Home» Around the World »Weird and Interesting

जेलमा पाँच तारे होटलको सुविधा


सामान्य सोचाई के हो भने यदि कोही जेल जान्छ भने समाजका लागि गरेको खराबी उसले जेलमा तिर्छ । तर अब उल्टो हुँदैछ अमेरिकामा । यदि तिर्न सक्ने खुबी उसमा छ भने उसले जेलमा पाँच तारे होटलको सुविधासमेत पाउनेछ । उसले अब आफ्नो गाडी दुर्घटना गर्‍यो र सार्वजनिक सम्पत्ति दुरुपयोग भयो भने ऊ जेलमा त पर्छ तर उसँग दैनिक कम्तीमा ८५ डलर (साढे पाँच हजार नेपाली रुपियाँ) तिर्ने हैसियत छ भने पाँच तारे होटलको सुविधा उसले जेलमा नै पाउन सक्छ । उसलाई त्यहाँ मोबाइल लैजाने, सानोतिनो पुस्तकालय बनाउने, एउटा छुट्टै सफा कोठा उपलब्ध गराइने व्यवस्था अमेरिकाको लस एञ्जलसमा गरिसकिएको छ ।

यो सुविधाअन्तर्गत उनीहरुले आफूले किनेको कोठालाई जस्तोसुकै स्वरुपमा ढाल्न सक्छन् । यसलाई नाइटक्लब बनाएर रातभर नाच्न सक्छन् र प्रहरीहरुले बाउन्सरको भूमिका खेलिदिन सक्छन् । तपाइँले रुचाएका जेलका अन्य व्यक्तिहरुलाई प्रवेश दिलाएर बाँकीलाई छिर्न नदिन पनि सक्नु हुन्छ ।

"मलाई अहिले यहाँ पाँच तारे हिल्टन होटलमा बसेजस्तो अनुभव भइरहेको छ", निकोल ब्रकेट, २२, ले न्यूयोर्क टाइम्सका सम्वाददातासँग भनिन्- "यो ठाउँ निकै सफा छ र सुरक्षित पनि । वरपरका केटीहरु पनि मलाई प्यारो गर्छन् । कतिसम्म भने एउटीले त मलाई नुहाउन स्याम्पूसमेत दिई ।" जाँड खाएर गाडी चलाएकाले उनी २१ दिनका लागि जेल परेकी हुन् । उनका करोडपति बाउको पैसा यही बेला सदुपयोग भएको छ । प्रति दिन ८५ डलर तिरेर उनले यो विशेष व्यवस्था मिलाएकी हुन् ।

अहिले मूलतः ७५ देखि १२७ डलरसम्ममा पाइने यस्ता सुविधासम्पन्न जेलका कोठामा आइपड र कम्प्युटरसमेत राख्न मिल्ने बनाइएका छन् । जसमा मज्जाले गीत सुन्नेदेखि लिएर उपन्याससम्म लेख्न मिल्ने बनाइएका छन् ।

"यसको सुविधा के छ भने तपाइँले अनावश्यक झमेला बेहार्नु पर्ने छैन । कहिलेकाहीँ हुने सामूहिक झैँझगडामा पर्नु हुने छैन । आफ्नै कोठामा आरामपूर्वक आफूलाई रुचि लाग्ने काम गर्‍यो, बस्यो । कोही तपाइँलाई बिथोल्न आउने छैन", क्राइम सीन इन्भेस्टिगेशन (सीएसआई) की प्रवक्ता क्रिष्टिन पार्करले भनिन् । उनले जेलमा उपलब्ध हुने सुविधाका बारेमा हेरचाह गर्ने गर्छिन् र उनले यस्ता सुविधा आफूले हेर्ने तीन वटा जेलमा यो सुविधा लागूसमेत गराइसकेकी छिन् ।

अहिले उनले हरेक जेलका १० देखि ३० ओछ्यानमा यो सुविधा उपलब्ध गराएकी छिन् । उनी ती ओछ्यानका बारेमा विज्ञापन नै गर्नुपर्छ भन्ने सोच्दिनन् । त्यसैले त यस्तो सुविधा शुरु गरेको एक दशक बितिसक्दा पनि थोरै व्यक्तिहरुलाई यसबारे जानकारी छ । तर यस्ता कोठाको लोकप्रियता कतिसम्म छ भने सान्ता एना जेलकी प्रबन्धक क्रिष्टिना होलाण्ड भन्छिन्- "एक जनाले त चार वर्षका लागि त्यो कोठा भाडामा लिइसके ।" तर उनले ती व्यक्ति को हुन् र के गर्छन् भन्ने चाहिँ खुलाइनन् ।

त्यसो त यस्ता सुविधासम्पन्न कोठामा बस्नका लागि सजिलो चाहिँ छैन । एकमुष्ठ रकम तिरिसकेपछि मात्र त्यहाँ बस्न पाइन्छ ।

तर यसका विरोधी पनि कम छैनन् । "यो चाहिँ अब अति भो, जेलमा पनि विभेद !" नेशनल सेरिफ संघका तालिम प्रबन्धक माइक ज्याक्सनले भने- "दुइ व्यक्ति उस्तै सजायका लागि जेल परे, एउटा चाहिँ सुविधासम्पन्न कोठामा बस्ने अनि अर्को चाहिँ फोहोरी, कामै नलाग्ने ठाउँमा अरुसँग कोच्चिएर सुत्ने ? कानूनले पैसा हैन, अपराध हेर्नुपर्छ । उस्तै अपराधका लागि दुवैलाई बराबर दण्डित गर्नुपर्छ ।"

यसका पक्षधर चाहिँ यसबाट जम्मा हुने पैसा साँच्चिकै आकर्षक हुने र त्यो पैसाले जेलको स्तर अझ बढी सुधार्न सकिने तर्क अघि सार्छन् । "यदि पैसा तिर्छन् भने हामीलाई यसमा कुनै समस्या छैन", सीएसआईका अपरेशन म्यानेजर स्टिभ लेचुगाले भने- "यत्रो एक दशकमा यसबारेमा कुनै समस्या र गुनासा आएको मैले पाएको छैन । हामीसँग साँच्चिकै सफलताको रेकर्ड नै छ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! उपाय हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति इन्टरनेट प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी जनावर फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: