केटीसँग बोल्न सिकाउने किताब
एक ९ वर्षीय अमेरिकी बालकले "केटीसँग कसरी बोल्ने" भन्ने किताब लेखेका छन् ।
एलेक ग्रेभेनको "हाउ टु टक टु गल्ज" किताबले केटीहरूसँग बोल्ने कला सिकाउने छ । एलेकले आफ्नो जीवनको पहिलो किताब नै यस किसिमको सिर्जनात्मक लेखनमा शुरू गरेका छन् । भर्खरै स्कूल पढिरहेका अमेरिकाको कोलोराडो राज्यको क्यासल रक निवासी उनले आफू भविष्यमा लेखक नै बन्न चाहेको बताएका छन् ।
त्यसो त पुस्तक छापिनुअघि उनको स्कूलले आयोजन गरेको पुस्तक प्रदर्शनीमा उनले आफ्नो हातले लेखेको यसै पुस्तकको एक टुक्राहरू ५ डलरमा बिक्री भएको थियो । र, त्यो टुक्रा स्कूलभरिमा बिक्री भएका पुस्तकहरूमध्ये बेस्ट सेलरमा सूचिकृत भएको थियो ।
यसपछि उनको यो घटनालाइ स्थानीय समाचारपत्रले स्थान दिएपछि उनी एउटा टीभीको टक शोमा देखा परे । टीभीमा छाएका मात्र के थिए, उनलाइ अमेरिकाकै प्रख्यात पुस्तक प्रकाशक हार्पर कोलिन्सले पुस्तक छाप्ने सम्झौता गरेको छ ।
र, उनको ४६ पृष्ठको हार्डकभरयुक्त पुस्तक अहिले बजारमा उपलब्ध भएको छ ।
"मैले के देखेँ भने, अहिलेका अधिकांश केटाहरूमा केटीसँग बात मार्ने कला नै छैन," सानो उमेरमै लेखक बनेका एलेकले न्यूयोर्क पोष्टकी पत्रकार जेनिफर फर्मिनोसित भने, "यदि बोलाइ 'हाइ'बाट मात्रै शुरू गरियो भने पनि बातचित अघि बढ्न सक्छ ।"
उनका सल्लाह निकै रमाइला छन्, जस्तो कि केटीहरूका अगाडि बढी स्मार्टपना नदेखाउने र राम्रा केटीहरूलाइ सरल तरिकाले व्यवहार गर्ने ।
"राम्रा केटीहरू परैबाट प्रष्ट चिनिन्छन् । तिनले ठूल्ठूला कानको रिङ लाएका हुन्छन्, हेर्दैमा आकर्षक लुगा र गहनामा सजिएका हुन्छन्", उनले आफ्नो पुस्तकको तेस्रो पाठमा लेखेका छन्, "राम्रा केटीहरू भनेका गतिला कारजस्तै हुन्, तिनलाइ अलि बढी तेल चाहिन्छ ।"
उनी अगाडि थप्छन्, "हामीजस्ता सामान्य केटाका लागि सामान्य केटीहरू नै उपयुक्त हुन सक्छन्, नक्कलझक्कल पार्ने केटी होइनन् । यो बिर्सनु कदापि हुन्न, धेरै राम्रा केटीहरू भित्रबाट चिसा हुन्छन्, घमण्डी हुन्छन् । केटाको प्रसङ्गमा यस्तो चिसा हुन्छन् । त्यसैले केटाहरूले यिनलाइ भाउ दिनु हुन्न ।"
एलेककी आमा इरिन ग्रेभेन भन्छिन्, "उ यति पढ्छ कि हामीलाइ दिक्क लाग्छ । खाना खाँदासमेत हातमा किताब हुन्छ । दिक्क लागेर खाना पस्किसकेँ, अब पढ्न छाड्छस् कि म किताब हुइँक्याउँ भनेर धम्क्याएपछि मात्र पढ्न छोड्छ । मैले त किताब मात्र पढ्ला भन्ने सोचेकी थिएँ, तर किताबै पो लेख्ने भएछ त !" |