टस जितेपछि...

सानामा उनी जेम्स प्रधान, दीपेशकिशोर, निमा रुम्बा र योगेश्वर अमात्यका गीत ज्यादै मन पराउँथे । बच्चा बेलामा पैसा बचाई बचाई तिनका गीत किन्थे, बजाउँथे । यसरी उनमा सङ्गीतप्रतिको मोह शुरु भयो । तर उनले कहिल्यै पनि सोचेका थिएनन्, गायक बनेर एउटा व्यवसायिक साङ्गीतिक जीवनमा उनी प्रवेश गर्नेछन् । तर यस्तै भयो ।
अलि भिन्दै किसिमका गीत गाउने रहर पालेका गायक अराज केशवका अहिलेसम्म बजारमा दुइ वटा एल्बम मात्र आएका छन् । त्यो पनि एउटा एल्बमले त बजारमा राम्रोसँग छरिने अवसर नै पाएन । तर पनि उनका गीत र उनका भिडियोले जुन शैली अपनाएका छन्, त्यसले उनलाई चिनाउन पर्याप्त अवसर दिएको छ ।
आउनुहोस्, आज हामी युवापुस्ताका नयाँ गायक अराज केशवसँग वार्तालाप गरौँ ।
गायन क्षेत्रमा तपाइँ किन आउनु भयो ? जब कि तपाइँ एउटा व्यापारीको छोरा, प्रशस्त कमाई गरिरहनु नै भएको थियो नि ?
त्यस्तो कमाइ त नभनौँ, तर मेरो एउटा स्नूकर खेलाउने ठाउँ थियो । स्कूलमा पनि पढाएँ । वरपरका बिहेमा भिडियोग्राफी पनि गर्थेँ ।
कहिले लाग्यो, अब गायक नै बन्नुपर्छ ?
अरुका गीत सुनेर । चर्चित पपगीतहरु सुन्थ्यौँ र त्यस्तै गाउन पाए हुन्थ्यो भनेर हामी साथीभाइ सोच्थ्यौँ । म पनि त्यस्तो मध्ये एउटा थिएँ । जेम्स प्रधान, दीपेशकिशोर, निमा रुम्बा र योगेश्वर अमात्य मेरा प्रिय गायक हुनुहुन्थ्यो । उहाँहरुका गीत सुन्दा म ज्यादै मुग्ध हुन्थेँ । उहाँका गीतहरु मेरालागि प्रेरणा बने ।
तपाइँको एउटा ब्याण्ड ब्रोकन हर्ट गाइज थियो, कत्तिको चल्यो ब्याण्ड ?
अँ, गीत गाउने, बजाउने नशा चल्यो । त्यही नशामा हामीले ब्रोकन हर्ट गाइज ब्याण्ड स्थापना गर्यौँ । त्यसको मुख्य गायक म नै बनेँ । तर त्यति लामो समय हामी सँगै हिँड्न सकेनौँ ।
ब्याण्ड त पछि पर्यो नि ?
एक त ब्याण्डमा सबै सँगै हिँड्न विभिन्न समस्या छन् । आर्थिक, पारिवारिक नै मुख्य कारण हुन्छन्, ब्याण्ड अगाडि बढ्न नसक्नुमा । हामीसँग पनि त्यस्तै भयो ।
पहिलो गीत घिन्ताङमा घिन्ताङ रर्ेकर्ड गर्न ३५ हजार खर्च भयो, कत्तिको सत्य हो ?
हामी सबै साथीहरुलाई पछि के लाग्यो भने यसरी अरुका गीत बजाएर मात्र हुँदैन । आफ्ना गीत पनि रेकर्ड गर्नुपर्छ । यही सोचअनुसार हामीले पैसा उठायौँ । र, काठमाडौँ गीत रेकर्ड गर्न भनी आयौँ । आफन्त कोही नभएकाले हामी चार जना एउटा होटलमा बस्यौँ । गीत रेकर्ड भइसक्दा हाम्रो ३५ हजार रुपियाँ खर्च भइसकेको थियो ।
तपाइँले ग्रयाजुएशन सके पछि पनि गायनमै भविष्य देख्नु भयो नि, होइन ?
