Home» Sports »Football

पुलिसलाई उपाधि र २० लाख, हरि खड्कालाई कार

-दीपेन्द्र लामा

नेपालका उत्कृष्ट फुटबलर हरि खड्काका लागि हिजोको दिन एउटा स्मरणीय दिनका रुपमा आयो । उनको खेलजीवनको उत्कृष्टतालाई मूल्यांकन गर्दै अखिल नेपाल फूटबल संघले उनलाई महंगो टोयोटा यारिस् कार पुरस्कारस्वरुप प्रदान गरेको छ । सो पुरस्कार हिजो आयोजित शहीद स्मारक सानमिगल लिग फूटबल प्रतियोगितामा प्रदान गरिएको हो । उत्कृष्ट खेलाडीहरुका लागि गएको वर्षदेखि वैद्य अर्गनाइजेशनको प्रायोजनमा संघले यस्तो पुरस्कार दिन शुरु गरेको हो । गएको वर्ष उपेन्द्रमान सिंहले यो पुरस्कार हात पारेका थिए ।

यस वर्षको शहीद स्मारक सानमिगेल लिग 'ए' डिभिजन फुटबल प्रतियोगिताको उपाधि महेन्द्र पुलिस क्लबले जितेको छ । उसले बिहीबार दशरथ रंगशालामा सम्पन्न अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० ले हराई उपाधि उचालेको हो । करीब २२ हजार दर्शकको उपस्थिति रहेको र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त खेलमा पुलिसका लागि रमेश बुढाथोकी र जुमान राईले गोल गरेका थिए ।

विजेता पुलिस टिमले ट्रफीसँगै २० लाख नगद हासिल गरेको छ भने उपविजेता आर्मीले १० लाख जितेको छ । गत कात्तिकदेखि सुरु भएको उक्त प्रतियोगितामा नबिल थ्रीस्टार, कार्ल्सवर्ग मनाङ मर्स्याङ्दी र सशस्त्र प्रहरीले क्रमशः तेस्रो, चौथो र पाँचौं भई पाँच लाख, तीन लाख र दुइ लाख नगद प्राप्त गरे । त्यस्तै छैठौं मच्छिन्द्र, सातौं फ्रेण्स् र आठौं न्युरोड टिमलाई क्रमशः एक लाख, ६० हजार र ४० हजार प्रदान गरियो । मच्छिन्द्रले फेयर प्ले ट्रफीसहित थप ५० हजार पुरस्कार हात पार्‍यो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन र राष्ट्रिय टिममा विशेष योगदान दिएवापत पुलिसका हरि खड्काले साढे २७ लाख पर्ने टोयोटा यारिस् कार प्राप्त गरेका छन् । पुलिसकै प्रशिक्षक विराट श्रेष्ठले उत्कृष्ट प्रशिक्षक भएवापत् यामाहा जी फाइभ बाइक पाएका छन् । त्यस्तै सर्वाधिक गोलकर्ता अनिल गुरुङ (मनाङ), उत्कृष्ट फरवार्ड विकर्ण श्रेष्ठ (आर्मी), उत्कृष्ट मिडफिल्डर राजु तामाङ (आर्मी), उत्कृष्ट डिफेन्स (थ्रीस्टार) र उत्कृष्ट गोलकिपर सुरेन्द्र श्रेष्ठ (एनआरटी)ले पनि उक्त बाइक जितेका छन् ।

अखिल नेपाल फुटबल संघद्वारा आयोजित प्रतियोगिताको अन्तिम दुइ स्थानमा रहेपछि सरस्वती युवा क्लब र ब्रिगेड ब्वाइज क्लबले 'ए' डिभिजन क्लबको हैसियत गुमाउँदै 'बी' डिभिजनमा ओर्लिएका छन् । प्रतियोगिता अवधिभर टिकटबाट उठेको रकम सहभागी १४ क्लबलाई दामासाही रूपमा प्रदान गरिनेछ ।

विजेता टिम पुलिसले आगामी मे १७ देखि पाकिस्तानको लाहोरमा आयोजना हुने एएफसी प्रेजिडेन्टस् कप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछ । उक्त प्रतियोगिताको तयारी स्वरुप पुलिसले एसियाली फुटबल महासंघबाट कम्तीमा १० लाख नगद छुट्टै पाउनेछ । प्रतियोगितामा नेपालबाहेक किर्गिस्तान, ताजिकिस्तान, क्याम्बोडिया, ताइवान, पाकिस्तान, श्रीलंका र भुटान गरी आठ राष्ट्रका लिग विजेता टिमहरूको सहभागिता रहनेछ ।

 

Related Links:
टोयोटा यारिस् कार

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Football
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country