Home» Television »Biography

एक अलग व्यक्ति

 

उनलाई के नपुग्दो थियो - एउटा सम्पन्न परिवारमा जन्मिएका थिए । खान लाउन समस्या थिएन । उनका आधा नातेदार त अमेरिकामा बस्छन् । उनी आफू नेपालमा जन्मिएकोमा पछुताउँथे, दुःख मान्थे र निकैबेरसम्म घुँक्क घुँक्क गरेर रुन्थे । उनलाई बुझिदिने कोही थिएन । घरमा, समाजमा, स्कूलमा- कहीँ कतै उनको भित्री तह खोतल्ने प्रयास कसैले गर्दैनथे । त्यसैले उनी स्कूल जान मन गर्दैनन्थे । कान्ति इश्वरी शिशु विद्यालयको पढाइपछि उनी सेन्ट जेभियर्स स्कूलका छात्र भए । एउटा कुनामा उनी चूपचाप गुरुजनका कुरा सुन्थे, करले पढ्थे र भोलिपल्ट फेरि स्कूल जानुपर्ने वाक्कलाग्दो नियम देखेर दिक्क मान्थे । स्कूलमा उनी या त आफ्ना साथीभाइहरुसँग रिसाहापूर्ण व्यवहार गरिरहेका हुन्थे र मन नपर्ने साथीलाई घुरेर हेरिरहन्थे कि त एउटा कुनामा चूपचाप बसिरहन्थे ।

अपूण स्कूल

उनले आफ्नी आमाको पछ्यौरी तर कहिल्यै त्यागेनन् । आमासँगै हरबखत पछ्यौरी समातेर जहीँजहीँ हिँडिरहेको लजालु केटोलाई धेरैले उति मतलब पनि गर्दैनथे । उनलाई मन्दिर जान चाहिँ मन पथ्र्यो । अर्थ यो होइन कि उनी धार्मिक प्रवृत्तिका थिए, बरु उनीभित्रको कला बुझ्ने तिनै मन्दिर थिए । मन्दिरमा अज्ञात मूर्तिकारहरुले कोरेका नृत्य र अलङ्कारबोध गराउने हरेक मूर्ति उनका प्रिय सङ्गी थिए । उनीहरुले मन्दिरमा जस्तो भाव-भॅगिमा र नृत्यकोण बनाएका हुन्थे, ती सबैको अनुकरण गरेर उनी घरमा अभ्यास गर्थे । तिनीहरुको जस्तो पारा आयो कि आएन भनेर गुनिरहन्थे ।

आठ कक्षापछि उनले स्कूललाई त्यागिदिए । स्कूलका कुनै साथी 'साथी' हुन सकेनन् । विद्वेषपूर्ण वातावरणमा पढ्नु भन्दा नपढ्नै जाति- उनको सोचाई थियो । घरमै शिक्षकहरु नियुक्त गरेर उनले निजी एसएलसी दिए । एसएलसी पास भएपछि उनी अमेरिका लागे ।

अमेरिकामा उनले फोटोग्राफी पढे । मेरिल्याण्डको उनले पढ्ने त्यो कलेज 'पर्फमङ आर्ट्स्'का लागि वरपरसम्मै निकै चर्चित थियो । त्यहाँ शुरुमा 'देखाउने दाँत'का लागि मात्र 'फोटोग्राफी' पढेका थिए तर पछि आफ्नो नाम 'अभिनय र निर्देशन'मा लेखाए । त्यही कारण उनी कालान्तरमा नेपाली संगीत र टेलिभिजन उद्योगका एक सशक्त हस्तीका रुपमा उदाए । अहिले मानिसहरु उनलाई आलोक नेम्वाङका रुपमा चिन्दछन् ।

बालककालको सपना

उनलाई अझै याद छ, चित्र बनाउन रुचाउँथे उनी । चित्र अरु केहीको बनाउन जान्दैन थिए, हवाइजहाज चाहिँ राम्रै बनाउथे । चित्रकलामा एउटा महत्वपूर्ण नियम छ, 'डाइमेन्सन' (आयाम) को । जबसम्म चित्र त्रिआयामिक हुन सक्तैन, तबसम्म त्यो चित्र वास्तविकताको नजिक हुन सक्तैन । सानामा उनले बनाउने चित्र थाहा नपाइनपाइ पनि त्रिआयामिक हुन्थे । तर बा-आमाको प्रश्नमा भन्ने गर्थे- म पाइलट हुन्छु र प्लेनमा तपाइँहरुलाई उडाउँछु ।

