Home» Music »Feature

देख्न नसकिएको अमेरिका


- धीरज राई

हरकोही अमेरिका पुग्ने र त्यहीँ हराउने खबरले हिजोसम्म आश्चर्यमा पर्नेहरु अहिले छक्क पर्न छाडेका छन् । मलाई पनि अचम्म लाग्थ्यो, हरकोही किन अमेरिकामा हराउन चाहन्छन् । आज मलाई मेरो अनुभव बताउन दिनुहोस्- अमेरिकामा त्यस्तो के छ, जुन नेपालमा छैन ।

मेरो अमेरिका जाने रहरलाई पपसङ्गीतले मेटायो । संसारका अधिकांश मानिसलाई अमेरिकाको ग्ल्यामरले नतानेको सायदै होला । पप यात्राको पन्ध्रौँ वर्षपछि सन् २००५ मा मलाई यो मौका हात लागेको थियो । करीब पाँच महिनाको समयमा पन्ध्र वटा राज्यहरुको भ्रमणका साथै त्यहाँका नेपालीहरुमाझ पप सङ्गीत प्रस्तुत गर्ने अवसर मिल्यो । फेब्रुअरी ८ तारिख २००५ मा शुरु भएको यो यात्रामा मलगायत सञ्जय श्रेष्ठ, सञ्जीव प्रधान, सरिष्मा अमात्य, हरिश माथेमा अनि अरु तीन जना वाद्यवादक साथीहरु थिए । गीतारमा भूपेन्द्र वज्राचार्य, कीबोर्डमा विमल बुढाथोकी अनि ड्रममा प्रवीण मानन्धर रहेको सो समूहमा म भने चर्चित हास्य कलाकार साम्दे शेर्पामार्फत् सम्पर्कमा आएको थिएँ । पूर्वमा न्यूयोर्कदेखि पश्चिममा सनफ्रान्सिस्कोसम्म अनि उत्तरमा मिनियापोलिसदेखि दक्षिण हस्टनसम्मको यात्रा गरियो । अमेरिकाको भौगोलिक स्थिति, त्यहाँको रहनसहन र संस्कृति, चालचलनलगायतका विषयहरुमा धेरै ज्ञान मिल्यो । 'अमेरिकामा पुगेपछि सकेसम्म नफर्कनू' भन्ने आग्रहप्रति असहमति जनाउँदै म नेपाल फर्किएको थिएँ ।

अमेरिका भन्ने बित्तिकै कम्तीमा नेपालीहरुले चाहिँ पैसासँग यसको सम्बन्ध जोड्छन् । म पनि प्रभावमा परेँ र यो मौकालाई अत्यधिक उपयोग गर्दै बढी से बढी आम्दानीमा जोड दिने मानसिकतामा पुगेँ । सुनौलो मौका, रोजगारी, भौतिक सामानहरुको उपभोग अनि आरामदायी जीवन नै मानव जातिका लक्ष्य हुन् भन्ने प्रायःले ठान्छन् । अमेरिकालाई 'पग्ल्याउने भाँडो' भन्नुको कारण यही नै रहेछ । जतिजति कार्यक्रमहरु हुँदै गए, उतिउति अमेरिकाको आकर्षणले मलाई पनि तान्दै लग्यो । स्वतन्त्रता, सुरक्षा, स्वास्थ्योपचार, सुनिश्चित भविष्य अनि त्यहाँका नेपाली साथीभाइहरुको आग्रहले ममा मानसिक दवाव पर्दै गयो कि म पनि अमेरिकामा नै हराउँ कि ! नेपालसँग तुलना गर्दागर्दै म पनि नजानिँदो किसिमले यसको आकर्षामा तानिँदै गएको थिएँ । वैँसमा ह्वात्त आउने जवानीझैँ सुरुका दुइ महिनासम्म अमेरिकाको आकर्षणले आँखा ढ्याप्पै छोप्यो तर समयसँगै गहिराईमा पुग्दा भने त्यो भ्रम हट्यो । त्यहाँको संस्कृति, दैनिक जीवन, पारिवारिक वातावरण अनि संस्कारसँग मिल्न नसकिने महसूस भयो । नेपालमा आफ्नो अस्तित्व, श्रीमती, आमा-बुवा अनि साथीसंगीहरुको सम्झनाले नेपालमै फर्कायो ।

सहरै सहरको कल्पना गरे तापनि अधिकांश भाग त्यस्तो नरहेको मैले पाएँ । पूँजीवादी भनिए तापनि साम्यवादीको स्पष्ट झलक अमेरिकामा देखियो । १० देखि १८ घण्टासम्मको कठोर शारीरिक परिश्रम नगरेसम्म बाँच्न गाह्रो हुँदो रहेछ । चर्को घरभाडा, यातायात खर्च, विमा, बिजुली-पानी, टेलिफोन आदिको खर्चले गर्दा आम्दानी कतिबेला चुहिँदो रहेछ, पत्तै नहुँदो रहेछ ! आफ्नो देशको पैसा बाहिर नजाओस् भन्ने सोचाईले अमेरिका अघि बढेको देखियो । अत्यधिक श्रमले गर्दा मेरा अधिकांश साथीहरु उमेरभन्दा निकै गुणा बढी प्रौढ देखिए । सानोतिनो बिमारी सजिलै पचाइदिन सक्ने देखेर म छक्क परेँ । कालाहरुसँग डराउँदै अनि बच्दै अधिकांश नेपालीहरुले पेट्रोल पम्पमा काम गरेको देखेँ । त्योभन्दा बढी त्यहाँको पारिवारिक संस्कारसँग म सहमत हुन सकिनँ ।

पाँच वर्षो उमेरमा बच्चाबच्चीलाई अलग्गै सुताउन नेपाली आमाबाबुलाई गाह्रै पर्छ । काखमा खेल्दै नहुर्किएको बच्चाको सम्बन्ध बाबुआमाबीच प्रगाढ हुन सक्दैन । भावनात्मक भन्दा बढी स्वार्थमा अडिएको त्यहाँको वैवाहिक सम्बन्ध मलाई पच्न सकेन । सम्बन्ध विच्छेद अनि उदार यौन अत्यधिक हुने अति खुला समाजसँग मेरो मिल्न गाह्रो भयो । आफ्नो मनलाई मारेर सम्झौता गर्न गाह्रो नै पर्छ । एउटा संयुक्त परिवारमा हुर्केकी नेपाली आमा अठार वर्षपुगेपछि घर छाडेर जान्छु भन्ने छोरा देखेर कसरी खुसी हुन सक्छे ? बुढेसकालमा छोराछोरीको साथ छाडेर वृद्धाश्रममा बस्नुको पीडा बेग्लै हुन्छ । वर्षमा मुस्किलले एक पटक छोराछोरीले ल्याइदिएको फूलको झुप्पा माया नभई तीखो काँडा बन्न पुग्छ ।

अमेरिकामा विशेष गरी तीन थरिका सांगीतिक पारखीहरु देखिए । पहिलो समूहमा विद्यार्थीहरु थिए । अर्कोमा 'फेमिली'हरु थिए । तेस्रोमा चाहिँ डीभी परेर आएका नेपालीहरु थिए । विद्यार्थीहरु तथा युवाहरु वेर्स्र्टन पपको 'क्रेज' देखियो भने परिवारवालाहरु तथा डीभी परेर जानेहरुले भने लोकपप बढी रुचाए । कतिपय भने नेपाली कार्यक्रमलाई प्रोत्साहन दिने उद्देश्य राखेर आएका थिए । सञ्जय श्रेष्ठको माया मेरी माया, हरिश माथेमा आँखाको नानी अनि मेरो तिमी रुँदा एक्लै हुँदा त्यहाँका युवाहरुमा चर्चित रहेछ । परिवार तथा डीभी समूहले चाहिँ सञ्जीवको देउरालीको चौतारीमा र मेरो सोइ ढाले सोई बढी रुचाए । गायिका सरिष्मालाई पनि दर्शकहरुले प्रोत्साहनसहितको माया दिए । कार्यक्रममा गम्भीर गीतभन्दा नाच्न मिल्ने गानाहरुको माग बढी देखियो । न्यूयोर्कमा सबैभन्दा बढी दर्शक थिए (करिब एक हजार) भने बाँकी ठाउँमा तीन सय जनाको उपस्थिति थियो । गायक गायिकाहरुले सीडी बिक्रीमार्फत् अतिरिक्त आम्दानी पनि गरे । अमेरिकामा भने हिपहप सङ्गीत बढी लोकप्रिय रहेछ । केही नेपाली हिपहप गायकहरुले न्यूयोर्कमा आफ्ना गानाहरु प्रस्तुत गरे तर दर्शकहरुले नेपाली हिपहप त्यति पचाउन सकेनन् ।

नेपाली पपको लागि राम्रो स्थिति हुँदाहुँदै पनि केही कुराहरु भने खट्किँदो थियो । अमेरिकामा रहेका विभिन्न नेपाली संघसंस्थाहरुबीचको मनमुटाव अनि एकआपसमा खुट्टा तानातान गर्ने प्रवृत्ति देख्दा अत्यन्त दुःख लाग्यो । एउटाले गरेको कार्यक्रममा अर्को नजाने र जान नदिने जस्ता कार्यले खल्लो महसूस गरायो । कला, सङ्गीतलाई समूह, जात, धर्म, देशले छोप्नु निश्चय नै राम्रो संकेत होइन ।

जेहोस्, अमेरिका नेपाली पप सङ्गीतका लागि अब्बल साबित भएको छ । तर त्यसका लागि पपकर्मीहरुले आफ्नो स्तर कायम राख्नुपर्ने देखिन्छ । दर्शक तथा स्रोताहरुको मायालाई ऊर्जाको रुपमा लिई क्षणिक मात्र नहेरी दीर्घकालीन सोच राखी अघि बढ्नुपर्ने देखिन्छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
गायक विचार रिलिज क्या बात ! प्रेम र विवाह लुकेका कुरा गायिका तातोपीरो रुचि उपलब्धि कीर्तिमान कन्सर्ट सङ्गीतकार गीतकार पेज थ्री नेपाली तारा विवाद भिडन्त हल्ला बजारमा
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,