पैसा बढी भयो भने के हुन्छ ? अनेक रेकर्ड बनाउने इच्छा हुन्छ । अहिले चीनको वार्षिक ग्राहस्थ उत्पादन यति बढिरहेको छ कि त्यहाँका लगानीकर्ताहरु पैसा कसरी खर्च गरौँ भनेर सोचिरहेका छन् । त्यो सोचाईले उनीहरुलाई हरेक नयाँ रेकर्ड बनाउने इच्छा उनीहरुमा थपिरहेको छ ।
बेइजिङ मोर्निङ पोष्टका अनुसार अहिले सेन्ट्रल चाइना सिटी सबैभन्दा लामो ड्रागनको मूर्ति बनाउने तयारीमा छ । करिब तीन अरब डलरको लागतमा संसारकै लामो ड्रागनको मूर्ति बनाउन लागिएको हो । 'पूर्खा ड्रागन' नाम दिइएको यो मूर्तिको टाउको लगभग तयारीको अवस्थामा छ भने यसको उचाई करिब ३० फिट छ । हेनान प्राप्तमा अवस्थित यो मूर्तिलाई सन् २००९ सम्म पूरा गर्ने बताइएको छ । सन् २००९ चीनमा गणतन्त्र स्थापना भएको ६० वर्ष पुग्नेछ ।
पहाडले घेरिएको यस क्षेत्रमा यो मूर्तिको स्थापनापछि एउटा गतिलो पर्यटकीय क्षेत्र बन्ने लगानीकर्ताहरुको धारणा छ । १३ माइल लामो हुने यो मूर्तिको पेटमा पर्यटकहरु घुस्न सक्नेछन् भने आफ्ना नाम यसमा कुँदन पनि सक्नेछन् । जसका लागि पर्यटकहरुले केही रकम भने तिर्नुपर्नेछ । यत्रो ठूलो सरिसृपको पेटभित्र विभिन्न विज्ञापन एजेन्सी तथा उद्योगहरुलाई पनि विज्ञापनका लागि प्रशस्त ठाउँ उपलब्ध गराइने पनि समाचारमा जनाइएको छ ।
सन् २००२ मा समुद्रपारका चिनियाँ लगानीकर्ताको समूहद्वारा यो काम शुरु गरिएको थियो तर बीचमा आर्थिक समस्याका कारण प्रोजेक्ट अडकिन पुगेको थियो । यही प्रोजेक्टका लागि नयाँ लगानीकर्ताहरु खोजिएपछि यो पुनः शुरु भएको छ । यति ठूलो ड्रागन बनेपछि यो शहरमा वसन्तकालीन हावाले शहरमा दिने दुःख केही मात्रामा कम हुने लगानीकर्ताको धारणा छ । वसन्तमा यहाँ बेपत्ताले हुरी चल्ने हुनाले धेरै धनजनको क्षति हुने गरेको छ । तर ठूलो पर्खालसरह यो ड्रागन उभिने हुनाले वसन्त याममा आउने हुरीबाट अब यहाँका जनता पिरोलिनु नपर्ने उनीहरुको भनाई छ ।
अखबारले भनेको छ- "यसको लम्बाईले २१ औँ शताब्दीलाई प्रतिनिधित्व गर्नेछ ।"