एक दिन त उनले उडाउने गरेको हवाइजहाज सीधै आफ्नो बाबाको टाउकोमा अवतरण गरिदिए । माथिबाट एक्कासि बज्रिएको खेलौने हवाइजहाजको तोडले उनको बाबाको माथा गरम गरिदियो । त्यो दिनदेखि उनले हवाइजहाज उडाउने सपना देख्न छाडिदिए ।

त्यसपछि हो उनी नृत्य र जिउको भावभॆगिमातिर आकषिर्त हुन थालेको । कलेजमा जब उनी पर्फमिङ आर्ट्स् पढ्न थाले, उनलाई जिउको भावभॆगिमाबारे बल्ल थाहा हुन थाल्यो ।

सुदूरभविष्यको निर्देशक


कलेजमा हुने गरेका नाटकमा अभिनय गर्ने, तिनको व्यवस्थापन गर्ने र तिनलाई निर्देशन गर्ने खुबी उनका प्राध्यापकहरुले निकै कम समयमा पत्ता लगाए । र, उनलाई तिनै काम जिम्मा दिन थाले । अब आलोकले मनमाफिक काम पाए र पूर्ण लगनका साथ काम गर्न थाले । साढे पाँच वर्षो अमेरिका बसाइमा उनले सिनेमा र पर्फमङ आर्टस्का अनेक कलाहरु सिके । त्यही बेला उनले निर्णय गरे, मेरो भविष्य यही क्षेत्रमा छ ।

तर नेपालमा आफू अटाउँछु भन्ने उनलाई टाढाटाढासम्म सोच थिएन । नेपाल त र्फकनै चाहँदैनथिए । त्यसैले छ वर्षो अमेरिका अध्ययनको क्रममा उनले नेपाल फर्कने सोचसम्म बनाएका थिएनन् । यहाँ उनकी बूढी आमा छोरा फर्कने आशामा थिइन् । आमाले धेरै कर गर्नुभयो भन्ने हिसाबले केही दिनका लागि उनी सन् १९९२ मा नेपाल आए ।

आफ्नै गाउँ फर्किआएँ

"अमेरिका गएपछि मलाई थाहा भयो, यहाँका बच्चाहरुलाई संसारकै सबैभन्दा माया गरिँदो रहेछ । अनि यो पनि थाहा भयो, यहाँका विद्यार्थीलाई संसारकै सबैभन्दा प्राचीन तरिकाले पढाइँदो रहेछ", राजधानीको एउटा सुविधासम्पन्न रेष्टुराँमा मह घोलिएको 'हट लेमन'को स्वाद लिँदै आलोकले भने- "घरमा निकै माया पाउँछन् यहाँका बच्चाले । उनीहरुको मनमाफिक काम गर्न छुट छ तर स्कूलमा त्यस्तो छैन । स्कूलमा शिक्षकको मनमाफिक काम गर्नुपर्ने हुन्छ ।" त्यस्तो वातावरणमा आफू घुलिन नसक्नुको कारण उनी भर्खरै थाहा पाउँदैछन् । त्यसैले नेपालप्रति उनको धारणा त्यति सकारात्मक थिएन । उनलाई लाग्थ्यो- यहाँका मान्छेहरु दबाबमा काम लगाउँछन्, दबाबमा राख्न रुचाउँछन् ।

अमेरिकामा पढेका आलोकको चिन्ता यहाँ बस्ने दिदीभिनाजुलगायत सबैलाई हुने नै भयो । आलोकजस्ता सम्वेदनशील व्यक्तिलाई फकाइफकाइ काम लिनुपर्छ भन्ने थाहा पाएका उनका परिवारजनहरुले त्यस्तै वातावरण दिने प्रयास गरे । उनका भिनाजु विजय लामा (विमान चालक, गायक, अभिनेता) ले इमेज च्यानलमा सन् १९९२ मा लगेर भूषण दाहालसँग चिनाए । भूषणको पारखी आँखाले उनलाई चिन्यो र दुइ वटा भिडियो टेप दिएर 'आफूलाई मनपर्ने कार्यक्रम बनाएर देऊ' भने ।

