Home» Music »Feature

पुनमको आकर्षण

भ्रममा पर्नु होला तपाइँ कि मैले सुन्दर पुनम पन्तको कुरा गर्न लागेँ भनेर ! त्यसो होइन बरु उनको स्वरको कुरा गर्न लागेको ! उनले आठ वर्षयता आधुनिक गीत गाएर जुन लोकप्रियता पाएकी थिइनन्, त्यो एकै झमटमा तारादेवीका दुइ पुराना गीत गाएर पाएकी छिन् । तर तपाइँले सोच्नु भएजस्तो उनले रिमिक्स गाएकी चाहिँ होइनन् ।

आठ वर्षयता उनका तीन एल्बम आइसकेका छन् । शास्त्रीय सङ्गीतकी यी विद्यार्थीले शुरुमा साथीहरुसँग 'कलेक्शन एल्बम' निकालिन् । २०५८ सालमा 'प्रारम्भ' नामबाट निकालिएको यो एल्बमको चर्चो न त रेडियोले गर्‍यो न त कम्पनीले नै गरिदियो । तापनि उनले हिम्मत हारिनन् । एकल प्रयासबाट धरहरा म्युजिक सेन्टरबाट 'उनको यादमा...' (२०६०) बजारमा ल्याइन् । यसको एउटा गीत 'पाखाभरि फूलै फूल्यो....'लाई श्रोताले मन त पराए तर एल्बमको उति प्रचार हुनै पाएन । यसपछि पनि उनलाई सङ्गीतसँगको नाता तोड्न मन लागेन । फेरि तात्तिइन्, अर्को एल्बम निकाल्न । यसरी जन्मियो उनलाई चिनाउने एल्बम 'आकर्षण' ।

त्यसो त उनको स्वर सुन्नेहरुले उनलाई अरुणा लामा र तारादेवीसँग पनि नदाँजेका होइनन् । हुन पनि बच्चादेखि नै अरुणा लामा र तारादेवीका गीत सुनेर हुर्किएकी उनले तारादेवीका गीतलाई भित्रैबाट गाउनु स्वाभाविक पनि थियो । तर यस पटकको एल्बममा कम्पनीको रुचि र उनको समर्पण दुवै मिलेको छ । उनले आफ्नो एल्बमलाई रुचिपूर्ण बनाउन तीन पुराना (हिट गीत) र बाँकी सात वटा आफ्नै सिर्जना पस्किएकी छिन् ।

तर यस पटकको एल्बमको अनौठो अनुभव के भयो भने उनलाई, तारादेवीको 'कालीपारी दाइ'लाई आफूले गाएर भिडियो समेत बनाएपछि आठ वर्षमा बनाउन नसकेको परिचय एकै पटकमा बन्यो । "यो ठूलो विडम्बना नै हो", पुनमले इनशाडटकमसँग बताइन्- "अहिले धेरै मान्छेले साँघुरी... गाउने गायिका भनेर चिन्न थालेका छन् ।"

यी गीतले उनलाई चिनाए पनि साँघुरी वारी... काली पारी... दुइ गीतको गाउने स्वीकृति लिन उनलाई कम सकस परेन । यी दुइ गीतको गाउने अधिकार लिन ६ महिना झुलाइदिए अधिकारवालाहरुले । नयाँ कलाकारलाई कति गाह्रो भने नगाउँ त आफ्नो परिचय नबन्ने गाउँ भने त्यसभित्रको पीडा अनेक ! तापनि उनलाई सबैभन्दा अचम्म चाहिँ जनकविकेशरी धर्मराज थापाले एउटा गीत (काली पारी दाइ कति राम्रो) को अधिकार दिन २५ हजार रुपियाँ मागेकोमा लागेको छ । "मैले उहाँको गीत गाएर के के न पाउँछुजस्तो गरेर २५ हजार माग्दा त म खङ्ग्रङ्ग भएँ । किनभने मसँग त्यति धेरै पैसा थिएन । पछि उहाँको छोराले उहाँलाई ८ हजार रुपियाँमा मनाउनु भयो", लामो सास फेर्दै उनले भनिन्- "हुन त पैसा ठूलो कुरा थिएन, तर नयाँ कलाकारको साझा मर्का हो यो ।"

त्यसो त अर्को गीत "साँघुरी वारी" गीतको अधिकार लिँदा पनि कम सकस परेन उनलाई । सर्जक पुण्यप्रसाद सुवेदीको देहान्त भइसकेको हुनाले नजिकको नातेदार खोज्दै उनी जसकहाँ पुगिन्, उनले पनि उनको स्वर, शैली र शिल्प जाँचेर मात्र गाउने स्वीकृति दिएका थिए । रमाइलो उनलाई के लाग्यो भने, "पछि उहाँहरुले रेकर्ड गर्दाको स्वर र सङ्गीत रुचाउनु भयो", उनले खुशी हुँदै बताइन् ।

उनको गाउने उत्साह त गज्जबकै छ, तर पनि गायनमा सहजता र स्वरको लचकताको भने अझै उनबाट आशा गर्नुपर्ने त छ नै !

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
गायिका रिलिज सङ्गीतकार समुद्रपार लुकेका कुरा कीर्तिमान तातोपीरो ट्रयाक बाहिर क्या बात ! नेपाली तारा अवार्ड उपलब्धि प्रेम र विवाह भिडन्त विचार पेज थ्री रुचि गीतकार गायक कन्सर्ट
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल