Home» City Life »Updates

ऐश-अभिको पशुपति भ्रमण

संसारकै सबैभन्दा लायकदार कलाकार दुलाहा-दुलही अभिषेक बच्चन र ऐश्वर्या रायको बिहे खिच्न भारतीय टेलिभिजन च्यानल, पत्रिका तथा इन्टरनेटका सम्वाददाताहरु आतुर छन् । तर बच्चन परिवार यो मामिलामा यति कञ्जुस देखिएको छ कि एउटा सानो सूचना पोख्नसमेत मानिरहेको छैन । यस्तो स्थितिमा अभिषेक बच्चन र ऐश्वर्या राय नेपाल आउने खबर फैलिएपछि भारतीय मिडियाले गर्न नसकेको काम कतै हामीले पो सकिहाल्छौँ कि भन्ने उत्साहका साथ अधिकांश प्रमुख पत्रिका तथा टेलिभिजन च्यानलका पत्रकारहरुको भीड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपति क्षेत्रमा लागेको थियो ।

खबर पनि कतिसम्म पक्का जस्तै थियो भने उनीहरु ५:४५ बजे अनील अम्बानीको चार्टड विमानद्वारा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने छन् । त्यसपछि पशुपतिनाथ मन्दिरमा उनीहरुको भव्य पूजा शुरु हुनेछ र राति ९:१५ बजे सोही चार्टड विमानद्वारा उनीहरु मुम्बई फर्कने छन् ।

त्रिभुवन विमानस्थलमा अभि-ऐशको तश्वीर पाउने आशामा केही उत्साही पत्रकारहरु त बिहान ११ बजेदेखि नै क्यामेरासहित तम्तयार थिए । अरु पनि ४:१५ देखि विस्तारै त्यहाँ आउन थाले । कोही पत्रकार भने पशुपतिनाथ मन्दिर परिसरतिर पनि घुमिरहेका देखिन्थे ।

ठीक साँझ ४:३० मा प्रहरीको एउटा ट्रक पशुपतिनाथमा आएर रोकियो । दक्षिण ढोकाको सामुन्नेमा नै पन्ध्र मिनेट रोकिएपछि ट्रक त्यहाँबाट बाहिरियो । केही पत्रकारले ट्रक रोकिनुको कारण सोधपुछ गरे पनि त्यो ट्रक ऐश-अभिकै सुरक्षाका लागि नभएको कुनै पुख्ता प्रमाण फेला परेन । केही पत्रकारहरुको तर्क थियो- भारतमा जसरी बच्चन परिवारले सूचना लुकाएको छ, त्यसै गरी यहाँ पनि त्यही नीति अख्तियार गरिँदैछ ।

केही पत्रकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अझै कुरिरहेका थिए । विमानस्थलमा नेपालस्थित भारतीय दूतावासको गाडी देखियो । दूतावासका कर्मचारी चिन्ने केही पत्रकार त्यहाँ लम्किए । दूतावासका कर्मचारीहरुले एउटा सानो 'प्रोटोकल'का लागि मात्र आएको बताइरहेका थिए । केही पत्रकारले तिनीहरु विमानस्थलमा देखिनु नै उनीहरु आउनसक्ने प्रमुख कारण मानिरहेका थिए ।

अब घडिको सुइले ठीक ५:१५ बजायो । विमानस्थलमा राखिएको टेलिभिजन स्क्रीनले एउटा चार्टड विमानको ओर्लने समय देखायो । पत्रकारहरुले आफ्ना तीर-भाला (क्यामेराहरु) ऐश-अभिको तश्वीरका लागि सोझ्याए । तर, केही सुरक्षा अधिकारीहरुले त्यो विमानमा अभि-ऐश नभएको बताए । तर पनि पत्रकारहरु त्यति निराश देखिएनन् । प्लेनबाट ओर्लिएका अतिथिहरु अझै आइपुगेका थिएनन् । तिनलाई कुरे । त्यसपछि, जे ट्राभल्स खोज्दै आएका जिन्दल परिवार आफ्नो मालसामानसहित देखिए । यी
अतिथिहरु चौधरी परिवारका आशादीप निर्वाणा चौधरीको बिहेका लागि आएका रहेछन् ।

ज्याद्रा पत्रकारले अझै ती व्यक्तिलाई पनि छाडेनन् । एक पत्रकारले जिन्दल परिवारकी सबैभन्दा राम्री केटीतिर प्रश्न फ्याँके- "हैन, तपाइँहरुसँगै ऐश-अभि आउने कुरा थियो, तिनलाई कतै देख्नु भयो कि ?" बोल्नमा बिछट्टकी रै'छन् ती युवती । भनिहालिन्- "ए, उ आएन । उसले मलाई भन्दैथियो, त्यहाँ मेरो साटो तिमीले नै बोलिदिनू ।" त्यसपछि तिनको गाडी हुइँकियो ।

केही पत्रकार ऐश-अभि आउने आशामा अझै पनि विमानस्थलमा दायाँबायाँ गरिरहेका थिए, तर अधिकांश पत्रकार चाहिँ दोस्रो अप्रिल फूल मनाउँदै आफ्नो गन्तव्य फर्किए । केही पत्रकारहरुलाई उनीहरु आउने कुरामा यति पक्का थियो कि राति साढे नौ बजेसम्म पनि पशुपतिनाथको मन्दिर परिसरमा घुमिरहेका थिए ।

-अच्युत कोइराला



भुत्ते भयो हतियारः विमानस्थलमा भेला भएका पत्रकारहरु


झुक्याउने मेसिनः यही स्क्रीनमा देखिएको मु्म्बई फ्लाइटले पत्रकारहरुलाई विश्वस्त पारेको थियो- ऐश्वर्या राय र अभिषेक बच्चन अवश्य आउनेछन् ।


खोदा पहाड, निकला चुहाः चार्टड गरिएको जहाजबाट आएका मुम्बईका जिन्दल परिवार ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
hi-life सेलेब्रिटी हल्ला समलिङगी मोबाईल पेट्रोल awards माओवादी crisis संविधानसभा celebrity अनुभव streets festival events
Browse Tags in Other Group
 
 
Tags in Technology
gadgets mobile digital camera phone software people speak laptop communication Filming
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,