टेलिभिजन उनको आकर्षाको पक्ष थिएन, उनले भिनाजुको करले काम गर्छु भने तर भित्री हृदयबाट उनी केही महिना छुट्ट मनाउने हिसाबले इमेज च्यानल पुगेका थिए । त्यसबेला जानेको कला जनसमक्ष पुर्‍याउने सबैभन्दा सबल माध्यम टेलिभिजन नै थियो । त्यसैले शुरुवातलाई 'नट ब्याड' ठानी उनले 'इमेज पप'को पहिलो कार्यक्रम बनाए । उनलाई अझै याद छ- मिस नेपाललाई व्यंग्य गरी बनाएको 'मिस कपाल'लाई छायाँकन गर्दागर्दै छायाँकार विदुर पाण्डेले छायाँकन बीचमै रोके । भर्खरै च्यानल छिरेका आलोक छायाँकारको यो व्यवहार देखेर चकित भए । पछि थाहा पाए, छायाँकार पाण्डे भूषण दाहालसँग छलफल गर्न गएछन् र भनेछन्- "भूषण दाइ यो केटो त असाध्य ट्यालेन्ट रै'छ । यो खिचेको कुरा 'डम्मी' बनाएर थन्क्याउने होइन, सीधै प्रसारण गर्नुपर्छ । यस्तो कार्यक्रमलाई थन्क्याउनु हुन्न ।"

सफल मनोरञ्जक

यसपछि उनको सफल मनोरञ्जकको एउटा लामो यात्रा शुरु भयो । उनी इमेज च्यानल छिर्दा सबैभन्दा मुन्तिर उनको नाम थियो । उनीपछि एउटा मात्र नाम आउँथ्यो टेलिभिजनको पर्दामा । त्यो नाम थियो- प्रभा अमात्यको । उनले एक दशक अलि बढीको समयमा त्यहाँ यस्तो हैसियत बनाए, जसको परिणामस्वरुप उनी सबैभन्दा पहिले नाम आउने अधिकारी बने ।

त्यहाँ बस्दा नै उनले कार्यक्रमको बनोट तयार गर्नेदेखि लिएर म्युजिक भिडियो निर्देशन गर्नेसम्मको काम गर्न भ्याए । उनी सबैभन्दा चर्चित त त्यतिबेला भए, जब उनले बनाएको भिडियो सबैभन्दा बढी बज्ने गीत बन्न थाले । उनले भिडियो निर्देशनको शुरुवात् नवीन के. भट्टर्राईको 'लाखौँ पटक कोशिश गरेँ...' बाट गरे । उनले त्यस भिडियोमा नाचेका पनि छन् । त्यो भिडियोको सफलतापछि उनी पुनः चर्चाको वृत्तमा रहे ।

यसपछि लगातार सफल भिडियोहरुको लामले उनलाई नेपालकै व्यस्ततम् भिडियो निर्देशकको रुपमा उभ्यायो

लामो विश्रामको खोजी

मान्छे हाडछालाले बनेको हुन्छ । मनमा जतिसुकै फर्ूर्ति भए पनि क्षमताभन्दा बढी भार भयो भने उसलाई रोगले च्याप्छ । यस्तै महसूस गरे । उनलाई जीउमा पहिलेजस्तो फूर्ति नरहेको भान भयो । एक दिन उनको नजिकको साथीले भनिन्- "आम्मा ! के भयो तिमीलाई - कहाँ गयो तिम्रो अनुहारको चमक ?"  साथीको प्रश्नले उनी झस्किए । 'के भएको छ र मलाई ?' आफैँले आफूलाई प्रश्न गरे । साथीले भनिन्- "यस्तै हो भने अबको केही वर्षछि तिमी एकादेशको कथा हुन सक्छौ आफ्नो जीउको ख्याल गर !" भोलिपल्ट बिहान उनले आफूले आफूलाई ऐनामा हेरे । साँच्चिकै उनलाई आफू निकै थकित गलित अनुहारको पाए । उनले त्यो साथीलाई लाखलाख धन्यवाद दिए । थकाइ मार्न उनले इमेज च्यानल छाडिदिए ।

