प्रख्यात कार रेसिङ खेल फर्मूला वनका स्टार खेलाडी लेविस हेमिल्टनले आफ्नो बहुचर्चित 'गो-कार्ट'लाई बेच्ने भएका छन् । बेच्नका लागि उनले इन्टरनेटको प्रख्यात किनबेच साइट इबेलाई रोजेका छन् ।
मर्सिडिजले बनाएको यो ज्यादै आकर्षक गाडीको न्यूनतम मूल्य १६ हजार पाउण्ड हो । यही मोटर प्रयोग गरेर उनले गएको वर्ष ग्राण्ड प्रिक्स जितेका थिए भनी मिरर दैनिकले जनाएको छ ।
२२ वर्षीय हेमिल्टनले इबेमा लेखेका छन्- "यो ब्राण्ड न्यू छ र खासमा मेरै लागि कम्पनीले बनाएको हो । यो ज्यादै तेज चल्छ । त्यसैले म यसलाई ज्यादै रुचाउँछु पनि । जो कोही मजस्तो फर्मूला वन रेस जित्ने सपना देख्छ वा फर्मूला वनमा भाग लिन चाहन्छ, त्यसका लागि यो कमालको माल हो ।"
इन्टरनेटमा यो गाडीको डाक बढाबढ गर्दा चाहिँ उनले २ हजार पाउण्ड मूल्य तोकिदिएका छन् । अहिलेसम्मको डाक बढाबढमा यसको मूल्य ५ हजार पाउण्ड पुगिसकेको छ । उनले यो गाडी बालबालिकाहरुको च्यारिटीमा काम गरिरहेको संस्था टमीज बेबी च्यारिटीका लागि डाक बढाबढ गरेका हुन् ।
जसले यो डाक बढाबढमा जित्नेछ, उसलाई हेमिल्टन आफैँले यसको चाबी र गाडी जिम्मा दिनेछन् । साथमा उनले इबेमा लेखेका पनि छन्- "तपाइँ विश्वास गर्नुस्, तपाइँले जितेको खण्डमा म यो गाडी कसरी चलाउने केही सुझाव पनि दिनेछु ।"
यो मंगलबार राति १:४५ बजेसम्म यसको म्याद रहेको समाचारमा जनाइएको छ ।