Home» Music »Biography

गोपाल योञ्जनको सम्झना

गएको जेठ ७ गते प्रख्यात सङ्गीतकार, गायक तथा गीतकार गोपाल योञ्जनको जन्म जयन्ती । यी नेपाली सपूतको क्षमताअनुसार नेपालले कहिल्यै उपयोग र कदर गरेन । तर पनि उनी दिनमा विश्वास गर्थे । बाँचुञ्जेल नेपाली गीतिविधामा उनले यति सेवा गरे कि उनले जति विविधतापूर्ण गीत कसैले पनि सिर्जना गर्न सकेका छैनन् । उनको देहान्त भएको आज ठीक ११ वर्ष पूरा भएको छ । तर के उनी हामीमाझ नरहे पनि उनलाई बिर्सन सक्छौँ ? उनका सिर्जनालाई भुल्न सक्छौँ ? उनको योगदानको अवमूल्यन गर्न सक्छौँ ?

वि.सं.२००० साल भदौ पूणिर्माका दिन आमा छेकडोल्मा योञ्जन र बुवा डा.बुद्धिमान योञ्जनको घर गृहस्थीमा गोपाल योञ्जनले पहिलो पटक यस धर्तीमा आँखा उघारेका थिए । योञ्जन दम्पत्तिमा एक छोरा गोपाल र एक छोरी प्रतिमा गरी दर्ुइ सन्तान मात्र थिए । साङ्गीतिक परिवारमा हुर्किएका गोपाल योञ्जन बिस्तारै सङ्गीततर्फ आकर्षित हुन थाले ।

दार्जिलिङको सरकारी स्कूलबाट स्कूले शिक्षा पूरा गरेका गोपाल योञ्जनलाई उनकी आमा डाक्टर बनाउन चाहन्थिन् । त्यसैले गोपाललाई विज्ञान विषय पढाउन सेन्ट जोसेफ कलेजमा भर्ना गरिन् । तर नशानशामा सङ्गीतको सुर बोकेर आएका गोपाल डाक्टर बन्न सकेनन् । त्यसपछि उनको सङ्गत सङ्गीतमा बढ्ता हुन थाल्यो । २०१९ सालमा दार्जिलिङ आर्ट एकेडेमीमा वाद्यवादकको रुपमा आबद्ध भएका गोपाल योञ्जनले त्यसै बेलादेखि औपचारिकरुपमा सङ्गीत सिर्जना गर्न थाले । बाँसुरी निकै राम्रोसँग बजाउने गोपाल योञ्जनले यसैताका चर्चित भारतीय निर्देशक सत्यजीत रेको चलचित्र कञ्जनजङ्घामा पनि बाँसुरी बजाए ।

२०२२ सालतिर साङ्गीतिक भ्रमणको क्रममा दार्जिलिङ आएका नारायण गोपालसँग गोपाल योञ्जनको मित्रता गासियो । यसैबेला इश्वर बल्लभ, नगेन्द्र थापा, डा. गम्भिर योञ्जनसहित केही अन्य साथीहरुको सहभागितामा दार्जिलिङको महाङ्काल डाँडामा गोपाल योञ्जन र नारायण गोपालको मितेरी साइनो गाँसियो । जसमा मीत लगाउनु पर्छ भनेर उकास्ने इश्वर बल्लभ थिए ।
         
सन् १९६७ सालमा नेपाली विषयमा स्नातकोत्तर अध्ययन गर्न र मित नारायण गोपाल र साथी नगेन्द्र थापासँग मिलेर सङ्गीतमा पनि केही गर्न सकिन्छ कि भन्ने उद्देश्यका साथ गोपाल योञ्जन नेपाल भित्रिए । र, त्रिभुवन विश्वविद्यालयमा पढ्दै साङ्गीतिक गतिविधिमा पनि सक्रिय हुन थाले । सर्जकले राजनीति होइन, सिर्जना गर्नुपर्छ भन्ने मान्यताका उनी त्यसबेला त्रिभुवन विश्वविद्यालयमा स्वभाविकरुपमा चल्ने राजनीतिक चर्चा र बहसमा भाग नलिई चित्त नबुझेको कुरा आफ्ना रचनामार्फत् व्यक्त गर्थे ।
        
नेपालमै बस्न थालेपछि गोपाल योञ्जन विभिन्न बाधाअड्चन पार गर्दै सक्रियरुपमा सङ्गीत सिर्जनामा लागे । सन् १९६८ सालमा रेडियो नेपालले आयोजना गरेको आधुनिक सङ्गीत प्रतियोगितामा गोपाल योञ्जनले गल्ती हजार हुन्छन् गीतबाट उत्कृष्ट सङ्गीतकारको पुरस्कार पाए ।