उनी केही महिना आरामपूर्वक बसे, त्यसबेला उनले संगीत सोचेनन्, दृश्य कल्पेनन् र एउटा पूर्ण छुट्टिको रमरमी अनुभव गरिरहे ।

उनीजस्ता 'हट प्रोपर्टि' खाली बसेको कुरा भूषण दाहालले कसरी देख्न सक्थे । उनलाई कान्तिपुर टेलिभिजनबाट निम्तो आयो । लामो छुट्टिपछिको नयाँ जोश र केही गरौँ भन्ने भावनाले प्रेरित भएर उनी फेरि जोस्सिए । र, कान्तिपुर टेलिभिजन 'ज्वाइन्' गरे । तर सोचेजस्तो कहाँ हुन्छ र ! केही आफ्नै सीमितता र केही वातावरणले आफूले सोचेजस्तो गर्न नपाएपछि उनको जोश चाँडै सेलायो । त्यसपछि कान्तिपुर छोडेर आफू म्युजिक भिडियोमा मात्र केन्द्रित हुनेबारे योजना बनाए ।

भिडियो किङ

टेलिभिजन छोडेपछि उनी म्युजिक भिडियोमा मात्र सीमित भएर प्रशस्त सोच्ने अवसर पाए । त्यसपछि त उनलाई संगीत उद्योगका सञ्चालकहरुले घुरुप्प घेरे- "मेरो भिडियो निर्देशन गरिदिनु पर्‍यो ।" सक्दो र भ्याउँदो गरी उनले सबैलाई रिझाएकै छन् । त्यसैले त उद्योगमा उनी सबैभन्दा लोकप्रिय भिडियो निर्देशकको रुपमा पनि परिचित छन् ।

तर धेरैले आरोप लगाउँछन् उनलाई- थोकमा भिडियो बनाउने निर्देशक भनेर ! तर उनी त्यसलाई ठाडै अस्वीकार गर्छन्- "यत्रो करियरमा ९० वटा पनि भिडियो बनाएको रहेनछु, अब तपाइँ आफैँ भन्नुस्- म थोकमा भिडियो बनाउँछु कि !"

सिनेमाप्रतिको उनको रुचि

सिनेमा उनको पहिलो प्रेम हो । उनी सिनेमा हेर्छन् र त्यसलाई माया गर्छन् । आफू पनि त्यस्तै सिनेमा बनाउन पाए भनेर सोच्छन् । नुमाफुङजस्ता रुचिपूर्ण सिनेमाको प्रस्ताव आयो भने खेल्न पनि बाँकी राख्दैनन् । सिनेमाप्रति उनको झुकाव देखेर नै कतिपय लोकप्रिय नायक नायिकाहरुले लगानीको प्रस्ताव नराखेका पनि होइनन् । उनलाई पैसा कमाउने चलचित्र बनाउनु छैन, सबैलाई मनपर्ने चलचित्र बनाउनु छ । सम्झौता भन्ने शब्ददेखि उनलाई घृणा छ । त्यसैले त्यो शब्द घुस्ने सम्भावना भएका सबै ठाउँ उनले त्याग्दै आएका छन् । दवाव र सम्झौतामा गरिने कामप्रतिको अलगावका कारण नै उनी अझै माथि जान नसकेका हुन् भनेर कतिपय शुभेच्छुकले भन्छन् ।

"ईश्वरको कृपाले अहिलेसम्म खाली छु भनेर सोच्नु परेको छैन", मह घुलिएको 'हट लेमन' अन्तिम सुरुप पार्दै उनले भने- "अहिले पछाडि फर्केर हेर्दा आफूले गरेका कामप्रति पश्चाताप गर्नुपर्ने ठाउँ देख्दिनँ ।"

तर सपना पनि देख्न छाडेका छैनन् उनले । एक दिन उनले आफूलाई मनपर्ने सिनेमा बनाउने छन् र त्यो हेरेर संसारले भन्नेछन्- 'स्याब्बास् आलोक, तैँले मैले चाहेको कुरा सिनेमामार्फत् दिइस् ।'

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Biography
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country