सेलिब्रिटीका गीतमा रोड
माइक जगर र किथ रिचर्ड भनेका बेलायतको सांगीतिक माहोलका लागि निकै चर्चित नाउँ हो । फेरि माइक जगर त समाजसेवाका लागि पनि उत्तिकै चिनिइन्छन् । किथ पनि उत्तिकै लोकप्रिय संगीतकर्मी हुन् । यी दुवै लोकप्रियता र समाजसेवीका रूपमा उत्तिकै ख्यात छन् । तर यी दुवैबीचको अर्को समानता भनेको उनीहरूको नाममा कुनै मूर्ति र सडकको नाउँ राखिएको थिएन ।
तर बेलायती शहर केन्टका यी दुवै बासिन्दालाइ त्यहाँको स्थानीय शहरका अधिकारीहरूले सम्मान गर्ने निधो गरेका छन् । सम्मान गर्ने निधो त गरे तर कसरी भन्दा उपाय निकाले, त्यहाँका गल्लीको नाउँ उनीहरूको नाउँमा राखिदिने ।
काउन्सिलका अधिकारीहरूले केन्टस्थित डार्टफोर्डनजिकैको एक टोललाइ रोलिङ स्टोन नामक सांगीतिक कम्पनीको ख्यातिप्राप्त गीतबाट नाम राखिदिएका छन् । ती गीतका केही बोलमध्येका स्याटिस्फ्याक्शन स्ट्रिट, रूबी ट्यूस्डे ड्राइभ, स्टोन्स एभेन्यू र एन्जी म्यूजजस्ता बोललाइ शहरका गल्लीको नामाकरण गरिएको छ ।
स्थानीय बासिन्दा ३४ वर्षीया जुलिया स्वान भन्छिन्, "वास्तवमा यस्तो गर्नु साँच्चिकै राम्रो विचार हो । उनीहरूले जस्ता गीत दिएर हाम्रो पुस्तालाइ प्रेरित गरेका छन्, त्यसको स्मरण गरिनु पर्छ ।"
"तर कहिलेकाहीँ हुलाकीलाइ साँच्चिकै गाह्रो पर्दो हो", ठट्टा गर्दै उनले थपिन्, "अब गीतको बोल नै गल्लीको नाम हुँदा कहिलेकाहीँ अलमलमा पर्दा हुन् ।" हुन पनि गीतको बोल अनुसार गल्लीको नाम यस्तो हुनेछ, टु लिभ अन रूबि ट्यूस्डे ड्राइभ । अब यो गल्लीको नाममा चिठ्ठी आउँदा हुलाकी केहीबेर अलमलिएर रोलिङ स्टोनको गीत हो कि गल्लीको नाम हो भनेर अल्झिनु स्वाभाविक नै हो नि, कि कसो ?
त्यसो त रोलिङ स्टोनका गीतबाट यसरी गल्लीको नामाकरण गर्दा प्रहरी वर्गलाइ चाहिँ टाउको दुखाइको विषय बन्ने पो हो कि भन्ने डर छ । स्थानीय प्रहरीका एक अधिकारीले भने, "अब यसरी नाम राख्नु त राम्रै कुरा हो । तर यहाँका फ्यानहरू कस्तासम्म कडा छन् भने उहिले बिटल्सको गीतबाट नामाकरण गरिएका गल्लीहरू एबी रोड र पेनी लेन लेखिएका बोर्डहरू तिनले चोरेर हैरानै पारिदिए । कहीँ यहाँ पनि त्यस्तै नहोस् ।"
|