अर्जुनकुमार फर्किए

रमाइलो छ यो साँझ गीत हिट भएपछि गायक अर्जुनकुमार ताल म्युजिक र गायक सञ्जीव सिंहसित विवादमा परे । उनको गीत हिट भएपछि गायक सञ्जीव सिंहले सोही गीतलाई 'अनप्लग'मा निकाले भनी अर्जुनकुमारको चित्त दुखाई थियो । तर त्यो विवादको अन्त्यसँगै साङ्गीतिक परिदृश्यबाट उनी एकाएक गायब भए ।
गएको २१ शुक्रबार उनी न्यूरोडको एस क्याफेमा झुल्किए । त्यहाँ उनी एक्लै थिएनन्, पत्रकारहरुको पूरै 'बटालियन' पनि थियो । प्रसङ्ग चाहिँ उनको नयाँ तथा चौथो गीति एल्बम 'क्यालिबर'को विमोचन समारोह थियो ।
"गीतसङ्गीत मेरा लागि नशा बन्यो", कार्यक्रमको मञ्चमा उभिएर गायक अर्जुनकुमारले भने- "झन् श्रोताहरुले रुचाइदिएपछि त छोड्नै नसकिने रहेछ !" उनले आफ्नो नयाँ एल्बममा सञ्जीव सिंहकै शब्द/सङ्गीतमा यस पटक पनि गाएका छन् र त्यही गीतलाई भिडियो बनाएका छन् । यो अल्बमलाई म्युजिकडटकमले बजारमा ल्याएको छ ।
हिजोआज कार्यक्रमलाई कसरी फरक तरिकाले सम्पन्न गर्ने र रोचक बनाउने भन्ने सोचाई विकसित हुँदै आएको छ । खासगरी, सानो एल्बम विमोचनमा ठूलो भीँड जम्मा गर्ने र लगभग आधा व्यक्तिलाई बोल्न दिने कुरामा अहिले प्रायः विरोधी भइसकेका छन् । त्यसैले होला, सबैभन्दा रोचकता त कार्यक्रममा त्यतिबेला थपियो, क्यासेटसँगै सित्तैमा फ्लेक्स प्रिन्टिङ गरिदिने कुपन पनि पत्रकार र उपस्थितगणले पाए ।
एल्बमको विमोचन फूर्सदडटकमका निरज कोइराला र साइबरसंसारडटकमका अभिनव कसजू र क्यासेट कभर डिजाइनर अनील स्थापितले संयुक्त रुपमा गरेका थिए । उद्घोषक सञ्जय बरालले भने- "हामी २१ औँ शताब्दीमा छौँ, त्यसैले एक्काइसौँ शताब्दीको सबैभन्दा उपयोगी माध्यम इन्टरनेटमार्फत् नेपाली सङ्गीतलाई लोकप्रिय बनाउने दुइ व्यक्ति निरज र अभिनवमार्फत् हामीले विमोचन गराएका हौँ ।" त्यसपछि तालीको पर्रा छुट्यो । एल्बमको एउटा म्युजिक भिडियोको पनि प्रदर्शन गरिएको थियो र प्रदर्शनको सुरुवात इमेज च्यानल टेलिभिजनका कार्यकारी निर्माता सहेन्द्र श्रेष्ठले डीभीको स्वीच थिचेर गरेका थिए ।

मज्जाले चलोस् एल्बमः विमोचन गर्दै गायक अर्जुनकुमार, छेउमै उनकी पत्नी, सञ्चारकर्मीहरु निरज कोइराला, अभिनव कसजू तथा डिजाइनर अनील स्थापित

कानेखुशी ? धत् म त परै छु यसबाटः शायद यस्तै सोच्दै निरज अनि समयको सदुपयोग गर्दै अभिनव र अनील ।

लौ हाम्रो पावर तेस्याऊँ: कार्यक्रम खिच्दै र रमिता हेर्दै पत्रकारहरु

बोल्नेको पीठो बिक्छ, तर त्यो पनि पाइरेसी हुनसक्छ है !: गुरुमन्त्र (सरी शुभकामना) दिँदै सञ्चारकर्मी भरत शाक्य

म नेता होइन, तर पनि बोल्दा समय बितेको पत्तो हुन्नः सञ्चारकर्मी हेम सुवेदी

म्युजिकमा सबैको भविष्य छ, गाउन नजान्नेको पनिः सबैका प्रिय सङ्गीतकार राजु सिंह शुभकामना मन्तव्य दिँदै

कम बोलिदिनु भएकोमा धन्यवादः कार्यक्रम सञ्चालक सञ्जय आफ्ना कुरा राख्दै

एट्याक अफ द मिडिया अन जल एण्ड ठोसः कार्यक्रमको समापनपछि आगन्तुकहरुको भोजन रुचि |