नमूना गर्भवती !

आफ्नो लोग्नेलाई खुशी पार्न श्रीमतीहरुले छक्क पार्ने काम त गर्छन् नै, तर चीनकी एउटी महिलाले यस्तो छक्क पार्ने काम गरिन् कि त्यो देखेर उनका श्रीमान् मात्र होइन संसार छक्क पर्यो ।
सिन्हवा समाचार संस्थाका अनुसार जिलीन प्रान्तस्थित सोङयुआन शहरकी २३ वर्षीया किआओ युबो एकै पटकमा गुमनाम महिलाबाट रातारात स्टार महिला बनिन् । कारण थियो, उनको पेट । गर्भवती भएकी उनको पेट यति ठूलो थियो कि डाक्टरहरुसमेत तर्सिने ! यो देखेर चीनका अखबारहरुले पनि उनलाई रातारात चर्चित महिला बनाइदियो ।
तर उनको गर्भधारण र पेटको आकार झूटो भएको प्रमाणित भएको छ । यो खुलासा त्यतिबेला भयो, जब एक जना चिकित्सक उनको त्यो गोलाई नाप्न र उनको स्वास्थ्यस्थिति बुझ्न भनी उनको घर आए । चिकित्सक घर आएको थाहा पाएपछि उनी झ्यालबाट हाम फालेर टाप कसिन् ।
"आफ्नो पेटमा पाँच वटा बच्चा छन् भनी आफैँले प्रचार गर्दै हिँडेकी तिनको बारेमा बुझ्न चिकित्सक त्यहाँ जाँदा उनी झ्यालबाट टाप कसिछन्", चाङचुन पुजी अस्पतालका अध्यक्ष लीले बताए ।
ती महिलाले पछि श्रीमानलाई खुशी बनाउन आफू गर्भवती भएको अभिनय गरेको स्वीकार गरिन् । उनका श्रीमान् लिउ डेफु हालै मात्र कार दुर्घटनामा परी अस्पतालमा भर्ना भएका थिए । उनले आफ्नो पेटमा कपडा खाँदखुँद गरेर ठूलो पेट पारेकी थिइन् ।
"म माइतबाट फर्किँदा एउटा बुटोमा अल्झिएर लड्दा मेरो गर्भ तुहियो- गर्भमा जुम्ल्याहा थिए", आँखाभरि आँशु पार्दै किआओले भनिन्- "लोग्नेलाई यो घटना भन्ने आँटै आएन । अब कसरी यो कुरा लुकाउने भन्ने सोच्दै गर्दा पेटमा पाँच वटा बच्चा भएको अभिनय गर्नुपर्यो ।" उनका श्रीमानले उनी साँच्चिकै पाँच वटा सन्तानकी आमा हुनेछिन् भनेर विश्वास गरेका थिए । (श्रीमतीले भनेपछि विश्वास गर्नैपर्यो नि, कि कसो ?)
उनका श्रीमान् लिउ डेफुले भने- "एक जना बूढी आमैले मेरी श्रीमतीको नाडी छामेर जुम्ल्याहा भएको बताएकी थिइन् । त्यसबेलादेखि मलाई उसको जीउमा जुम्ल्याहा हुर्किँदै छन् भन्ने लागेको थियो ।" उनले थपे- "तर दिनप्रति दिन उनको पेटको आकार बढेको देखेर मैले चाहिँ अझै तीन जना थपिएछन् भनेर खुशी लागेको थियो ।"
"उसको जीउमा पाँच सन्तान हुर्किँदै छन् भन्ने लागेपछि उसँग छोइएलाझैँ गरेर बेग्लै सुत्ने गर्थेँ, अरु बेला त झन् उसलाई झ्याँगलझुँगल गर्ने कुरै आएन", श्रीमान् लिउले थपे ।
तर उनको पोल खुलेपछि उनका श्रीमानले श्रीमतीलाई माफ गरिदिएका छन्, भन्छन्- "जब म दुर्घटनामा परेको थिएँ, उसले मेरो निकै सेवा गरी । मेरो खुशीका लागि उसले झूटो नाटक पनि गरी । यस्ती श्रीमती म कहाँ पाऊँ !" |