गीत रर्ेकर्ड भइसकेपछि हामी साथीभाइबीच मिस अन्डरस्ट्याण्डिङ शुरु भयो । त्यसपछि ब्याण्ड टुट्यो । हामी सँगै गाउन नसक्ने भयौँ । त्यसपछि म २०५८ सालतिर आफ्नो पढाई पूरा गर्न लखनउ लागेँ । त्यहाँ मैले बीकमको पढाई पूरा गरेँ । त्यसपछि मैले गायनलाई छोड्न सकिनँ । र, काठमाडौँ फर्किएँ ।
तपाइँ गाउनु राम्रो हुन्छ कि राम्रो फोटो खिच्नु हुन्छ कि, राम्रो शिक्षक हुनुहुन्छ कि राम्रो व्यापारी हुनुहुन्छ ?
म राम्रो गाउँछु जस्तो लाग्छ । त्यही भएर नै अरु सबै चिज छोडेर गायक हुन काठमाडौँ फर्किएँ नि, होइन र !
तपाइँलाई के लाग्छ, गायक हुन सिकेर आउनु पर्छ ?
मिहिनेत त जेमा पनि गर्नुपर्छ । सिक्नु भनेको मिहिनेत गर्नु हो । सिकेर आएको खण्डमा मिहिनेत गरेको खण्डमा जो सुकै पनि राम्रो गायक हुन सक्छ ।
पछि तपाइँ जेम्स प्रधानजीको रेकर्डिङ स्टुडियोमा रेकर्डिष्ट हुनु भयो, कसरी ?
पहिला सङ्गीतप्रतिको नशाका कारण दिनहुँ स्टुडियो जान्थेँ । जाँदै गर्दा मैले धेरै कुरा सिकेँ । मलाई सिकाउनु भयो जेम्स दाईले । सबै कुरा जान्ने भएपछि मैले त्यहीँ जागीर खान शुरु गरेँ ।
त्यहाँ रेकर्डिष्ट हुँदा धेरै गायकभन्दा त मै राम्रो गाउँछु भन्ने पनि फिल भयो होला, होइन ?
अँ, त्यस्तो चाहिँ सबैलाई हुँदोरहेछ । अझ गाउने टेक्निक थाहा हुने मान्छेलाई त झन् ठूलो भ्रम हुन्छ । मलाई पनि त्यस्तै भयो । तर श्रोताहरुलाई धन्यवाद छ कि उहाँहरुले मेरो गायनलाई रुचाउनु भयो ।
त्यही स्टुडियोमा बाबु बोगटी, तपाइँ र नयाँ पुस्ताका मोहित मुनाल पनि रेकर्डिष्ट हुनुहुन्छ । कहिल्यै तपाइँहरुबीचर् इष्र्या हुने, प्रतिस्पर्धाको भावना आएन ?
हामी तीनै जनाको बेग्लाबेग्लै शैली छ गाउने । त्यसैले एक अर्कामा इष्र्याभन्दा पनि सच्याउने र सुझाव दिने बानी छ । प्रतिस्पर्धा त गर्नु नै पर्छ । बिना प्रतिस्पर्धा राम्रो चिज आउँदैन ।
एउटा रेकर्डिष्टको भविष्य कस्तो छ, त्यसबाट खान पुग्छ ?
राम्रो र मिहिनेती व्यक्तिलाई जे गर्दा पनि खान पुग्छ । क्षमतावान् व्यक्ति कहिल्यै भोकै बस्नु पर्दैन । चाहे त्यो एउटा मजदूर होस् या गायक ।
पछि रेकर्डिष्टको काम गर्दागर्दै तपाइँले नयाँ कम्पनीबाट आफ्नो पहिलो एल्बम बजारमा ल्याउनु भयो, तर धोका पाउनु भयो होइन ?
