खुशी हुन डिभोर्स ?


हरेक दिन बिहान घरबाहिर निस्कँदा हामीले विभिन्न विज्ञापन गरिएका बिलबोर्ड देखिरहेका हुन्छौँ । तर कहिल्यै तपाइँले अर्काको घर भाँड्न वा पारपाचुके गराउन प्रेरित गर्ने विज्ञापन गरिएको सुन्नु वा देख्नु भएको छ ? त्यस्तो सुन्नु वा देख्नु भएको छैन भने अमेरिकास्थित सिकागोको ज्यादै चल्तीको ठाउँ गोल्ड कोस्टमा यस्तै घटना देख्न वा सुन्न पाउनु हुनेछ ।
एउटा वकिलको कार्यालयअघिल्तिर झुण्ड्याइएको एउटा विज्ञापनको बोर्डका कारण अमेरिकाको सिकागोमा निकै ठूलो होहल्ला मच्चिएको छ । एबीसी न्यूजका अनुसार त्यो विज्ञापन देखिएपछि वरपरका छिमेकका आँखीभौँ तन्किएका छन् ।
"वास्तवमै यो विज्ञापनले तपाइँको आँखालाई नतानिरहन सक्तैन", एक जना महिलाले एबीसीलाई बताइन् ।
यो विज्ञापन फेटम्यान, गारल्याण्ड एण्ड एसोसिएट्स लिमिटेडले टाँग्न लगाएको हो । जुन ज्यादै चल्तीको ल फर्म मानिन्छ । खासगरी पारपाचुकेका लागि यो र्फम ज्यादै कुख्यात छ । विज्ञापनको तल लेखिएको छ- लाइफ इज र्सट, गेट अ डिभोर्स अर्थात् जीवन ज्यादै छोटो छ, पारपाचुके लिनुहोस् ।
"खासमा भन्ने हो भने मलाई यो विज्ञापन गर्ने साह्रै घटिया तरिका लाग्यो", यो विज्ञापनको बोर्ड देख्ने एक वृद्ध बटुवाले प्रतिक्रिया दिँदै भने- "यो ज्यादै निन्दनीय छ किनभने यसले यौनलाई पश्रय दिइरहेको छ ।"
यता कम्पनीले भने कुनै माफी मागेको छैन यससम्बन्धमा । यो विज्ञापन सबै वर्ग र समुदायका लागि नभएकाले कोही खुशी होस् या नहोस् त्यसमा हामीलाई मतलबको कुरा हुँदैन भनी कम्पनीले यसलाई ठाडै अस्वीकार गरेको छ । "यदि तपाइँ वैवाहिक जीवनबाट खुशी हुनुहुन्न, जीवन ज्यादै छोटो छ । त्यो बेखुशीपूर्ण वैवाहिक जीवनलाई तन्काएर किन जीवन बरबाद गर्नुहुन्छ ? बरु विज्ञापनमा भएका चित्रले तपाइँलाई नयाँ जीवन नयाँ शैलीमा बिताउने प्रेरणा दिनसक्छ", पारपाचुके वकिल कोरी फेटम्यानको भनाइ थियो ।
तर धेरैले यो विज्ञापन देखेर तत्काल गएर पारपाचुके गरौँ भन्ने कुनै रुचि नभएको पनि बताएका छन् । तर शायद कम्पनी यत्तिमै चित्त बुझाउने पक्षमा छैन । गोल्ड क्वेष्ट वरपर यसले अन्य तीन वटा भिन्दाभिन्दै विज्ञापन बोर्ड झुण्ड्याएको छ, जहाँ सम्पन्न व्यक्तिको नारकीय जीवन, रात्रिजीवन र चमकपूर्ण कारसँग जोड्दै पारपाचुकेप्रति मान्छेको रुचि बढाउन खोजेको छ ।
पारपाचुकेका लागि काम गरिरहेका ल र्फमहरुले सधैँ दिक्कलाग्दा विज्ञापन गरेकाले आफूले नयाँ आइडिया सोचेको कोरी फेटम्यानले बताइन् । "कानूनमा अनेक दाउपेच जानिसकेपछि पनि अब हामी अैरेगैर विज्ञापन सोचौँला त ? कस्तो सोचेको यार !" उनले दिक्क मान्दै थपिन् ।
"यो विज्ञापन त ज्यादै वाहियात् भयो", अमेरिकन एकेडेमी अफ मेटि्रमनियल लयर्सका पूर्व अध्यक्ष जोन डुकान्टोले भने- "यो पूरै आपत्तिजनक र अपमानपूर्ण कुरा हो ।"
"त्यसै पनि पारपाचुकेले अमेरिकाको टाउको दुखाइसकेको छ । परिवार कति आहत हुन्छ । अब झन् यस्ता विज्ञापन थप्ने ?" आक्रोशित मुद्रामा सिकागोका सेन्टर फर डिभोर्स रिकभरीका सामाजिक कार्यकर्ता रिक टीभर्सले भने- "हामी चैँ दुःख गरेर मान्छेलाई पारपाचुके नगर्नुस् भनेर अनेक पापड बेल्ने अनि यी पैसा कमाउन पल्केकाहरु चैँ हाम्रो सारा योजनामा पानी फेर्ने ?"
यो होर्डिङ बोर्डमा मात्र सीमित नरहेर स्थानीय रेडियोमा समेत विज्ञापन बजेपछि केही व्यक्तिहरु निकै क्रूद्ध भएका छन् र यो कुरा निकै लम्बिने सम्भावना पनि देखिएको छ । यी विज्ञापन र कम्पनी विरुद्ध मुद्दा हाल्ने तयारीमा आफू रहेको एआरडीसीका प्रशासक जेम्स ग्रोगनले बताएका छन् । "रेडियो विज्ञापनमा जंगलको विभिन्न आवाज छ जहाँ एउटा भ्वाइस ओभर आउँछ- म अदालतको सिंह हुँ", ग्रोगनले थपे- "यिनले अदालतको समेत अपमान गरेका छन् । अब यिनले चाख्छन्, मुद्दाको स्वाद !"
यता न्यूयोर्कस्थित पारपाचुकेसम्बन्धी विज्ञ राओल फेल्डरले समेत यो विज्ञापन पेशागत मर्यादाको सबैभन्दा नीच स्वरुप भएको प्रतिक्रिया दिइसकेको छ । "विकृत स्वादको सबैभन्दा घटिया ओस्कार पुरस्कार यही विज्ञापनलाई दिइनु पर्छ", फेल्डरले उत्तेजित हुँदै एबीसी न्यूजलाई बताए । तर फेटम्यान भने यस्ता कुरालाई सुन्न चाहन्नन्, भन्छिन्- "वकिलले कहिले पनि पारपाचुके गर्न प्रेरित गर्दैनन्, उनीहरु स्वयम् पारपाचुके गर्न आइपुग्छन् ।" उनी त अझ केसम्म भन्छिन् भने- "यदि विज्ञापनले नै सबैथोक हुने भए म अर्को विज्ञापन टाँग्छु भोलिबाट- मलाई पैसाको आवश्यकता छ, पैसा दिनुस् । कोही आउला त ?" फ्याटम्यान थप्छिन्- "यसले खुशी हुन उत्प्रेरित गर्छ । जीवनको बोझ उतार्न प्रेरित गर्छ, न कि बोझ बोकेर जिउन ।" |