सेन्ट जेभियर्स र सेन्ट मेरिजमा पञ्चायतकालका ठूलाबडाका छोराछोरीहरु पढ्ने गर्थे । तिनीहरुलाई पढाउने क्रममा ती विद्यार्थीहरुको सोच, जीवनशैली र व्यवहारको मनोवैज्ञानिक अध्ययन गरेका गोपाल योञ्जनले नेपालको भिन्नभिन्न ठाउँबाट विश्वविद्यालय पढ्न आएका मध्यम र सामान्य परिवारका विद्यार्थी र ती स्कूलका विद्यार्थीबीच पत्याई नसक्नुको भिन्नता पाए । सेन्ट जेभियर्स र सेन्ट मेरिज स्कूल पढ्ने बालबालिका सपना र उद्देश्य ठूला थिए भने विश्वविद्यालय पढ्ने अधिकांश ठूला विद्यार्थीहरुका सपना र उद्देश्य सामान्य किसिमका थिए । यसरी स्कूल पढाउने र विश्वविद्यालय पढ्ने क्रममा उनले एकैचोटि दुइ वटा नेपालको अनुभव गर्ने मौका पाए । 
         
गोपाल योञ्जनले सेन्ट मेरिज र सेन्ट जेभियर्स स्कूलमा पढाइरहेको बेला रिन्छेन पनि त्यही पढाउँथिन् । स्कूल पढाउने क्रममा दुवैको दिनदिनै भेटघाट हुन्थ्यो । गोपाल पनि मौका पारेर उनलाई घुमाउन लाने र आफ्ना गीतहरु सुनाउने गर्थे ।
          
वि.सं.२०२५ सालमा विवाह गरेका गोपाल योञ्जन र रिन्छेन योञ्जनबाट एक छोरी सिर्जना र दुइ छोरा निर्वाण र अहिंसा जन्मिए ।
          
बसुन्धरास्थित आफ्नै घरमा गोपाल योञ्जनले एक समय 'गोपालय' नामको स्टुडियो खोलेका थिए । गोपाललाई यो स्टुडियो खोल्नका लागि चाहिने आर्थिक सहयोग श्रीमती रिन्छेन योञ्जनले गरेकी थिइन् । यही स्टुडियोमार्फत् उनी आफ्ना सिर्जनाहरुलाई रेकर्ड गर्ने र अरु गायकगायिकाहरुका स्वर रेकर्ड गर्ने गर्थे ।

२०३१ सालमा राजा वीरेन्द्रको राज्यभिषेकका अवसरमा दशरथ रंगशालामा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । जसमा गोपाल योञ्जनले ब्याण्ड र लोकधुनको मिश्रण गरी सङ्गीत तयार पारेका थिए । रिहर्सलका बेला उक्त सिर्जनालाई सबैले मन पराउन थालेपछि त्यसबेलाका चर्चित सङ्गीतकर्मीहरुले तत्कालिन अधिराजकुमार धीरेन्द्रलाई उनले प्रयोग गरेको सङ्गीत विदेशी भएको र नेपालबाहिरको मानिस यस्तो समारोहमा भाग लिन उपयुक्त नहुने कुरा लगाएका थिए ।

सन् १९६५ सालतिर गोपाल योञ्जन पद्मकन्या कलेजमा पढाउन थाले । यतिबेलासम्म शास्त्रीय र केही पश्चिमेली शैलीलाई फ्युजन गरेर बनाएका उनका सङ्गीतले नेपालका डाँडाकाडा ढाकिसकेका थिए । दार्जिलिङमा हुर्किएका गोपाल केही मात्रामा पूर्वीय लोकलयका जानकार थिए तर विविधताले भरिपूर्ण पश्चिमी लोकसङ्गीतको विषयमा पनि उनी जान्न चाहन्थे । त्यसबेला चेतन कार्कीसँग उनको निकटम् सम्बन्ध थियो । चेतन कार्कीको पश्चिमी लोकसङ्गीतका बारेमा विशेष दखल थियो । उनकै सहयोगमा गोपाल योञ्जनले लोकसङ्गीतको व्यापक खोजीनीति गरे । गोपाल योञ्जनले त्यो बेला सङ्कलन गरेका कतिपय लोकभाकाहरु त्रिभुवन विश्वविद्यालयको सङ्गीत विषयका पाठ्यक्रममा राखिएका छन् ।