पहिलो एल्बम निकाल्न कान्तिपुर म्युजिक प्रा.लि. अगाडि आयो । उसलाई एल्बम दिएँ । एल्बमको विमोचन पनि भयो । तर बजारमा आउनुअघि नै कम्पनी बन्द भयो । जसले गर्दा मलाई ज्यादै अप्ठेरो भयो । भिडियो बनिसकेका थिए, गीतको हल्ला भइसकेको थियो तर एल्बम छाड्ने कम्पनी थिएन ।
कम्पनी बन्द भएपछि भर्खरै आउँदै गरेको गायकलाई कत्तिको असर पर्दोरहेछ ?
धेरै असर पुर्याउँछ, विशेषगरी हामीजस्ता नयाँ गायकहरुलाई । किनभने हामीजस्ता गायकको अन्तिम आशा नै कम्पनी र तिनले वितरण गरिदिने, प्रचार गरिदिने शैलीमा हामी स्थापित या विस्थापित हुने गर्दछौँ ।
पछि त्यही एल्बम 'डिफरेन्ट सोच'लाई अर्कै कम्पनीबाट बजारमा ल्याउनु भयो, होइन ? किन त ?
एल्बम ननिकाली कम्पनी बेपत्ता भयो । गीतलाई जनताले ज्यादै रुचाएका कारण ती गीतमा केही हेरफेर गरेर नाम परिवर्तन गरी अर्को एल्बमझैँ बजारमा नयाँ नामबाट एल्बम निकालेँ ।
रियाजबाट निकाल्नु भएको 'टस' एल्बमले तपाइँलाई कत्तिको फाइदा पुर्यायो ?
ठीक भन्नुभयो, त्यो एल्बमको नाम टस राखेँ । टस राखेपछि एल्बम बजारमा गयो र थप फ्यानहरु बढे ।
कर्न्र्सटमा कत्तिको बिजी हुनुहुन्छ ?
ठीकै तर म रेकर्डिष्ट भएका कारण बाहिर हिँड्न पाउँदिनँ ।
तपाइँको त कम्प्युटर ब्रिग्रेर सबै गीतलाई फेरि रेकर्ड गर्दै हुनुहुन्छ रे नि ?
अँ नयाँ एल्बमका लागि मैले काम गरिरहेको थिएँ । प्रायः सबै काम सकिइसकेको थियो तर चट्याङ पर्दा मेरा सबै गीत र हाम्रो स्टुडियोमा भइरहेका ८० वटा गीत बिग्रिए । कम्प्युटरको हार्डडिस्क नै बिग्रियो ।
तपाइँ त भिडियो निर्देशन पनि गर्दै हुनुहुन्छ नि ? अब गाउन पुग्यो ?
गाउन पुगेर भिडियो निर्देशन गर्न थालेको होइन, बरु आफ्नो आयतन बढाउन, आफ्नो क्षमता बढाउन पो निर्देशनतिर हात हालेको । मेरो गीतमा म आफैँले निर्देशन गरेको तपाइँले पाउनु हुनेछ ।
नेपाली संगीतको भविष्य कस्तो देख्नु हुन्छ ? यसलाई अझै राम्रो बनाउने बारे तपाइँको धारणा छ ?
राम्रो छ । तर सबैभन्दा ठूलो दुस्मन भनेको पाइरेसी हो । यसलाई रोक्न सक्यौँ र विदेशी बजारलाई समात्न सक्यौँ भने हामी धनी हुनलाई अरु काम गरिरहनु पर्दैन जस्तो लाग्छ ।
Read Profile of Araj Keshav at CyberSansar.com»
Download Wallpapers of Araj Keshav from CyberSansar.com» |