मनका कुरा

रंगपत्रकारितामा २०५३ सालदेखि जनसत्ता र सन्ध्याकालीन दैनिकमा काम गरेका सञ्जय बराल अहिले राम्रा रेडियो प्रस्तोताका रुपमा परिचित छन् । सिनेदूत पत्रिकाका प्रकाशकसमेत रहेर उनले एक वर्ष पत्रिका चलाए । २०५७ सालदेखि इमेज च्यानलमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका बराललाई सम्भावनायुक्त गीतकारका रुपमा पनि चिनिन्छ ।
स्कुल जीवनदेखि नै रेडियो नाटक र बाल कविता लेखन तथा वाचन गर्ने गरेका उनले उतिबेला नै करिब ५०/६० नाटकमा बाल कलाकारका रुपमा रेडियो नाटकमा अभिनय गरिसकेका छन् । रोचक के छ भने चर्चित सञ्चारकर्मीहरु रवि लामिछाने, विदुर गिरी र उनी एक समय, रेडियो नेपालमा कवितावाचन गर्न सँगै जाने गर्थे । त्यही पृष्ठभूमिका कारण कविता र गीततिर तानिएका उनका १०० भन्दा बढी गीत रेकर्ड भइसकेका छन् । तीमध्ये सशस्त्र प्रहरी बलका लागि लेखेको गीत र इमेज च्यानलका लागि लेखिएको शीर्षक गीत 'सगरमाथा गौतम बुद्ध' ले उनलाई चर्चामा ल्याएको थियो ।
आउँदो महिनाभित्र आफूले लेखेका गीत तथा कविता संग्रह बजारमा ल्याउने तयारी गरिरहेका बरालले पाँच वटा विभिन्न म्युजिक भिडियो समेत निर्देशन गरिसकेका छन् ।
सबैभन्दा मन पर्ने गीत ?
साउनको झरी बनी... (नारायणगोपाल) । यो गीतमा किन किन भित्रैसम्म छुन्छ । साउनको झरी नपरेको बेला पनि... । बच्चाबेलामा एक जना दाइबाट सुनेपछि म फिदा भएको थिएँ ।
मनपर्ने कलाकार ?
दीप श्रेष्ठ, यम बराल, राजेश पायल, निमा रुम्बा, मिङ्मा शेर्पा ।
नेपाली जनताले सुन्नै पर्ने कुनै गीत ?
पश्चिम कोही पूर्व घर... यसमा जहाँ रहे पनि हामी नेपाली हौँ भन्ने भावना व्यक्त भएको छ ।
मन परेको म्युजिक भिडियो ?
सा कर्णाली... लोकेशनवाइज भेरिएशन छ । थिन्लेको अभिनय ज्यादै रुचिकर छ ।
मन नपरेका भिडियो ?
थुप्रै छन् है... पहिले पहिले बन्थे नि, सादाजस्ता देखिने- ती मलाई पटक्कै मन पर्दैनन् थे ।
नेपालका कुन कलाकार अन्तर्राष्ट्रियस्तरका छन् जस्तो लाग्छ ?
थुप्रै कलाकारहरु अन्तर्राष्ट्रिय बजारमा छाप छोड्न सक्छन् जस्तो लाग्छ । तर पूर्ण व्यवसायिकताका अभावका कारण अन्तर्राष्ट्रिय स्तरमा छाप छाड्न सक्दैनौँ ।
नेपाली संगीत उद्योगको सकारात्मक पक्ष ?
नयाँ प्रविधिले गर्दा नेपाली संगीतमा धेरै फड्को मारिसकेको छ । चेतना, रमाइलो गीत आएका छन् । डिस्को थेक, दोहोरीतिर हाम्रै गीतहरु बज्न थालेका छन्, जुन साँच्चिकै सकारात्मक पक्ष हुन् ।
सङ्गीत उद्योगको विकास बारे धारणा ?
गुणस्तरलाई बढी प्राथमिकता दिनुपर्छ । यसले श्रोता संख्या बढाउँछ र व्यवसायिकतालाई टेवा दिन्छ ।
श्रोताले दिएको राम्रो कमेन्ट ?
मलाई मेरो स्वर कहिले मन परेन, तर श्रोताले जहिले पनि कार्यक्रम चलाउने शैली साह्रै मन पर्यो भन्ने गर्छन् । जुन म आफैँलाई पनि अचम्म लाग्ने गर्छ ।