गोपाल योञ्जन जुन बेला नेपाली सङ्गीतमा डटेर लागेका थिए त्यो समय नेपाली सङ्गीत संघर्षमय अवस्थामा थियो । नेपाली सङ्गीतले हिन्दूस्थानी सङ्गीतको प्रभावबाट मुक्ति खोजिरहेको थियो । यहि समयमा उनी नेपाली सङ्गीतलाई नेपालीपन दिलाउन ज्यान छोडेर लागे । नारायण गोपालको गायनशैलीमा परिमार्जन ल्याउन पनि उनको भूमिका रहेको छ ।  त्यस्तै उनले परिमार्जन गरेका गायकगायिकाहरुमा ध्रुव केसी, उदितनारायण, मीरा राणा, प्रकाश श्रेष्ठ, अरुणा लामा, किरण प्रधान, सुशिला कंशाकार, तारा थापा, विमला राई आदि प्रमुख हुन् ।

गोपाल योञ्जनका कतिपय गीतहरु प्रतिबन्धित पनि भएका थिए । खुकरीले लेखिएको इतिहास रातो हुन्छ, गल्ती हजार हुन्छन्, सबलाई रिझाउँ भन्दा, म मूर्दा भएको तिमी आज हेरजस्ता उनका गीतहरु कुनै समय रेडियो नेपालमा प्रतिबन्धित भएका गीत हुन् ।

अम्बर गुरुङ र गोपाल योञ्जनको प्रवेशसँगै नेपाली सङ्गीतमा राम्रा मेलोडी मात्रै होइन मेलोडीसँगै काउण्टर मेलोडी पनि बज्न थाले । गोपाल युगको समग्र सङ्गीतकै विशेषता के थियो भने कुनै पनि गीत तयार पार्दा गहकिला साहित्यिक शब्द, त्यही अनुसारको हृदयस्पर्शी सङ्गीत र ओजपूर्ण, मिठासयुक्त कलात्मक गायनलाई महत्व दिइन्थ्यो । जसका कारण त्यो बेला असंख्य अजम्बरी गीत जन्मिए, जुन गीतहरुले अहिलेसम्म पनि नेपाली सङ्गीतको प्रतिनिधित्व गरिरहेको छ ।

गोपाल योञ्जनको पछिल्लो समयमा श्रीमती रिन्छेनसँग केही खटपट शुरु भएको भनिन्छ । जसका कारण गोपालले जीवनका अन्तिम अन्तिम क्षणहरुमा अत्यधिक रक्सी सेवन गर्ने गरेको समकालीनहरु बताउँछन् ।
लोकगीत, राष्ट्रिय गीत, आधुनिक गीत, भजन, फ्युजन, बालगीत, चलचित्र गीत, खेलकूद गीत, यस्ता सबै विधामा एक से एक सिर्जना पस्कन सफल गोपाल योञ्जन जन्मजात् शाहाकारी थिए भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।

सङ्गीताञ्जली गीतमञ्जरीजस्ता दुई वटा पुस्तकहरुसमेत लेखेका गोपाल योञ्जनले सबैलाई चेतना भयाजस्ता केही गीतिनाटकहरुका साथै सिन्दूर, कान्छी, विश्वास, मायाप्रीति, अर्को जन्म, भुमरी, पहिलो प्रेमजस्ता १ दर्जन जति चलचित्रहरुमा पनि सङ्गीत दिएका छन् ।
         
नेपाली सङ्गीतको लामो समय सेवा गरेबापत् गोपाल योञ्जनले सुप्रबल गोरखा दक्षिण बाहु, छिन्नलता गीत पुरस्कारजस्ता पुरस्कारबाहेक सरकारी तवरबाट त्यस्तो कुनै पनि प्रोत्साहत र पुरस्कार पाएनन् ।

गीतसङ्गीतमा लागेपछि सबै कुरा भुल्ने गोपाल योञ्जनले आफ्नो स्वास्थ्यलाई भने त्यति ध्यान दिएनन् । पटक पटक दोहोरिएको जण्डिस रोगका कारण उपचारको क्रममा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा २०५३ साल जेठ ७ गते स्वर्गारोहण गरेका गोपाल योञ्जनलाई उनकै इच्छाअनुसार उनको पार्थिव शरीर नेपाल ल्याई अन्तिम दाहसंस्कार गरिएको थियो ।

 
Click Here To Read Previously Posted Article             
 
More on Biography
Related Tags:
गीतकार सङ्गीतकार रिलिज लुकेका कुरा क्या बात ! कीर्तिमान गायिका प्रेम र विवाह तातोपीरो रुचि कन्सर्ट नेपाली तारा उपलब्धि गायक हल्ला विचार भिडन्त पेज थ्री बजारमा ट्रयाक बाहिर
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता