दरबारको भित्री कथा
राजदरबार र त्यसभित्रका रोचक कथा सबैलाई रुच्छ । बच्चा बेलामा हामी एकादेशमा भन्दै अनेक रोमाञ्चक कथा सुन्ने गर्दथ्यौँ । अहिले बजारमा दुइ यस्ता दरबारका भित्री कथा आएका छन्, जसले आफूलाई सबैभन्दा आधिकारिक र प्रामाणिक सूचना भनिरहेका छन् ।
कृष्ण अविरलले राजदरबार हत्या काण्ड र राजदरबारको विषयमा लेखेको उपन्यास 'रक्तकुण्ड' बजारमा हिट भएपछि त्यस्तै प्रकारको अर्को पुस्तक पनि बजारमा आएको छ । 'अग्निज्वालामा दरबार' शीर्षकमा बजारमा आएको नयाँ पुस्तकले पनि दरबारको बारेमा आधिकारिक र नवीनतम् सूचनाहरु सङ्कलन गरेको दाबी गरेको छ ।

यसरी अहिले बजारमा देखिएका दुवै कृतिका सर्जक चाहिँ पत्रकार नै हुन् । कृष्ण अविरल प्रो-पब्लिक नामक गैरसरकारी संस्थाको पत्रिका निकाल्छन् भने केशवराज देवकोटा सन्ध्याकालीन दैनिक पत्रिकासँग संलग्न छन् ।
दुवैले आफ्नो कृतिको धुँवाधार प्रचारमा कुनै कसर छाडेका छैनन् । नेपालको मुख्य समस्या राजतन्त्र, दरबार हत्याकाण्डका थप रहस्यहरु, तेह्र पुस्ते राजाका हत्या र षडयन्त्रहरु, मिनी जनमतमा हारेका राजा ज्ञानेन्द्र जस्ता कुराहरुलाई एउटा पुस्तकले प्रमुखताका साथ विज्ञापन गरिरहेको छ भने अर्को पुस्तकले चाहिँ कुन राजाका कतिवटी रखेल थिए, शाह वंश ठकुरी हो कि मगर, राजा महेन्द्रको आत्महत्या, प्रधान सेनापति रुक्मांगत कटवालमाथि बलात्कारको आरोप, प्रेक्षालाई रारा तालमा किन चोबलियोज जस्ता कुराहरु पुस्तकको प्रचारका लागि प्रमुखताका साथ उठाइएको छ । (हेर्नुहोस् तस्वीर)
यता १५ दिनअघि मात्र बजारमा आएको अग्निज्वालामा दरबार पुस्तकले छोटो समयमा नै २० हजार बिक्री भइसकेको दाबी लेखक देवकोटाको छ भने त्यस्तै दाबी लेखक अविरलको पनि छ ।
सर्वोच्च अदालतमा राजाबारे प्रश्न उठाउन मिल्ने भएपछि यस्ता कृति बजारमा आउन शुरु गरेका हुन् । दुवै लेखकहरुले यो कृतिपछि आफूहरुलाई ज्यान मार्ने धम्की र विविध लोभ फोनमार्फ आएको बताउँछन् । लेखक देवकोटा भन्छन्- "म त जन्मेकै लेख्नलाई हो, लेख्दालेख्दै ज्यान जान्छ भने पनि म जन्मेको सफल हुन्छ ।"
यी दुवै पुस्तकको आकार, प्रकार मिले पनि विषयवस्तुमा आकाशजमिनको फरक रहेको लेखक देवकोटाको छ । रक्तकुण्ड राजदरबारकी एउटी धाइआमाको पुराना कुराहरुको संस्मरण हो भने अग्निज्वालामा दरबारले राजदरबार कहिले पनि जनताप्रति इमान्दार हुन नसकेको आरोप लगाइएको छ । यो पूर्णतः राजनीतिक विचारधारात्मक पुस्तक रहेको लेखक देवकोटा बताउँछन् । |