशक्तिलाई मलजल गरेकी थिई, उसकी सानैदेखिकी प्रेमिका एभिलोटले । अकस्मात एभिलोटलाई कथित सभ्यतावाला व्यक्तिहरुले अपहरण गरेर लैजान्छन् । आफ्नी प्रेमिका खोज्दै ऊ त्यस ठाउँमा आइपुग्छ, जहाँको चरम विकास देखेर ऊ मात्र होइनन्, स्वयम् दर्शक पनि चित् खान्छन् । 

त्यसो त हिन्दी चलचित्र नै हाम्रा लागि विश्वविद्यालय भएकाले यसमा भएका इमोशन र परिवारवाद उति नौला लाग्दैनन्, तर नौलो बनाउन निर्देशक इमिरेकले यस चलचित्रलाई यति भव्यतम् बनाइदिएका छन् कि हामीजस्ता साधारण दर्शक टाउको कन्याउन बाध्य हुन्छौँ । र, चलचित्रले उत्पन्न गर्ने थ्रिल यति विघ्न साधिएको छ कि घरिघरि मुटु कमाउन सफल हुन्छ ।

तर के यो सर्वोत्कृष्ट चलचित्र हो त यस विधाको ? यस विधालाई केही चलचित्र समीक्षकहरुले 'ओढारे मानवहरुको वीरगाथा'का रुपमा चित्रित गर्न रुचाउँछन् तर यसलाई सर्वोत्कृष्ट चलचित्र मान्न रुचाउँदैनन् । यस विषयमा सन् १९६० मा नै गरिएको प्रयास बरु सर्वोत्कृष्ट थियो भन्ने उनीहरुको भनाइ छ । तर हामी एउटा साधारण दर्शक भएर हेर्दा पनि यी निर्देशकका अघिल्ला प्रस्तुतिहरुमध्ये माथि उल्लेख गरिएका दुइ चलचित्रसँगै गोड्जिला पनि भयंकर रोचक थियो भन्न सक्छौँ । यस्तै प्राचीन विषयमा बरु निर्देशक तथा कलाकार मेल गिब्सनले दुइ वर्षअघि बनाएको चलचित्र "एपोक्लिप्टो" ज्यादै रोचक र मानवजीवन निकट रहेको मान्न सकिन्छ । जङ्गली अवस्थामा रहेका मानवहरुको जीवनको सबैभन्दा हिंस्रक पक्षलाई निकटतम् तरिकाले मेल गिब्सनले देखाएका थिए, त्यस चलचित्रमा । अनि यहाँ चाहिँ बढी मानवीय मूल्य र मान्यतालाई ठाउँ दिइएको छ । जुन त्यसबेलाको मानव चरित्र होइन भन्ने भनाइ सामाजिक चिन्तकहरुको छ । सामाजिक चिन्तकहरु भन्छन्- "यो सिनेमामा मेसिन युग, खेती युग र ओढारे युग एकै पटक उत्पन्न भएको हो भन्ने भनाइ राख्दछ, जुन कदापि सही होइन । खेती युग त म्यामथ र डायनाशोरहरुको अन्त्य गराउने 'आइस एज' पछिको विकास हो ।"

उसो भए यो चलचित्र के का लागि हेर्ने त ?

मात्र दिमाग खाली गर्नुस् र आफूले पढ्नु भएको सोसियोलोजी र एन्थ्रोपोलोजी बिर्सनुस् । अनि, जंगली अवस्थामा पनि कसरी सिनेमाले भव्यता पाउन सक्छ भनेर इन्जोय गर्नुस् ।

 
Click Here To Read Previously Posted Article             
 
More on Review
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: