Home» Cinema »Feature

सफलताका यी दिन

- अच्युत कोइराला

शुरुका दिनमा अभिनयमा कुनै रुचि नभएकी अरुणिमा लम्साल अहिले नेपाली चलचित्र उद्योगकी सबैभन्दा हट प्रपर्टीको रुपमा परिचित छिन् । अहिले उनी एक साथ आधा दर्जन चलचित्रमा व्यस्त भएकी छिन् ।

सानामा अरुणिमा लम्साल चञ्चल थिइन् । कक्षामा उनी मनिटर त थिइन्, तर उनी नै सबैभन्दा बढी हल्ला गर्नेमा हुन्थिन् । तर स्कूलमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा अगुवाई गर्नेमा उनी नै हुन्थिन् । यसरी उनले नाटक, नृत्य आदि कार्यक्रममा बच्चादेखि नै भाग लिएकी थिइन् । तर उनको बालापन सकिएर जब विस्तारै आफूलाई 'केटी' भनेर थाहा पाउन थालिन्, त्यसपछि उनले अभिनय र नृत्य बिर्सिइन् ।

त्यसपछि उनी अभिनय र नृत्यभन्दा कुनै अन्तरराष्ट्रियस्तरको बैंकमा जागीर खाने सपना देख्थिन् । र, त्यसका लागि आफूले 'कमर्स' लिएर पढेकी पनि थिइन् । तर उनका लागि भाग्यले बेग्लै कुरा रचिरहेको थियो ।

जब उनी लिटिल एञ्जेल्समा बीबीएस पढ्दा-पढ्दै उनकी साथी प्रसिद्धिकाले सिनेमा खेलेको देखिन्, उनलाई एक किसिमको 'कन्टेम्पररी जलसनेस' (समकालीन इष्र्या) भयो । आफ्नी नजिककी साथीको सिनेमा चल्यो, हिट भयो र रातारात प्रसिद्धिका प्रसिद्ध भएको देखेर उनलाई पनि सिनेमाको रहर जाग्यो । उनी अनेक पटक उनकी आमा (राधा लम्साल)को सुटिङ हेर्न जाने गरेकी थिइन् । अरुणिमाको सुन्दरताबाट लोभिएका कतिपय निर्देशकहरुले उनलाई सिनेमाको प्रस्ताव आमामार्फत् नराखेका पनि होइनन् । तर अरुणिमाले ती प्रस्तावलाई ठाडै अस्वीकार गरेकी थिइन् ।

उनलाई पहिलो प्रस्ताव नरेश पौडेलले एउटा 'गेट टुगेदर'का बेलामा राखेका थिए । उनलाई पहिलो प्रस्ताव 'यस्तै रहेछ जिन्दगी' (२०५८) मा सानो भूमिकाका लागि रोजेका थिए । नायककी बहिनीको रुपमा उनी पहिलो पटक पर्दामा उदाइन् । यसपछि उनलाई टेलिभिजनमा सङ्गीत सन्ध्या कार्यक्रम चलाएकी थिइन् । उदय सोताङ, दीपक वज्राचार्यको, हरिवंश आचार्य, किरण केसी, नागेन्द्र श्रेष्ठ, हेमन्त शर्माका गीतमा अभिनय समेत गरिन् ।

जीवनरेखा (२०५९) उनको दोस्रो चलचित्र थियो । उनी त्यस चलचित्रमा सिमान्त उदाससँग देखिइन् तर उनलाई त्यस चलचित्रबाट पहिचान बनाउन खासै मद्दत गरेन । उनले तेस्रो चलचित्र इन्द्रेणी गरेकी थिइन् तर यसमा सात जना नायिकाहरु थिए । उनी कलाकारको भीडमा यस पटक पनि हराइन् । "जबसम्म नायकसँग नाच्न पाइँदैन, तबसम्म नेपालमा हिराइनको पहिचान बन्न सक्तैन । तबसम्म नेपालमा गनिएको कलाकार बन्न सकिदैन रहेछ । यो मेरो निजी अनुभव हो", इनशाडटकमको कार्यालयमा कुर्सीमा अडेस लाग्दै अरुणिमाले बताइन् ।

त्यसो त उनले चलचित्रसँगै टेलिसिरियलमा पनि काम गरिन् । गहना, वंश, असल लोग्ने, कथा, ज्योतिजस्ता श्रृंखलाले उनलाई राम्रै परिचय दिलाएको थियो ।

यसपछि 'सन्तान'मा निखिल उप्रेतीसँग नाच्न पाउँदा दङ्ग परेकी थिइन् । "खासमा सन्तानअघि मैले कुनै पनि चलचित्रमा नाच्ने-गाउने, लब-ट्रयाजेडी आदि अनुभव गरेकी थिइनँ । तर सन्तानमा यी सबै अनुभव गर्न पाउँदा म त दङ्ग थिएँ", आफ्ना शुरुवाती दिनलाई सम्झँदै अरुणिमा बताउँछिन् ।

त्यसपछि मात्रै उनको जिन्दगीको सबैभन्दा हिट फिल्ममा सहभागी भइन्- धडकन (२०६१) मार्फत् । २०६२ मा काठमाडौँ उपत्यकाबाहिर र २०६३ को बैशाखमा उपत्यकाभित्र रिलिज भएको यो चलचित्र २०६३ कै सबैभन्दा बढी कमाउ चलचित्र बन्यो । सँगसँगै उनको अभिमन्यू (२०६३) उपत्यकाबाहिर रिलिज भयो । यसले उनलाई सम्भावनायुक्त अभिनेत्रीका रुपमा स्थापित गर्‍यो । पाँच वर्षमा जम्मा पाँच वटा चलचित्रमा खेलेकी उनले २०६३ भरि उनले १० चलचित्रमा खेलिसकेकी छिन् । उनी यसलाई भाग्यकै करामत मान्छिन् ।

हुन पनि उनले अभिनय गरेका भरोसा, हामीसाथीभाइ, अग्निज्वाला, कानून, सजनवा अनाडी सजनिया खिलाडी मध्ये भरोसा प्रदर्शन भइसकेको छ भने चार वटाको काम सकिइसकेको छ । अहिले आरोप, मर्यादा, देशदेखि परदेशसम्मको सुटिङ सकिइसकेको छ भने अन्य दुइ चलचित्रको सुटिङ २०६३ मा सर्ने भएको छ ।

यति व्यस्त तर यही व्यस्ततामा उनले अमित अर्यालसँग बिहे गरिन् । किन त ? "मैले करियर र निजी जीवनलाई एक साथ लैजाने निर्णय गरेँ । सात वर्षको प्रेम प्रसङ्गको केही त परिणाम आउनु नै थियो । त्यही भएर", हाँस्दै उनले बताइन् । त्यसो त उनलाई श्रीमान
अर्यालका तर्फबाट राम्रो सहयोगका कारण यसमा नियमित हुन सघाउ पनि पुर्‍यायो ।

वैवाहिक जीवन के अर्थमा राम्रो, के अर्थमा नरमाइलो ? "रमाइलो नै रमाइलो । मेरो कोही छ भन्ने महसूस हुँदोरहेछ । संसारको जुनसुकै कुनामा भए पनि एक्लो महसूस हुँदैन । खासमा व्यवसाय र निजी जीवनलाई 'ब्यालेन्स' गर्न जाने वैवाहिक जीवन रमाइलो हुन्छ । बिहे पछि चाहिँ बिहेअघिजस्तो 'फ्रिकआउट' हुन पाइँदैन । घरमा कोही कुरिरहेको छ भन्ने 'फिल' हुन्छ र चाँडै घर जाने हतारो हुन्छ", उनले बताइन् ।

"पापाको लागि त ममी हुनुहुन्छ, तर उहाँको त मै मात्र त हुँ भन्ने फिल हुँदो रहेछ", एउटी जिम्मेवार 'घरवाली'को अभिव्यक्ति थियो । यही बीचमा उनको मोबाइल बज्यो । उनले फोन उठाइन् र भनिन्- "हेल्लो, अँ य... आई नो... अनि ?...हजुरकै कुरा भइरा'छ याँ । यसो भयो यो के केको लागि इन्टरभ्यू भइराछ... अनि बिहे गर्दाको फरक के हुन्छ भन्दाखेरी म बताइराछु, कुरा काटिराछु.... हजुर यस्तो हुनुहुन्छ, त्यस्तो हुनुहुन्छ भनेर...हि..हि..हि... ल...हुन्छ...ल...बाई ।"

उनले फोन राखिन् र अन्तरवार्ताकारतिर हेरिन् । "उहाँको फोन थियो...मेरो बारेमा राम्रो राम्रो बता है भन्दै होइसिन्थ्यो...हि...हि...हि..", श्रीमान
अर्यालको आवाजले रोमाञ्चित अरुणिमाको अनुहार दिप्त थियो त्यसबखत् ।

उनको श्रीमानको सबैभन्दा सबल पक्ष के लाग्छ उनलाई ? "उहाँ स्ट्रङ होइसिन्छ", हौसिँदै उनले भनिन्- "जस्तो उहाँले म यो वर्ष पढ्न थाल्छु र पास गर्छु भनिस्यो भने मैले बाजी हारिरहेकी हुन्छु । उहाँले बोलेको कुरा पुर्‍याइसिन्छ ।" "उहाँले २०६२ सालमा बिहे गर्छु भनिस्याथ्यो, र मैले अनेक बहाना बनाए पनि आखिर मैले हार्नै पर्‍यो", रमाइलो हाँसोसहित उनले थपिन् ।

उसो भए उनलाई श्रीमानको के कुरा मन पर्दैन त ? "ओछ्यानमा खाने उहाँको बानी मलाई मन पर्दैन", उनले हाँस्दै थपिन्- "त्यस्ता सानातिना अनेक हृयाबिट मन पर्दैन तर त्यो पनि एक किसिमको रमाइलो त्यसमा पनि भइरहेको हुन्छ ।"

पछि बूढी हुञ्जेलसम्म छोरानातिहरुलाई आफ्ना अभिनय कृति देखाउने रहर छ तर पैसाकै लागि मरिहत्ते गर्ने उनको कुनै रहर छैन ।


रोचक तथ्य
-        क्यामेरामा पहिलो पटक उभिँदा उनलाई डर नै लागेन । क्यामेरामा उभिनु त ऐनाअगाडि उभिएजस्तो             पो  लाग्यो !
-        यो 'यस्तै रहेछ जिन्दगी' चलचित्रमा अभिनय गर्नुअघि निर्देशक बिस्व बस्नेतले अरुणिमा र अन्य नयाँ         कलाकारहरुलाई 'क्लोज क्याम्प'मा राखेका थिए ।
-        यस्तै रहेछ जिन्दगी रिलिज हुन दुइ वर्ष लागेको थियो ।
-        यस्तै रहेछ जिन्दगीको सुटिङ क्रममा राजेश हमालकी आमा र सिर्जना बस्नेतका श्रीमान् विजु                         रञ्जितको  मृत्यु भएको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
अभिनेत्री रोचक क्या बात ! कन्ट्रोभर्सी पेज 3 नवीनता ग्ल्यामर पार्टी निर्देशक फिल्म फेस्टिबल रोमान्स घोषणा सोच कार्यक्रम सेक्स अभिनेता सञ्चारकर्मी प्रविधि
Browse Tags in Other Group
 
 
Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,